जग्गा फिर्ताले हर्षबढाइँ, अभियन्ताहरु भन्छन्–‘डोमालाल रंगशालाबाहेक अरु नसोचौं’

  प्रकाशित मिति
१५ माघ २०७७, बिहीबार २०:३२


विर्तामोड, १५ माघ । तेइस वर्ष अघि भूमाफियाको पञ्जामा पुगेको विर्तामोडस्थित डोमालाल रंगशाला रहेको जग्गा फिर्ता भएपछि खुशीयाली छाएको छ ।

२३ वर्ष अघि स्थानीय दुर्गास्थान गुठीबाट राजगुठीमा नामसारी गरेर रंगशाला रहेको करोडौं मूल्य पर्ने करीव ३ बिगाहा जग्गा टिका बिमली, सूर्य बिमली र रमेश महर्जनले कीर्ते मोहीहक कायम गरी हत्याएका थिए ।

अदालतले समेत कीर्ते काइतेकै पक्षमा फैसला गरेको सो जग्गा हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्रकार गणेश पोखरेलले उजुरी हालेपछि अचानक फिर्ता भएको छ ।

मोही हक पाएकी स्व. टिका बिमलीकी छोरा एवम् नेपाल सरकारका सहसचिव केशव बिमलीले गत सोमवार भद्रपुरको भूमिसुधार तथा मालपोत कार्यालयमा आफै उपस्थित भई हकभोग छाड सनाखत गरी रंगशाला रहेको जग्गा फिर्ता गरिदिएका थिए ।

आज डोमालाल रंगशालामा झापा ११ र झापा गोल्ड कप समितिका पदाधिकारीहरुले संयुक्त पत्रकार सम्मेलन गरी हर्षबढाई प्रकट गरे ।

सो अवसरमा झापा ११ का अध्यक्ष तथा झापा जिल्ला फुटबल संघका पूर्व अध्यक्ष जेके गुरुङले अब रंगशाला निर्माण अभियानमा हौसला थपिएको बताए ।

झापा गोल्ड कप समितिका अध्यक्ष बिनोद बस्नेतले जग्गा फर्काउन विभिन्न क्षेत्रबाट मदत पुर्याउने सबैलाई धन्यबाद व्यक्त गर्दै खेलकुदको विकासमा सबै क्षेत्रबाट उत्साहजनक सहयोगको अपेक्षा गरे ।

जग्गा फर्काउन माग गर्दै अख्तियारमा उजुरी हाल्ने पत्रकार एवम् नेपाल पत्रकार महासंघका पूर्र्व केन्द्रीय सदस्य गणेश पोखरेलले सो अवसरमा पत्रकारहरुले राखेका जिज्ञासाहरुको उत्तर दिदै दुर्गास्थान गुठीको नाममा रहेको सबै १३ बिगाहा जग्गा डोमालाल रंगशालाको नाममा ल्याउन अब अभियान अघि बढाइने जानकारी दिए ।

रंगशाला रहेको स्थानमा हस्पिटल वा अन्य कुनै भौतिक संरचना बनाउने कसैको पनि प्रयास विफल तुल्याइने जनाउँदै उनले रंगशाला निर्मााण्को विकल्प सोच्नसम्म नसकिने दृढता व्यक्त गरे ।

उनले जग्गा फर्काउन अतुलनीय योगदान पुर्याएका महान्याधीवक्ता अग्नी खरेल र अख्तियारका सचिव सुरेश अधिकारीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: