जथाभावी खोलो खोतलिएपछि तनाव

  प्रकाशित मिति
१६ माघ २०७३, आईतवार १४:०८


biring 1बुधवारे । बर्खामा बाढी र हिउँदमा खडेरीको प्रकोप व्यहोरिरहेका उत्तरी खुदुनावारी र बुधवारेका विरिङ तटवर्ती बासिन्दाले स्काभेटर प्रयोग गरेर जथाभावी खोलो खोतल्न बन्द गर्नु पर्ने माग गरेका छन् ।

जिल्ला विकास समिति झापाले खुदुनावारी–१ र बुधवारे–२ को सीमानामा रहेको विरिङ (बिन्दुली तटबाँध क्षेत्र)मा करोडभन्दा बढीमा खोलो खोतलेर ढुङ्गाबालुवा लैजान ठेकेदारलाई अनुमति दिएपछि स्थानीयवासी विरोधमा उत्रिएका हुन् ।

विरोधमा उत्रिएका स्थानीयवासीले स्काभेटर लगाएर खोलो गहिर्याउँदा सो क्षेत्रमा बर्षौदेखि सञ्चालनमा रहेका आधा दर्जन जति कुलोपैनी मासिएको, वरपरको जग्गा मरुभूमिकरण हुन थालेको र चुरे क्षेत्रमा पहिरोको जोखिम बढेको धारणा अघि सारेका छन् ।

झापा जिविसले दमक निवासी राजकुमार थापालाई सो विन्दुली क्षेत्रको करीव दुई किलोमिटर क्षेत्रमा एक मिटर गहिराई र ४५ मिटर चौडाइ विरिङ खोला खोतल्ने ठेक्का अनुमति दिएको छ । स्थानीयवासीले आफुहरुसँग कुनै परामर्श नगरी जथाभावी खोलो खोतल्न थालिएको विषयमा गुनासो गर्दा कतैबाट सुनुवाई नभएपछि बल प्रयोग गरी स्काभेटरसहित ठेकेदारलाई धपाइएको बताएका छन् ।

हाल सो विषयमा स्थानीयवासी र ठेकेदारविच ठूलो विवाद भइरहेको छ । जिविसका प्रतिनिधिलाई समेत केही दिन अघि विवाद भएपछि स्थानीय आक्रोशित जमातले आक्रमणको प्रयास गरेका थिए ।

biring 2यसैविच सहायक प्रजिअ डम्मरु निरौलाको नेतृत्वमा आएको सरकारी टोलीले शुक्रवार विन्दुली क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । टोलीले स्थानीयवासीको गुनासा सुनेको छ भने स्काभेटरले खोलो खोतलेपछि परम्परागत पैनी र स्थानीय वातावरणमा समेत पर्न गएको क्षतिको अध्ययन गरेको छ ।

विभिन्न कार्यालयका प्रतिनिधि र प्रहरीसहित स्थलगत अध्ययनमा आएका सहायक प्रजिअ निरौलालाई स्थानीयवासीले स्काभेटर लगाएर चुरे क्षेत्रको खोलो खोतल्ने कार्य अविलम्ब बन्द गराउन माग गरेका छन् ।

‘जिविसले जनतालाई पर्ने असरको ख्यालै नगरी ठेक्का मात्र लगाउने र ठेकेदार जिविसकै नर्मस् समेत नाघेर जथाभावी खोलो खोतल्ने’, विरिङ जलाधार संरक्षण समिति ब्लक नं. २ का अध्यक्ष राजकुमार श्रेष्ठले सहायक प्रजिअ निरौलालाई सुनाए–‘यो त अति ज्यादति भयो, हामी खोलोमा स्काभेटर कुनै हालतमा हाल्न दिदैनौँ ।’

जिल्ला बन उपभोक्ता महासङ्घ झापाका सदस्य इन्द्र कोइरालाका अनुसार जिविसले एक मिटर भनेकोमा ठेकेदारले ३ मिटर गहिरोसम्म खोलो खोतलेको पाइएको छ । ४५ मिटर चौडा भनिएकोमा ६० मिटरसम्म खोलो खोतलिएको उनले बताए ।

खोलो गहिर्याउने कार्यबाट विरिङको परम्परागत नहरहरू नेपाल पैनी, हात्तीकिल्ले पैनी, विर्ता पैनी लगायतका ३० वर्ष पुराना आधा दर्जन पैनी मासिएको गाउँलेहरूको भनाई छ । खोलो भासिएपछि पैनी ३ मिटरसम्म माथि उकास भएर मासिएको उनीहरू बताउँछन् ।

पूर्व मन्त्री एवम् माओबादी केन्द्रकी नेतृ धर्मशीला चापागाइँले हजारौँँँँँ स्थानीयवासीलाई विचल्ली पार्ने गरी जथाभावी खोलो खोतल्न अनुमति दिने जिविसको निर्णय अविवेकी भएको बताएकी छन् । सबै राजनीतिक दलले त्यहाँ खोलो खोतल्ने निर्णय फिर्ता लिन जिविसलाई आग्रह गरिरहेको उनको भनाई छ ।

स्थानीयवासीले सलकपुरस्थित चुरे संरक्षण कार्यालय र इटहरीस्थित अख्तियारको कार्यालयसमा समेत विरिङ खोला खोतल्ने कार्य रोकिपाउँ भनी उजुरी दिएको बताएका छन् ।

स्थानीयवासीसँग विवाद चुलिएर झडपको अवस्थामा पुगेपछि जिल्लामा प्रशासनको अगुवाईमा विवादको छानविन गर्न समिति र उपसमिति गठन गरिएको छ । समितिले वास्तविकता बुझेर प्रतिवेदन तयार पार्ने बताइएको छ ।

शुक्रवार स्थलगत अवलोकनमा आएका सहायक प्रजिअ डम्मरु निरौलाले छानविन प्रक्रिया धेरै लामो नहुने र प्रतिवेदनमा स्थानीयवासीको मागलाई सम्बोधन गरिने आश्वासन दिएका छन् ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: