जरिवाना रोक्न चक्काजाम

  प्रकाशित मिति
१३ जेष्ठ २०७३, बिहीबार ०८:५२


jariwana 2

झापा । सवारी जरिवानामा गरिएको अत्याधिक बृद्धि र विदेशी सवारी साधनको खुला सञ्चालन सम्बन्धी व्यवस्था खारेजी लगायतका नौँ बुँदे माग राख्दै निजी क्षेत्रका यातायात व्यवसायी तथा मजदुर सङ्घ सङ्गठनहरू सरकार विरुद्ध सडकमा उत्रिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घमा आवद्ध दर्जनौँ यातायात व्यवासायी र प्रमुख दल निकट मजदुर सङ्गठनहरू सरकार विरुद्ध सडकमा उत्रिएका हुन् ।

उनीहरूले बिहीवार (आज) देशव्यापी चक्काजामको आह्वान गरेका छन् । सवारी जरिवाना सम्बन्धी नयाँ कानून र सार्क राष्ट्रमा समान हैसियतमा खुला सवारी साधन सञ्चालन सम्बन्धी सम्झौता लाखौँ मजदुर आश्रित स्वदेशी यातायात व्यवसायको अहितमा रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका मेची अञ्चल संयोजक राजेन्द्र रिजालले बताए ।

‘हामीले सरकारलाई मजदुर र स्वदेशी यातायात व्यवसायीको अहित गर्ने कुनै पनि कदम नचाल्न बारम्वार सम्झायौँ’, उनले लोकतन्त्र पोस्टसँग भने–‘तर सुनुवाई नभएपछि बाध्य भएर हड्तालमा उत्रिनु पर्यो ।’

जरिवाना बढाएर ट्राफिक नियमको उल्लङ्घनमा कमी आउने वाहियात कुरामा ट्राफिक लागेको आरोप लगाउँदै उनले सडकको भौतिक अवस्था सुधार्ने र सडक प्रयोगकर्ताको चेतना स्तर उकास्ने अभियानमा लाग्न सुझाव दिएका छन् ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६३ र १६४ मा ट्राफिक प्रहरी र यातायात निरीक्षकले जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ ।

विगतमा अधिकतम २ सय रुपैयाँसम्म जरिवाना गरिदै आएको भए तापनि यही जेठ १ गतेदेखि जरिवाना दरमा सात गुणाभन्दा बढी बृद्धि हुने गरी नयाँ नियम लगाइएको यातायात व्यवसायी बताउँछन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडका प्रमुख ढुण्डीराज गिरीले २०७२ साल असोज १४ गतेको राजपत्रमा प्रकाशित गरेर सरकारले जरिवाना सम्बन्धी नयाँ नियम लागू गरेको बताए ।

राजपत्रमा तोकिए बमोजिम न्यूनतम ५ सय र अधिकतम १ हजार ५ सय रुपैयाँ जरिवाना गर्न सकिने भए तापनि ट्राफिक प्रहरीले हाल अधिकतम ५ सय रुपैयाँ मात्र जरिवाना गराउँदै आएको गिरी बताउँछन् ।

उनका अनुसार नयाँ प्रावधान अनुसार हेल्मेट नलगाइ मोटरसाइकल चलाएमा, छतमा यात्रु बोकेमा, गलत पार्किङ गरेमा, तोकिएभन्दा बढी वजन बोकेमा, आवागमनमा अवरोध पुर्याएमा ट्राफिक प्रहरीले तत्कालै ५ सय जरिवाना गराउन सक्ने छ ।

त्यसैगरी, लाइसेन्स बेगर सवारी चलाएमा, दुर्घटना गरी सम्पर्कमा नआएमा, मदिरा पिएर सवारी चलाएमा र लाइसेन्स नभएको व्यक्तिलाई सवारी चलाउन दिएमा एक हजार रुपैयाँ जरिवाना गरिने गिरी बताउँछन् ।

सवारी सङ्केत पालना नगरेमा, निषेधित क्षेत्रमा पार्किङ गरेमा, गलत साइडमा सवारी चलाएमा, बढी रफ्तारमा चलाएमा, राति बत्ती नबाली चलाएमा, नम्वर प्लेट नराखी चलाएमा, बढी भाडा लिएमा र कागजपत्र नबोकी सवारी चलाएमा १ हजार ५ सय रुपैयाँ जरिवाना गरिने व्यवस्था गरिएको छ ।

गृह मन्त्रालयले तत्काल यस्तो व्यवस्था कार्यान्वयन नगराउन निर्देशन दिए तापनि ट्राफिक प्रहरीले १५ प्रतिशत कमिसनको लोभमा परेर जेठ १ गतेदेखि एकपक्षीय रुपमा नियम लादेको व्यवसायीको आरोप छ ।

जरिवाना बढाउँदा र सार्क मुलुकभर सवारी चलाउन पाउने सम्झौता गर्दा सरकारले व्यवसायी एवम् मजदुर पक्षसँग कुनै सल्लाह नलिएको उनीहरूको गुनासो छ ।

‘भारत लगायतका मुलुकका सवारी साधनले नेपालभित्र आइ यात्रु तथा मालसामान ओसार्न पाउने हो भने हामीले उनीहरूसँग कम्पीटिसन गर्नै सक्दैनौँ’, रिजाल भन्छन्–‘यो सम्झौताले अरबौँ लगानी रहेको स्वदेशी यातायात व्यवसाय धराशायी हुने निश्चित छ ।’

सरकार स्वदेशी व्यवसायी र मजदुरको हित विपरीत कार्यमा लागेको कारण आम यात्रुलाई असुविधा हुने बन्द हड्ताल जस्तो कडा विरोध कार्यक्रममा लाग्न बाध्य हुनु परेको उनको भनाइ छ ।

यातायात व्यवसायी र मजदुर सङ्गठनहरूले वुधवार काँकरभिट्टामा कोणसभा गर्दै विहीवारको चक्काजाम सफल पार्ने उद्घोष गरेका छन् ।
आन्दोलन परिचालन कमिटीका संयोजक तथा अखिल नेपाल यातायात मजदुर सङ्गठनका केन्द्रीय सचिव भूपाल ओलीको नेतृत्वमा भएको कोणसभामा पूर्वी नेपाल यातायात व्यवसायी सङ्घका अध्यक्ष केशव गिरी, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका मेचीनगर इकाई अध्यक्ष खडानन्द भण्डारी, अखिल नेपाल यातायात मजदुर सङ्घका इकाइ इञ्चार्ज हरि निरौला, महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषका उपाध्यक्ष दुर्गाराम अर्याल, मेची वस व्यवसायी सङ्घका उपाध्यक्ष विष्णु श्रेष्ठ, नेपाल यातायात मजदुर सङ्घका केन्द्रीय सदस्य बसन्त तिवारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल यातायात मजदुर सङ्घका मेचीनगर अध्यक्ष गोपाल शिवाकोटीको सञ्चालनमा भएको कोणसभामा सयौँ मजदुर तथा यातायात व्यवसायीको उपस्थिति रहेको थियो ।

चक्काजाममा उत्रिएका यातायात व्यवसायी सम्बद्ध संस्थाका नेताहरूले सरकारले संशोधित सवारी जरिवाना सम्बन्धी नियमको कार्यान्वयन स्थगन गरेर सम्वाद थालेमा आन्दोलन स्थगित गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: