जनप्रतिनिधिले थाहा पाउँदा राम्रो

  प्रकाशित मिति
१० श्रावण २०७४, मंगलवार ११:१४


rc 1
रामचन्द्र उप्रेती

स्थानीय तहको निर्वाचन पछि निर्वाचित जनप्रतिनिधिमा काम कसरी सुरु गर्ने भनेर अलमल हुनु स्वाभाविक हो । यो अलमलबाट जतिसक्दो चाँडो बाहिर निस्केर जनताको काममा लाग्नु पर्छ । जनप्रतिनिधि पनि यहि चाहिरहेका छन् । तर अलमल केमा छ भने के गर्ने ? कसरी गर्ने ? काम कताबाट थाल्ने ? के गर्न हुने ? के नहुने ? कर्मचारीलाई के भन्ने ? के भन्न हुने ? के नहुने ? आदि जस्ता अनेक दुविधा र अलमल हुने नै भए ।

सबै स्थानीय तहका प्रमुख र उपप्रमुखको त कार्यालय छ, कर्मचारीले नै निर्वाचित प्रमुख उपप्रमुख बस्ने कोठा, कुर्सी टेवलको व्यवस्था गरिदिएका छन् । कुर्सीमा बसेपछि भेटघाटका लागि अर्थात काम परेर आउने मानिसको लागि धेरथोर काम गरेर समय बित्तै होला । वडा प्रमुखको यत्तिको पनि अवस्था छैन । कतैकतै कार्यालय होला, बस्ने कुर्सी टेवलको व्यवस्था होला । कतैकतै त त्यो पनि व्यवस्था गर्न बाँकी नै छ । वडा कार्यालयमा वडा अध्यक्षको त काम हुन्छ नै । भेटघाट र सिफारिस, प्रमाणित आदि जस्ता काम धेरथोर पर्छन् नै । त्योभन्दा तलका जनप्रतिनिधि वडा सदस्य, महिला वडा सदस्य, दलित वडा सदस्यको त न कार्यालय, न कुर्सी, न काम । अझ भर्खरै छानिएका गाउँ तथा नगरपालिकाका महिला, दलित र अल्पसङ्ख्यक सदस्यको हैसियत निर्वाचित वडा सदस्यको जत्तिकै भए पनि उनीहरुका लागि न कार्यालयमा कुर्सी छ न कामको जिम्मेवारी । बढो सकस र तामझामका साथ निर्वाचित यतिका जनप्रतिनिधिले अब के काम गर्ने छन् ? कसरी गर्ने छन् ? यसको प्रतिक्षा जनतालाई पनि उत्तिकै छ ।

unity 1
काम कताबाट कसरी सुरु गर्ने भन्ने अलमलले सताएको हुनुपर्छ । यो अलमलको अन्त्य जतिसक्दो चाँडो गरेर कामको मेलो समाउन सक्नुपर्छ । निर्वाचित भएका मितिले समयको गन्ती सुरु भयो, पाँच वर्ष त काम गरे पनि बित्छ नगरे पनि बित्छ । कामको मेलो मिलाउन जति ढिलो भयो समय त्यति नै घर्किदै जान्छ र कामको नतिजा त्यति नै कमजोर हुने पक्का छ ।

निर्वाचित प्रतिनिधिका मनमा पनि आपूmले पाएको जिम्मेवारी पुरा गर्ने, आफुले काम गरेर देखाउने इच्छा पक्कै पनि छ । तर काम कताबाट कसरी सुरु गर्ने भन्ने अलमलले सताएको हुनुपर्छ । यो अलमलको अन्त्य जतिसक्दो चाँडो गरेर कामको मेलो समाउन सक्नुपर्छ । निर्वाचित भएका मितिले समयको गन्ती सुरु भयो, पाँच वर्ष त काम गरे पनि बित्छ नगरे पनि बित्छ । कामको मेलो मिलाउन जति ढिलो भयो समय त्यति नै घर्किदै जान्छ र कामको नतिजा त्यति नै कमजोर हुने पक्का छ । यो लेखमा जनप्रतिनिधिका काम के हुनसक्छन् ? उनीहरुले के के कुरामा ध्यान दिन र जानकारी राख्न आवश्यक छ र काम कसरी सुरु गर्ने अथवा काम कसरी गर्दै जाने भन्ने बारेमा मेरो अनुमानलाई यहाँ प्रस्तुत गर्न चाहेको छु ।

सबैभन्दा पहिला जनप्रतिनिधिले आफ्नो क्षेत्रको बस्तुगत एवम् यथार्थ अवस्थाको बारेमा जानकारी राख्नु पर्छ । किनकि अवस्थाका बारेमा जानकारी भएपछि मात्रै आगामी कामको योजना सही बन्न र बनाउन सकिन्छ । तपाईले आगामी पाँच वर्षमा गरेको कामले सम्बन्धित क्षेत्रका जनताको सुविधा बढेको र जीवनस्तरमा सुधार भएको हुनुपर्छ । मानिसका जीवन सहज बन्नु पर्छ । तपाईले गरेको विकासले तपाईको क्षेत्रका मतदाताको जीवनमा परिवर्तन आउनु पर्छ । त्यसैले तपाई जुन क्षेत्र वा भूगोलको प्रतिनिधि हुनुहुन्छ त्यहाँको बारेमा तपाईलाई निम्न अनुसारको जानकारी हुनपर्छ–जस्तै ः

१) जनसङ्ख्या ः महिला, पुरुष, जेष्ठ नागरिक, अपाङ्ग, एकल महिला, वालवालिकाको सङ्ख्या, दलित, अल्पसङ्ख्यक, युवा, जातजाति आदि ।

२) जनशक्ति र रोजगारीको अवस्था के छ ? जस्तै ः शिक्षित, अर्धशिक्षित जनशक्ति कति छ ? तालिम प्राप्त दक्ष, अर्धदक्ष, अदक्ष जनशक्ति कति छ ? काम गर्ने उमेरका कति मानिसले काम गर्छन् ? कति बेरोजगार छन् ? कस्ता कस्ता पेशा व्यवसाय सञ्चालनमा छन् ? कतिलाई रोजगारी दिन सकेका छन् ? बैदेशिक रोजगारीमा कति नेपाली छन् ? कति विदेशीले यहाँ काम गर्छन् ? कस्ता कस्ता काममा विदेशी कामदार संलग्न छन् ?

३) सामाजिक सुरक्षाको अवस्था के छ ? कति मानिसले सामाजिक सुरक्षा अन्तर्गत सेवा पाएका छन् ? के सबैले सजिलै सामाजिक सुरक्षा भत्ता पाएका छन् ?

teacher४) शिक्षाको अवस्था र अवसर कस्तो छ ? के विद्यालय जाने उमेरका सबै बालबालिका विद्यालय जान पाएका छन् ? विशेष गरी सरकारी विद्यालयको भौतिक अवस्था कस्तो छ ? पढाईको गुणस्तर कस्तो छ ? त्यहाँका मुख्यमुख्य समस्या के के हुन् ?

५) जनस्वास्थ्यको अवस्था कस्तो छ ? स्वास्थ्य सेवा दिने सरकारी निकाय वा संस्था छन् कि छैनन् ? छन् भने कस्तो सेवा दिइरहेका छन् ? तिनीहरुका समस्या कस्ता छन् ? त्यहाँको सेवा स्तरको विकास गर्न के गर्न सकिन्छ ? कति जनताले सेवा पाइरहेका छन् ? निजी स्वास्थ्य सेवाको अवस्था कस्तो छ ? तिनले उचित सेवा दिएका छन् कि छैनन् ? जनस्वास्थ्यमा असर गर्ने कुराहरु के के हुन् ? विशेषगरी जनस्वास्थ्यमा सोभैm असर गर्ने आफ्नो क्षेत्र भित्र बिक्री बितरण भइरहेका खाद्य सामग्रीहरु कत्तिको उचित छन् ? त्यसलाई त्यसै छाडिदिनु पर्छ वा सुधार गर्न सकिन्छ ? तयारी खानेकुरा बिक्री वितरण गर्ने पसलको अवस्था कस्तो छ ? तिनमा सरोकार राख्ने निकायको ध्यान नपुगेको पक्कै हो अब त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ ?

६) सरसफाईको अवस्था र जनचेतना कस्तो छ ? के सबैको घरमा शौचालय छ ? शौचालयको अवस्था कस्तो छ ? प्रयोग गर्ने बानी सबैको छ कि छैन ? सार्वजनिक स्थान विद्यालय, पार्क, बसपार्क आदि स्थानमा शौचालय छ छैन ? छ भने कस्तो अवस्था छ ? फोहोरको व्यवस्थापन कसरी भइरहेको छ ?

७) पिउने पानीको अवस्था कस्तो छ ? कति जनताले शुद्ध पिउने पानी पाएका छन् ? कसरी सम्पूर्ण जनताको लागि पिउने पानी पुर्याउन सकिएला ?

८) सडकको अवस्था के छ ? बनेका सडक के सहि हालतमा छन् ? सडक किनारमा नाला बनेको छ ? नालामा पानी बग्ने अवस्था छ ? अर्थात नालाले काम गरेको छ ? नालाको निकास छ छैन ? कसरी सुधार गर्न वा चालु गर्न सकिएला ?

९) आफ्नो क्षेत्रभित्र उत्पादनका साधनहरु के के छन् ? जस्तै जमिन, जङ्गल, उद्योग, कारखाना आदि । सेवा व्यवसायको अवस्था कस्तो छ ? सम्भावना के के छ ? बजार (व्यापार,व्यवसाय) यातायात, पर्यटकीय स्थल आदिको विकास गरेर रोजगारी बढाउन सकिने सम्भावना कति छ ? हालको अवस्था कस्तो छ ?

१०) कृषि र पशुपालनको अवस्था कस्तो छ ? के कृषिको व्यावसायिकीकरण गर्न सकिन्छ ? यसमा कस्ता कस्ता प्रयास भएका छन् र तिनको प्रभाव कस्तो परेको छ ? के हाम्रो क्षेत्रको कृषि उत्पादनले बजार पाएको छ ? के हामीले कृषि उत्पादन गर्न सक्ने सम्भावना छ ? हाम्रो बजारमा बिक्री वितरण भइरहेका कृषिका सामान काँचो तरकारी फलफुल हाम्रा किसानले उत्पादन गर्न सक्छन् ? गरेका छन् ? हाम्रो उत्पादन बाहिर अर्को क्षेत्रमा पठाउन सकेका छौं ? त्यसको सम्भाना छ ? के के उत्पादन गर्न सक्छौं । उत्पादनका लागि किसानलाई कस्तो सहयोग गर्न सकिएला ? किसानका समस्या के के छन् ?

sahid११) सार्वजनिक जमिन कति छ ? त्यो कुन अवस्थामा छ ? आफ्नो क्षेत्रभित्र बग्ने नदी, तालतलैया, शिमसार, जङ्गल, घाट, पार्क, खेल मैदान सार्वजनिक स्थल आदिको जानकारी राख्नु पर्छ । त्यसको उपयोगको अवस्था कस्तो छ ? थाहा पाउने र त्यसलाई सुधार गरेर बढी उपयोगी कसरी बनाउन सकिन्छ भनेर जानकारी राख्नु पर्छ ।

१२) आफ्नो क्षेत्रभित्र भएका सहकारी र तिनले कस्तो काम गरेका छन् ? के गर्छन् ? त्यसको जानकारी राख्नु राम्रो हुन्छ । किनकि तिनले पनि तपाईको क्षेत्रमा जनताको माझमा काम गरिरहेका छन् । त्यस्तै एनजिओ आइएनजिओले आफ्नो क्षेत्रमा के के कार्यक्रम सञ्चालन गरिरहेका छन् ? सरकारी सेवा प्रदायक कार्यालय कुन् कुन् छन् ? कस्तो सेवा दिन सक्छन् र दिइरहेका छन् ? त्यसको जानकारी राख्नु पर्छ ।

१३) आफ्नो क्षेत्र भित्रका जनताको धार्मिक आस्था, रितिथिति, चाडपर्व, मठमन्दिर, गुम्बा, मस्जिद, मदरसा, चर्च, देवालय आदिको बारेमा जानकारी राख्नु पर्छ ।
१४) हाम्रो आफ्नो कार्यालयको अवस्था कस्तो छ ? यो सबै कामको नेतृत्व गर्ने स्थानीय तह गाउँ तथा नगर कार्यपालिकाको आफ्नो भौतिक अवस्था कत्तिको

व्यवस्थित छ ? भवन, कार्यकक्ष, फर्निचर, सरसफाई, सुन्दरता, सरसमानको राखरखाव, साजसज्जा, बस्तुको सदुपयोगिता आदिले जोकोहीमा पहिलो प्रभाव पार्ने गर्छ । त्यो कस्तो अवस्थामा छ ? के तपाई त्यसलाई सुधार गर्नुपर्ने ठान्नु हुन्छ ?

१५) अर्को महत्वको कुरा तपाईले काम गर्ने अर्थात सेवा दिने वडा, गाउँ, नगर कार्यपालिकाको जनशक्तिको अवस्था के छ ? तपाईले त्यहाँ भएका सबैलाई चिन्नुपर्छ । चिन्नु भनेको कर्मचारीको नाम र पद अर्थात अनुहार चिन्नु मात्रै होइन । ती कर्मचारीको क्षमता, योग्यता, नियत, काम गर्ने शैली, काम प्रतिको भाव, सेवाग्राही प्रति गरिने व्यवहार, आफ्नो जिम्मामा परेको काम सम्पन्न गर्ने क्षमता, आर्थिक आचरण, सामाजिक आचरण आदि जस्ता कुरामा पनि चिन्नु पर्छ ।

काममा भन्दा कुरामा जोड दिने, चाप्लुसी गरेर खुसी पार्न खोज्ने, अरुका कुरा काटेर समय बर्बाद पार्ने, समयमा काम सम्मन्न नगर्ने तर सबैभन्दा बढ्ता मैले काम गरेको छु भन्ने, अनुचित आर्थिक लाभको लागि प्रयास गर्ने, हुने कामलाई पन्छाउन बहाना खोज्ने आदि जस्ता चरित्र भएका मानिसको पहिचान गर्नुपर्छ । निष्ठापूर्वक आप्mनो काम खुरुखुरु गर्ने तर चाकरी नगर्नेलाई पनि चिन्नुुपर्छ र माया एवम् प्रोत्साहित गर्नुपर्छ । काम गर्ने क्षमता कसमा छ कसमा छैन ? को अल्छि छ । को जिम्मेवार छ । बुभ्mन र चिह्न सक्नु पर्छ । किनकि तपाईको कार्यालयले दिने सेवा र गर्ने काममा कर्मचारीको प्रभाव साह्रै ठूलो हुन्छ । उनीहरुले सही काम गरेनन् भने तपाईले मात्रै गर्न खोजेर हुँदैन ।

त्यसैले पहिला यी श्रोत र साधकलाई सही सलामत काम गर्न सक्ने अवस्थामा राख्नु पर्छ । यदि वातावरण अनुकूल नभए बनाउनु पर्छ । कर्मचारीका कुरा पनि ध्यानले सुन्नु पर्छ । अनुकूल वातावरण बनाउन कोशिस गर्नुपर्छ । तर बहाना मात्रै बनाउने, कामचोर, द्रव्य पिचास, भ्रष्ट आचरण भएका कर्मचारीलाई सुधार्न वा सजाय गर्न सक्नुभएन भने तपाईले राम्रो नतिजा निकाल्न सक्नु हुन्न ।

जाँदाजाँदै एउटा कुरा भन्न चाहन्छु । एकजना सफल मानिसलाई उनका समर्थक र प्रशंसकले तारिफ गर्दै भनेछन्–‘तपाईले त साह्रै धेरै काम गर्नुभयो, धेरै उन्नति प्रगतिमा पुर्याउनु भयो ।’ उनले मुसुक्क हाँसेर भनेछन्–‘मैले त केही गरेको छैन । यो सबै अरुले गरेको । धेरै मानिसले गरेको ।’ अनि हजुरले के गर्नुभयो त ? सबैले हजुरकै नाम लिन्छन् । उनले फेरि हाँसेर भनेछन्–मैले त अरुले कसरी काम गर्छन् भनेर हेरेको मात्रै हो । वास्तवमा सफलता अरुले गरेको काम हेर्नुमा नै थियो । यहाँ पनि तपाई एक्लैले केही गर्ने होइन तर जस वा अपजस चाहिँ तपाई कै हुन्छ ।

माथि उल्लेख गरेका विषयको जानकारी तपाईको कामलाई प्रभावकारी बनाउनका लागि हो । जनताको पक्षमा राम्रो नतिजा निकाल्नका लागि हो । यो जानकारी पछि तपाईको दिमागमा त्यसलाई बदल्ने, अझ राम्रो गर्ने सपना हुनुपर्छ र सपनालाई पूरा गर्न कार्ययोजना बन्नुपर्छ । योजना पूरा गर्न एक्सन प्लान बन्नुपर्छ । एक्सन प्लानले दिने नतिजा तपाईलाई थाहा हुनुपर्छ । अरुलाई बुझाउन र डोर्याउने क्षमता तपाईमा हुनुपर्छ । त्यसका लागि नियमित बैठक, समीक्षा, अवसर, चुनौती थाहा पाउने र समाधान गर्दै जाने काम गर्नुपर्छ ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: