जनसङ्गीत र जनकलाकार

  प्रकाशित मिति
१५ जेष्ठ २०७३, शनिबार ११:५४


music_note_and_people_vector_550932

एउटा समय थियो थाकेका मान्छेहरुका, गलेका मान्छेहरुका अनि मौन मान्छेहरुका मनहरुलाई यसरी हौस्याइ र चम्काइ दिन्थे यी शब्दहरुले मानौँ ती मनसँगै ती मान्छेहरु पनि एकाएक उन्मुक्त आकाशमा बेरोकटोक एउटा सङ्ग्रामी हुल जस्तै बने र उड्न तम्सन्थे ।
यी शब्द र सङ्गीतमा त्यो शक्ति विराजमान थियो, जसले जनतालाई न्याय, समानता र स्वतन्त्रताका लागि उकास्ने गथ्र्यो । अर्थात् ‘जनताका गीत’ नाम पाएका गीतहरुले । नेपालमा भएका हिजो देखि आजसम्मका हरेक राजनीतिक परिवर्तनको अग्रभागमा नराखी धरै छैन, जनताका गीतहरुलाई । जसले परिवर्तनका खातिर अहम् भूमिका निर्वाह गरेका थिए । सुन्नका लागि सुन्ने मात्र यी गीत थिएनन् र होइनन् पनि शब्द सङ्गीतसँगै चेतना र विद्रोहको झन्कार सहितका जनताका गीतहरुले नेपाली जनतामा दलका नेताका भाषण भन्दा कयौँ गुणा परिवर्तनको प्रेरणा र खुराक दिएका थिए । पार्टीका दर्शन, सिद्धान्त र विचारका बारेमा आफैँ अन्योलमा परेझैं देखिन्छन् अहिले पनि दलका नेता भन्नेहरु र अन्यौलताकै बिच पनि दर्शनका पण्डितहरु जन्मने व्रmम रोकिएको छैन । तर, उनीहरुको पण्डित्याइँ नेपाली जनता त के स्वयम् उनकै फेरो मार्नेहरुले समेत भेउ पाउँदैनन् । ‘आँगनको डीलमा फूले र बस्ने, यो माटो भरि हाम्रै रगत पसिना, हाम्रो जीवन बित्दै जाँदा, एक जुगमा एकदिन, सिमली छायाँमा बसी, रक्त व्रmान्तिको, सङ्घर्ष हो जीवन, झरनाको चिसो पानी, बसाइँ हिँड्नेको ताँतीले, उठ–उठ नारी हो’ जस्ता समानता र स्वतन्त्रताका पक्षपाती गीतहरुकै कारण आज हामी लोकतन्त्रको वर्तमान परिवेशमा छौँ ।
जनताका गीत भन्ने बित्तिकै आमबुझाईमा कम्युनिष्ट पार्टीका गीत भन्ने गलत भ्रम र धारणा छ । हेपिएका, थिचिएका र पिल्सिएका तीजो जनता छन् र हुन् उनीहरुलाई ब्यूझाउँने र उनीहरुकै जीवन भोगाईका गीतहरु हुन् जनताका गीत । समाजमा जन्मकालदेखि नै होचा र पुड्का रुपमा जसलाई आर्थिक, सामाजिक, सांस्कृतिक र अन्य विभेदका कारणले पाखा पारिएका जनताहरुलाई मुक्ति र स्वतन्त्रताको निम्ति उठाउने गीतहरु नै हुन् जनताका गीतहरु ।

जनताका गीतहरुले एउटा वर्गको प्रतिनिधि भने अवश्य गरेकै हुन्छ । त्यो हो गरिखाने, श्रम गर्ने र आफैँमा शोषित, पीडीत बन्न बाध्य पारिएको वर्ग । अक्सर कम्युनिष्ट पार्टी (?) भन्नेहरुकै कार्यव्रmममा यी र यस्ता गीत बजाउँदा अनि गायक कलाकारहरु पनि तिनै पार्टीप्रति अलिक बढी बफादार भएको देख्दा जनताका गीतहरुलाई कम्युनिष्ट गीत ठान्नुलाई शत्प्रतिशत गलत मान्न पनि सकिँदैन । तर, यी गीत कुनै पार्टी विशेषका लागि भन्दा पनि जनताकै लागि कथिएका, सङ्गीत भरिएका र स्वर हालिएका हुन् । जसरी सगरमाथा नेपालमा पर्छ, सगरमाथा नेपालकै हो तर विश्वको भौगोलिक मानचित्रमा त सगरमाथा विश्वकै पनि त हो । नेपाली शासकहरुले लादेका कठो र शासन व्यवस्थामा नेताहरुका विचार र दर्शन कुनै भूमिगत स्थानमा आफ्नै कार्यकर्ताले बुझी नबुझी सुन्थे होलान् तर ऊ बेलादेखि नै जनताका गीतहरु गाउँ र बस्तीमा जनताका ओठ र मुखमा झुण्डिएका थिए । एक जुगमा एकदिन, म मरे पनि मलाई, हिमाली हावाले, हजार माईलको बाटो, कसले भन्छ छोरीको जस्ता मुक्ति र विद्रोहका चेतले उकुसमुकुस भएका जनगीतहरु जनताको मन र ओठमा आज पनि लपक्कै र छपक्कै छन् । तर, ऊ बेला र यो बेला धेरै फरक भएछ । जनता र देशका लागि ज्यानको बाजी लगाउँ छौँ भन्ने फुर्तीवाल नेताहरु सत्ताको सिढीमा ओहोर–दोहोर गरिरहेकै छन् । तिनै जनताका गीतहरुका कारण आज तिनीहरुसँग सत्ता र कुर्सी छ । तर, उनीहरुको मानसपटलबाट यी गीत र गीत जन्माउने मान्छेहरु कुनै काल्पनिक कथाका पात्रझै बनेका छन् । उनीहरुको चेतमा जनताका गीतको मर्म र त्यसको शक्ति अनि ती विद्रोह र मुक्तिका चेतले भरिएका जनसङ्गीत जन्माउने स्रष्टाहरु लोप भएर गएका छन् । सत्ताको तरमार्ने चुनावी कार्यव्रmममा लाजै नमानी बजाउँछन् अहिले पनि जनप्रिय जनसङ्गीतलाई जसले आफूलाई अब्बल दर्जाको व्रmान्तिकारी नेता बनाओस् भन्ने कुटिल मनसायबाट तर जब चुनाव जितेर सत्ताको हारालुछ गर्न पुग्छन् जनताका गीतहरु अर्को चुनावसम्मका लागि कुनै कुनामा थन्कन पुग्छन् ।

उनीहरुलाई त्यो बेला जनसङ्गीत भन्दा मादकताले भरिएका रङ्गीला गीतहरुनै प्रिय लाग्न थाल्छन् । पश्चिमा सांस्कृतिक अतिव्रmमणको चौतर्फी घेराबन्दीमा परेका हामीहरु स्वयम्ले आफ्नो संस्कृतिप्रति उतिसारो चासो राख्न फुर्सद नपाएको वर्तमानमा जनगीत र जनसङ्गीतका बारेमा लेख्नु नयाँ कथाको नयाँ शीर्षक जस्तो पनि होला । फेरि पनि जनसङ्गीत ओझेल भित्रको ओझेलमा थन्कन परेको टिठलाग्दो बाध्यताभित्रकै मनबाट मनसँग हामी सबैले एकपल्ट सोध्न सक्छौँ कि आज जुन हामी लोकतन्त्रको गफ चुटिरहेका छौँ, निरङ्कुशतन्त्रको जञ्जिरलाई तोड्न हामी कतिले समाजवाद र साम्यवादका ठेली पढेर आन्दोलनमा होमिएका थियौँ या चेतना र विद्रोहका जनसङ्गीतको प्रे रणाले हामी आन्दोलित बन्न पुगेका हौँ । आफूलाई मुक्तिका मसिहा भन्नेहरुले जनसङ्गीत र जनकलाकारप्रति पुरै बेवास्ता गरिरहेको दृष्टान्त हेर्न पटक–पटक यिनै गीत गुनगुनाउनेहरु सत्तामा पुगेपछिको उनीहरुको मौनताले नै पुष्टि गर्दछ । तर, जनगीत र जनसङ् गीत सदैवकालझैँ हुन्छन् जहाँ वर्गीय विभेद रहन्छ । कला, साहित्य र सङ्गीतको हकमा यो सत्य र तथ्य हो, जहाँ मानवीय मूल्यबोध हुँदैन त्यो सिर्जनाको खासै अर्थ पनि हुँदैन । यसर्थ जनसङ्गीत त्यो बेलासम्म रहन्छ, जबसम्म समाजमा विभेद रहन्छ, विभेद तबसम्म रहन्छ, जबसम्म वर्ग रहन्छ, वर्ग समाजबाट कहिल्यै पनि हट्न सक्दैन यसर्थ जनसङ्गीत अजम्बरी रहन्छ । यदि कसैले वर्गविहीन समाजको कुरा गर्छ भने त्यो कल्पना सिवाय अरु केही होइन । शोषित र शोषक, पीडित र पीडक रहुञ्जेल रामेश–रायन, जे.बि. टुहुरे, जीवन शर्मा, खुशीराम पाख्रीन, माइला लामा, मधु गुरुङ लगायतका जनकलाकारहरुका जनसङ्गीत जस्ताको त्यस्तै रहने छन्, जनताकै बिचमा हाँसिरहने छन् अनि जनताले नै गाइरहनेछन्, जसरी यो गीतले भन्छ–
‘मर्नै पर्छ एकदिन सबैले
हामी पनि मर्छौं ।
हामी मर्दा जनताको
शीर उठाई मर्छौं ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: