छोरालाई रेलले किचेपछि जोगाउन खोज्दा बाबुको मृत्यु, आमा घाइते

  प्रकाशित मिति
२० जेष्ठ २०७६, सोमबार १३:३४


काँकरभिट्टा । आफन्त भेटघाटका लागि भारतको दार्जिीलिङस्थित टिस्टाको बाघपुलभन्दा ३ किलोमिटर उत्तर मङ्पु गाउँ पुगेको मेचीनगर–७ भान्साखोलाका बाबु र छोराको रेलले किच्दा मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन् ।

शनिवार अपरान्ह साढे १२ बजेतिर भएको सो भयानक दुर्घटनामा मृत्यु हुनेमा ३३ वर्षीय इन्द्र श्रेष्ठ र उनका छोरा ११ वर्षीय रोहन श्रेष्ठ रहेका छन् ।

इन्द्र श्रेष्ठकी पत्नी ३१ वर्षीया ललिता श्रेष्ठ सख्त घाइते भएकी छन् । घाइते ललितालाई रेलले शरीरको पछाडिको भागमा ठक्कर दिएको थियो । उपचारका लागि बिनितालाई विराटनगरस्थित नोवेल मेडिकल कलेज भर्ना गरिएको मृतक इन्द्रका दाजु खेमराज श्रेष्ठले बताए ।

मृतक बाबु र छोरालाई आइतवार साँझ काँकरभिट्टास्थित घर ल्याएर मेची नदीमा दाहसंसकार गरिएको छ । दुबैको शबलाई छेउ छेउमा चिता बनाएर दाहसंस्कार गरिएको थियो । मलामीहरु समेत गहभरी आँशु पारेर शवयात्रा र दाहसंस्कारमा सहभागी बनेका थिए ।

पारिवारिक स्रोतका अनुसार जेठा छोरा १३ वर्षीय रोशु श्रेष्ठ र कान्छा छोरा रोहनसहित इन्द्र र ललिता आफन्त भेटघाटका लागि गत बुधबार मावली घर टिस्टाको मङ्पु पुगेका थिए ।

विहानको खाना खाएर रेलको लिक नजिकै खेल्दै गरेका रोहनले तीब्र गतिमा रेल आइरहेको बेला एक्कासी रेलको लिक क्रस गर्न खोजेपछि नजिकै रहेका बुवाआमा इन्द्र र ललिता जोगाउन दौडिएका थिए ।

तीव्रगतिमा आएको रेलले रोहनसँगै उनका बुवा इन्द्रलाई किचेको थियो भने बचाउन गएकी रोहनकी आमा ललितालाई ठक्कर दिएको थियो ।

रेलले किचेपछि इन्द्र श्रेष्ठ र उनका छोरा रोहनको घटनास्थलमै मृत्यु भएको थियो भने जेठो छोरा रोशु श्रेष्ठ अलि पर रहेकाले दुर्घटनाबाट बच्न सफल भएका थिए ।

लिक बाहिर सुरक्षित ठाउँमै खेलेर बसेका रोहन तीब्र गतिमा रेल आउँदा आत्तिएर रेलतिरै दौडिएको हुनसक्ने अनुमान गरिएको छ ।

भारतीय प्रहरीले सम्पूर्ण कानुनी प्रकृया पूरा गरी शव आइतवार साँझ आफन्तलाई बुझाएको थियो ।

श्रेष्ठ परिवारमा भएको यस्तो भयानक घटनाले मेचीनगर–७ स्थित भान्साखोला शोकमग्न बनेको छ ।

मृत्यु भएका रोहन श्रेष्ठ सितेरियो करातेका प्रतिभाशाली खेलाडी थिए । उनले हालै सम्पन्न वडा कपमा गोल्ड मेडल जितेका थिए ।

रोहन काँकरभिट्टाको लोफोफोरस इङ्लिश स्कुलमा कक्षा ६ मा पढ्थे भने उनका दाजु रोशु कक्षा ७ मा पढ्थे ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: