मेचीनगर । जनसंसद् दैनिकको अध्यक्षमा सामाजिक क्षेत्रका अग्रणी युवा केशवराज पाण्डे चयन भएका छन् ।
हाम्रो प्रकाशन समूह प्रालिको सोमवार काँकरभिट्टामा सम्पन्न साधारणसभाले सञ्चालन समितिको अध्यक्षमा पाण्डेलाई सर्वसम्मत चयन गरेको हो ।
२०६२ साल असोज १४ गते प्रकाशन सुरु गरेको जनसंसद् दैनिक झापाको अग्रणी र लोकप्रिय पत्रिका हो । स्थापनाकालदेखि प्रकाशन संस्थाको अध्यक्षमा कृष्णप्रसाद उप्रेती रहेका थिए ।
साधारणसभाले समितिको उपाध्यक्षमा कमल थापा, सचिवमा मुक्ति पौडेल र कोषाध्यक्षमा विमल आचार्यलाई चयन गरेको छ ।
निर्देशकमा सञ्जीव राईलाई सभाले चयन गरेको छ । समितिको सदस्यमा अर्जुन कार्की र विनोद बस्नेत चयन भएका छन् ।
२०६२÷०६३ को जनान्दोलनलाई सफल बनाउन झापाबाट सशक्त भूमिका निर्वाह गरेको जनसंसद् दैनिकलाई नयाँ योजनासहित प्रभावकारी एवम् व्यावसायिक बनाइने नवनिर्वाचित अध्यक्ष केशवराज पाण्डेले बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्य र नेपाली काङ्ग्रेस पार्टीको जिल्ला कोषाध्यक्ष पदमा रहेका पाण्डे जनसंसद् दैनिकको संस्थापक सञ्चालकमध्येका एक हुन् ।