जनादेशको अनादर नगर

  प्रकाशित मिति
२९ मंसिर २०७४, शुक्रबार १०:०८


नयाँ जनादेश प्राप्त भइसकेको अवस्थामा समेत कामचलाउ सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले दूरगामी महत्वका राजनीतिक नियुक्ति, सरुवा, बढुवा र अन्य निर्णयहरु रोकेको छैनन् । बहुमत प्राप्त बाम गठबन्धनले औपचारिक रुपमै देउवालाई त्यस्तो कार्य नगर्न सचेत गराइसक्दा उल्टै अटेर गरिनु अशोभनीय भएको छ । समानुपातिक नतिजा आउन र राष्ट्रिय सभाको निर्वाचन हुन बाँकी रहेको बहानामा देउवा सरकारले आफुखुशी निर्णयहरु गरिरहेको देखिन्छ, जो सरासर राजनीतिक रुपमा अनैतिक र संबैधानिक रुपमा अपरिपक्व छ । नयाँ जनादेश प्राप्त भइसकेको अवस्थामा कामचलाउ सरकारले आफ्नो हैसियत यसरी बिर्सनु हुँदैन ।

यति हुँदाहुँदै पनि नयाँ सरकार गठन प्रक्रिया कहिले पूरा हुने भन्नेमा केही कानूनी उल्झनहरु नभएका हैनन् । तर, बाधा व्यवधानहरु हटाएर जति सक्दो छिटो नयाँ सरकार गठनका लागि वातावरण तयार पार्नु काम चलाउ सरकारको दायित्व हो । अहिले देउवासँग न जनादेश छ, न निर्णायक अधिकार । सङ्क्रमणकालीन परिस्थितिको अनावश्यक लाभ लिने कर्ममा देउवा लागे भने त्यसले राजनीतिक विवाद मात्र निम्त्याउने छैन, चुनावबाट पराजित देउवाको दल झनै अलोकप्रिय बन्ने छ । अहिले ६४ जनाको जम्बो कामचलाउ मन्त्रीमण्डल छ, जसको भारबाट राज्यलाई सक्दो चाँडो मुक्त गर्न जरुरी छ । देउवाले राजीनामा दिनु सबैभन्दा उत्तम निकास हो । त्यसपछि कुनै पनि हालतमा नयाँ प्रधानमन्त्री चयन र नयाँ सरकारको बाटो खुल्ने छ । संबैधानिक कुनै बाधा फुकाउन बाँकी छन् भने नयाँ सरकारले नै त्यसको जिम्मेवारी वहन गर्ने छ । यही नै जनादेशको सम्मान पनि हुने छ ।
(लोकतन्त्र पोस्ट दैनिकमा २०७४ मंसिर २९ गते प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: