धुलावारी । सुशिल कोइराला प्रधानमन्त्री रहेका बेला राजनीतिक पीडितको स्वास्थ्योपचारका लागि सरकारले सहयोग वापत दिने निर्णय गरेको २ लाख रुपैयाँमध्ये जनान्दोलनका एक घाइतेको आधा रकम रहस्यमय रुपमा गायव भएको छ ।
जनान्दोलनमा घाइते भएका मेचीनगर–६ धुलावारी बजार निवासी ५६ वर्षीय दिलीप प्रधानले पाउनु पर्ने रकम गायव भएको हो ।
२०४६ सालको ऐतिहासिक पहिलो जनान्दोलनताका चैत २४ गते काठमाडौँको बागबजारमा पञ्चायतविरुद्ध जुलुसमा सहभागी भएका बेला छातीमा गोली लागेर प्रधान घाइते भएका थिए ।
छातीमा गोलीको दाग बोकिरहेका उनले अहिले पनि घाउबाट पिप बगिरहने गरेको बताएका छन् । उनी कवि र कलाकार समेत हुन् ।
नेपाली काङ्ग्रेसका आस्थावान कार्यकर्ता प्रधानलाई २०७२ सालमा सुशिल कोइराला प्रधानमन्त्री रहेका बेला मन्त्रीपरिषद्को निर्णय अनुसार २ लाख रुपैयाँ उपचार सहयोग दिने निर्णय भएको थियो ।
सो सहयोगमध्ये एक लाख रुपैयाँ झापा जिल्ला प्रशासन कार्यालयमार्फत गत वर्षको माघमा पाएका उनी अरु एक लाख रकम कहाँ कसले गायव गर्यो भन्ने पत्ता लगाउनै नसकेको बताउँछन् ।
उनलाई सरकारले २ लाख रुपैयाँ सहयोग दिने निर्णय गरेको समाचार कान्तिपुर दैनिकमा २०७२ असोज २१ गते नै छापिएका थियो ।
‘प्रशासन कार्यालय र गृहमन्त्रालयमा धेरै पटक धाएँ’, प्रधान भन्छन्–‘अनेक आलेटाले कुरा गरेर मलाई रकम दिएनन् ।’
उनी २००७ साले क्रान्ति योद्धा धुलावारीका डीआर प्रधानका धर्मपुत्र हुन् । हाल उनी धुलावारीमै मेडिसिन प्राक्टिस र साङगीतिक क्षेत्रमा काम गर्दै जीवन निर्वाह गर्दै आएका छन् ।
२०७२ माघ ३ गते गृह मन्त्रालयले झापा जिल्ला प्रशासन कार्यालयलाई एक लाख रुपैयाँको चेकसहित सो रकम झापाका जनान्दोलनका घाइते दिलीप प्रधानलाई उपलब्ध गराई भर्पाइ पठाइदिनु भनी निर्देशन समेत दिएको थियो । सो निर्देशनयुक्त पत्र गृह मन्त्रालयका तत्कालीन लेखा अधिकृत राजेन्द्र पराजुलीले हस्ताक्षर गरी पठाएका हुन् ।
च.नं.२२२७६३१ को सो पत्रमा पठाइएको एक लाख रुपैयाँको चेक उपचार आर्थिक सहयोग वापत प्रधानले पाउने रकमको पेश्की रहेको प्रस्ट उल्लेख छ । तर त्यसपछि हालसम्म बाँकी एक लाखको अत्तोपत्तो छैन ।
प्रधानले आफ्ना लागि सरकारले उपलब्ध गराएको बाँकी एक लाख रुपैयाँ खोजी गरिदिन स्थानीय नेपाली काङ्ग्रेसका नेता र सांसदहरूलाई गुहारेका छन् ।