जनताको मन जित्दै झापा गाउँपालिका जनप्रतिनिधि

  प्रकाशित मिति
२२ पुष २०७७, बुधबार १०:०७


झापा, २२ पुस (रासस) । झापा गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि जनताको मन जित्ने धेरै कामहरु भएका छन् ।

दक्षिणपूर्वी विहारसँग सीमना जोडिएको गाउँपालिकामा जनतालाई अँध्यारोबाट मुक्त बनाउने, उपचारमा सहयोग गर्ने र फुसको छानारहित बनाउने कामहरु भएका छन् ।

तीन बर्षअघिसम्म पालिकाको आधा गाउँ अँध्यारो थियो । सात वटा वडा रहेको पालिकाका दुर्गम र अति विपन्न समुदाय बसोवास गर्ने स्थानमा विजुलीको पोल समेत पुगेको थिएन । “जहाँ टोल त्यहाँ पोल र विजुली”को अभियान चलाएर पालिकालाई अँध्यारोबाट मुक्त बनाइएको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए ।

उनले एक हजार विजुलीको पोल पालिकामार्फत नै खरिद गरेर टोलटोलमा विजुली वत्ती पुर्याएको बताउनुभयो । आन्तरिक आम्दानीको स्रोत समेत कम रहेको गाउँपालिकाको बजेट सानो रहे पनि उनले जनताको आवश्यकता अनुसार गरेको बताए ।

पालिकाले दोस्रो महत्वपूर्ण कामका रुपमा ‘फुसको छानो हटाउ, टिनको लगाऔं’ अभियान सञ्चालन गरेर काम गररहेको बताए । उनका अनुसार सहारा नेपालद्वारा सञ्चालित ह्याविटेड फर नेपालसँगको सहकार्यमा २०० बढी विपन्नको घर निर्माण गरेर हस्तान्तरण गरेको जानकारी दिए । दुवै संस्थाको ५०÷५० प्रतिशतको लगानीमा थप २५० घर निर्माण भइरहेको उनले बताए । उनले भने “यही आर्थिक बर्ष भित्रमा फुसको छानो मुक्त गाउँ बनाउँछौं ।”

उनले हेर्दा सामान्य लागे पनि जनताको हितमा हुने थप काम गरिहेको जानकारी दिए । उनका अनुसार पालिकाभित्रका नेपाली नागरिकता भएको व्यक्तिहरुको मृत्यु भएमा काजक्रिया खर्च स्वरुप प्रत्येक व्यक्तिको परिवारलाई रु. आठ हजार नगद प्रदान गरिन्छ ।

पालिकाकी उपप्रमुख कुन्तीदेवी बुढाथोकीले नेपाल रेडक्रस सोसाइटीसँग मिलेर पालिकाभित्रका बासिन्दा विरामी भएर रगत चाहिएमा खर्चको समेत व्यवस्था गरेको बताइन् । उनले जुनसुकै रोगका विरामीले रगत प्रयोग गरे पनि पालिकामा विल पेश गरेर भुक्तानी दिने व्यवस्था मिलाइएको जानकारी दिए ।

अन्य पालिकाको तुलनामा यस पालिकामा बर्षातको समयमा डुबानसँगै बाढीबाट प्रभावित हुनेको संख्या धेरै छ । ठूलो माई, सानो माई दुवै नदीमा बलियो र भरपर्दो तटबन्धन नहुँदा यो पालिका सधै डुवानमा पर्ने गरेको छ । जसका कारण धेरै भन्दा धेरै विपन्न समुदायका मानिसहरुलाई सर्पले टोक्ने गर्छ । पालिका अध्यक्ष साहले सर्पदंशका विरामीको सम्पूर्ण खर्च गतबर्षदेखि गाउँपालिका आफैंले गर्दै आएको बताए । “उपचार गर्ने पैसा नहुँदा गरीबले त्यसै मर्नुपर्छ”, उनले भने “सबैको उपचारमा पहुँच पुर्याउन गाउँपालिकाले उपचारको शुल्क तिरिदिन सुरु गरेको हो । ”

सो क्षेत्रमा सर्पले टोकेमा छिमेकी कनकाई नगरपालिकामा सहारा नेपालद्वारा सञ्चालित सहारा सर्पदंश उपचार केन्द्रमा उपचार गर्न पठाइने गरिएको छ ।

तीन बर्षमा २० किलोमिटर सडक कालोपत्रे
झापा गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि पालिकाकै बजेटमा २० किलोमिटर कालोपत्रसहितको पक्की सडक निर्माण भएको छ । अध्यक्ष साहले सात वटै वडाका विभिन्न स्थानमा गरी २० किलोमिटर मिटरको कालोपत्रेसहितको सडक निर्माण गरेको बताए ।

“सबै टोल टोलमा पक्की सडक पुर्याउने लक्ष्य छ”, उनले भने, “आगामी दुई बर्षभित्रमा पुर्याउँछौं, द्रुत गतिमा काम भइरहेको छ ।” उनका अनुसार सबै टोलमा ग्राभेल बाटो पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: