छोरोको उपचार गराउन बाबु विदेश

  प्रकाशित मिति
१२ असार २०७५, मंगलवार १०:२२


मागुरमाडी । मेचीनगर–९, मागुरमाडीका धर्मराज र रुपा रिमाल एघार वर्षअघि औधि खुशी भए । उनीहरुमा खुशीको सीमा नै थिएन ।

दुवै दम्पत्ती खुशी हुनुको कारण एउटै थियो, छोरो जन्मिएकोमा । तर, तिनै छोरो सागर रिमाल आजसम्म हिँड्डुल गर्न सक्दैनन् । त्यो परिवारको खुशी विस्तारै खोसिएको छ ।

सागर जन्मजातै अपाङ्ग भएका हुन् । एघार वर्षदेखि उनी ओछ्यान परेका छन् । उनको खुट्टा, टाउको अनि हात कुनै चल्दैनन् । यताउता उठेर हिँड्न पनि सक्दैनन् ।

रिमाल परिवारको एउटै सहारा यसरी ओछ्यानमा परेपछि उनीहरुमा चिन्ता र समस्या थपिएको छ । जन्मिएको करिब पन्ध्र महिनापछि सागरमा फरकपन देखियो । बावुआमालाई लाग्यो छोरोमा केही समस्या भएको भन्ने ।

त्यसपछि परिवारले सागरको उपचारका लागि धरानको घोपा अस्पताल, विराटनगर तथा भारतको सिलिगुडीका केही अस्पतालमा पुर्यायो ।

उपचारमा संलग्न चिकित्सकहरुले सागरको नशा सम्बन्धी समस्या भएको बताए । चिकित्सकले राम्रो ठाउँमा लगेर उपचार गरे सागर ठीक हुन्छ भनेको बुवा धर्मराजले बताए । तर, सागरको उपचारमा भएजति सबै पैसा सकियो ।
उनको उपचारमा अहिलेसम्म १५ लाख रुपैयाँ खर्च भइसकेको बुवा धर्मराजले बताए । आर्थिक अवस्था सामान्य रहेको रिमाल परिवारले भएको गाइफार्म र जग्गा बेचेर छोरोको उपचार गराइरहेको छ । तर, सागरको अवस्था उस्तै छ ।
आमा रुपाले छोरोको हेरचाह गरेर बस्नु परेको छ । सागरलाई छोडेर यताउता गर्नासाथ कराउने, रुने गरेको पीडा उनले सुनाइन् । ‘महिनाको दुई दिनमात्रै राम्ररी सुत्न पाइन्छ,’ उनले भनिन्, ‘कहिले पेट दुख्छ, कहिले घुँडा त कहिले कान दुख्यो भनेर रातभरि उफ्रिन्छ, कराउँछ ।’

सागरका बुवा धर्मराज यतिखेर वैदेशिक रोजगारीमा कतारमा छन् । छोरोको उपचार खर्च जुटाउनकै लागि उनी विदेश गएका हुन् । चारवर्ष मलेसिया गएर फर्किएका धर्मराज अहिले कतारमा छन् ।

दुई महिनाको बिदा घरैमा बिताएर उनी भर्खरै कतार गएका हुन् । ‘के गर्नु विदेश नगई उपाय छैन,’ धर्मराजले भने, ‘छोरोको उपचार खर्च जुटाउनै पर्यो नि ! यसलाई (छोरो) लाई बेसहार बनाउन मनले मान्दैन ।’

छोरोको उपचारका लागि उनले कतारमा रहेका नेपाली कामदारहरुको सङ्घ संस्थाहरुसँग सहयोगको अपिल गरिरहेको बताए । पैसा जुट्नासाथ स्वदेश फर्किएर छोरोको राम्रो ठाउँमा लगेर उपचार गर्ने उनले बताए ।

स्थानीय छिमेकी रमेश उप्रेतीले रिमाल परिवार साह्रै समस्यामा रहेको बताए । उनले सङ्घसंस्थाले सहयोग गरे सागरलाई पुनर्जीवन दिन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: