जनप्रतिनिधिद्वारा विद्यार्थीको अभिभावकत्व ग्रहण

  प्रकाशित मिति
१३ बैशाख २०७५, बिहीबार ०९:२९



भद्रपुर । सरकारी विद्यालयमा भर्ना अभियान चलिरहेको छ । शिक्षक शिक्षिका, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु गाउँ गाउँमा बालबालिका खोज्न र शिक्षाबाट वञ्चित बालबालिकालाई आफ्नो विद्यालयमा ल्याई भर्ना गराउन जुटिरहेका छन् ।

विद्यालयहरुले औपचारिक कार्यक्रम नै आयोजना गरेर नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत मात्र होइन स्थानीय तहका जनप्रतिनिधिहरु, नागरिक समाजका अगुवाहरुले ती बालबालिकाको अभिभावकत्व ग्रहण गर्न पनि थालेका छन् ।

यसैक्रममा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले भद्रपुर ७ को सरस्वती प्राविमा भर्ना हुन आएका एक विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् । बुधबार विद्यालय परिसरमा आयोजना गरिएको एक कार्यक्रमका बीच प्रमुख अतिथि नगर प्रमुख श्रेष्ठले कक्षा २ मा भर्ना भएका स्थानीय सोनाली उरावको अभिभावकत्व ग्रहण गरेका हुन् । उनले विपन्न तथा पछाडि पारिएको सन्थाल समुदायकी ती बालिकालाई सरकारी विद्यालयमा उच्च तहसम्म पढाइदिने प्रतिबद्धता व्यक्त गरे ।
यसैगरी नगर उपप्रमुख चन्द्रा श्रेष्ठले पनि स्थानीय शिल्पा राजवंशीको अभिभावकत्व ग्रहण गर्दै उच्च तहसम्म पढाइदिने बचनबद्धता व्यक्त गरेकी छिन् ।

सो विद्यालयमा नयाँ भर्ना भएका ८ जना विद्यार्थीलाई जनप्रतिनिधि तथा नागरिक समाजका अगुवाहरुले पढाइदिने प्रतिबद्धता व्यक्त गरे । वडा नं ७ का वडाध्यक्ष विनोद पोखरेलले स्थानीय प्रशान्त खेरवार, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा सदस्य फूलसिंह राजवंशीले पूर्णिमा लुइटेल, नगर कार्यपालिका बोर्ड सदस्य मित्रा भट्टराईले कविता राजवंशी, वडा सचिव मुरारी पोखरेलले अनुष्का राजवंशी, समाजसेवी अच्युत पोखरेलले प्रेरणा उराउ र पोषराज पौडेलले सहिल उराउको पढाइको जिम्मेवारी वहन गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फूलसिंह राजवंशीको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन शिक्षिका अनिता विमलीले गरेका थिए भने प्रधानाध्यापक उत्तमराज भट्टराईले विद्यालयको गतिविधि प्रस्तुत गरेका थिए । वडा अध्यक्ष विनोद पोखरेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको र शिक्षिका उर्मिला दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख श्रेष्ठ, नगर उपप्रमुख चन्द्रा श्रेष्ठ, स्रोत व्यक्ति प्रेम भुजेल, नगर शिक्षा शाखा अधिकृत ज्ञानबहादुर पौडेललगायतले शुभकामना मन्तव्य राख्दै सामुदायिक शिक्षाको गुणस्तर अभिबृद्धिमा जोड दिँदै बढीभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालयमा आउने वातावरण तयार गर्नुपर्ने बताए । नवआगन्तुक विद्यार्थीलाई विद्यालय पोशाक तथा पाठ्यपुस्तक पनि उपलब्ध गराइएको शिक्षिका दाहालले जानकारी दिए ।

‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता सिकाइमा स्थायित्व’ भन्ने नाराका साथ सामुदायिक विद्यालयमा यस वर्षको भर्ना अभियान जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: