औषधि उपचारबाट रोग निको पार्ने प्रणालीभन्दा जनस्वास्थ्यको यथोचित ब्यबस्था उत्तम उपाय हो । निजी अस्पतालको भरमार ओइरो लाग्यो । समाजको चरम उपभोक्ताबादले रोगको राम्रो खेती गरिदियो । खेती मासियो, नास्पती बजारमा बिक्दैन, अमेरिकाको स्याउ खाने बानी लाग्या छ । संस्कृति र स्वास्थ्यका बीचमा अनन्य सम्बन्ध हुन्छ । शरीरमा रोग कतैबाट आएर लाग्ने होइन, निर्माण गरिने हो ।
१. नेपालमा जनस्वास्थ्यलाई प्राथमिकता नदिने राज्य प्रणाली र हाम्रो आफ्नै पथभ्रष्ट बनाइएको आदत हो । बाटो सफा राख्न हामी चाहन्नौं । बाटोमा कुकुरलाई दिसा गराउन ल्याउने कथित आधुनिक मानिस देखेकै छौँ । आँगन बढारेर बाटोमा फोहोर फ्याँक्ने हाम्रो बानी छ । पानीको मुहान त अब डोजरले सकिहाले ।
२. जनस्वास्थ्य र बातावरणको अभिन्न सम्बन्ध हुन्छ । पहिला गाउँघरमा स–साना पोखरी र आहाल हुन्थे । बर्षायाममा परेको पानी भरिएर हिउँदमा धारा सुक्दैनथे । मानिसलाई सफामा पानी प्राप्त हुन्थ्यो । त्यो कसले मासिदियो ? हामीले कहैल्यै सोचेनौं ।
३. जब प्रकृति ध्वस्त पार्यौं, तब रोगको खेती लाग्यो । तब अस्पतालका नाममा उद्योग खुले ।
४. परिणाम एक करोडमा डाक्टर बनाउने उद्योग खुले, मेडिकल कलेजका नाममा । कालो धन राख्ने ठाउँ बने । यदि हामीले सयौं जनस्वास्थ्यकर्मीहरु उत्पादन गरेको भए, स्वास्थ्य मन्त्रालयमा मथुरा श्रेष्ठ जस्ता बिज्ञ चिकित्सक राख्न सकेको भए, ठाउँ ठाउँमा जनस्वास्थ कलेजहरु खोलेको भए, यिनलाई डाक्टर भनिदिएको भए आज कोरोना भाइरसमा यसरी आतङ्कित हुनुपर्ने थिएन ।
तर नवउदारबादले मानिसको जीवन भ्रष्ट पुँजीपतिको पैसा कमाउने साधन बनाइदियो । रोग निर्माण गर्ने जङ्क फुड र निजी अस्पताल अनि एलोपेथीको खेती मौलायो । खोज्नुहोस् त अस्पताल चलाउने र जङ्क फुड उत्पादन गर्नेको सम्बन्ध (चाउचाउ कारखाना र हस्पिटलको मालिक एउटै व्यक्ति) कस्तो हुन्छ । अब मानिसले मानिस भएर बाँच्न पाउनु पर्छ । अबको विकास समाजवादको रुपमा अगाडि बढ्नु पर्छ । अब मानिसले प्रकृतिभित्र बाँच्न पाउनु पर्छ ।
(लेखक एसियन एसोसिएसन अफ ल प्रोफ्रेसर्सका अध्यक्ष एवम् काठमाडौं स्कुल अफ ल का संस्थापक निर्देशक हुन् ।)