जसको नाम सुन्दै पञ्चहरू काम्थे

  प्रकाशित मिति
२६ श्रावण २०७३, बुधबार १३:५५


bhu bikramआदरणीय भूविक्रम नेम्वाङलाई म पहाडमा छँदादेखि नै जान्दछु । उहाँ पाँचथरको मान्छे, म इलामको । उहाँ नेपाली काङ्ग्रेसको राजनीतिक अभियानमा जोडिएर इलाममा आइरहनु हुन्थ्यो । उहाँको नाम सुन्दा पञ्चहरू थर्थर काम्थे ।

पहिलोपल्ट मैले उहाँलाई इलाममा २०११ सालमा देखेको हुँ । म सानै थिए । इलाममा बसेर २००८ सालदेखि नै उहाँ पढ्ने गर्नु हुँदोरहेछ । उहाँ इलामको विद्यार्थी नेता हुनुहुन्थ्यो । सीताराम नामका तत्कालीन बडाहाकिमले स्थानीय पञ्चहरूको सल्लाहमा स्कुलमा जोशी थरका हेडमास्टर नियुक्त गर्न लागेका थिए । विद्यार्थीले त्यसको कडा विरोध गरे । दिनुहँ विरोध जुलुस र नारावाजी हुन्थ्यो । विद्यार्थीमध्येका भूविक्रम मुख्य नेता थिए । त्यस घटनामा उहाँले आफ्नो नेतृत्व कौशल देखाउनु भएको थियो । पछि शासकहरूले विद्यार्थी विद्रोहमाथि भयङ्कर दमनचक्र चलाए । भूविक्रम सानै उमेरमा पक्राउ पर्नु भएको थियो ।

पञ्चायतकालीन कठोर समयमा पार्टी काममा निडर भएर खटिनु हुन्थ्यो । पाँचथरबाट इलाम झर्दा र इलामबाट पाँचथर चढ्दा उहाँ हाम्रो गाउँमा बास बस्नु हुन्थ्यो । त्यसको कारण के थियो भने प्रजातन्त्रबादी योद्धा गङ्गाबहादुर बस्नेत उहाँको साह्रै मिल्ने साथी हुनुहुन्थ्यो । जसको घर हाम्रै साँखेजुङमा थियो ।

हाम्रो गाउँ साँखेजुङ उहाँको ससुराली घर नै हो । एक पटक हाम्रा गाउँतिर आएका बेला पुलिसले घेराउ गरेछ । धेरै खोज्दा पनि पक्राउ गर्न सकेन । कारण के रहेछ भनेर खोजी गर्दा पत्ता लाग्यो, उहाँ एउटा साधारण गाउँलेको भेषमा डोको बोकेर पुलिसको घेराबाट उम्किसक्नु भएको पो रहेछ । उहाँसँग बेजोड युद्ध कौशल थियो । सभामा बोलेर आफुतिर आम मानिसको आकर्षण तान्नेदेखि फौजी भिडन्तका लागि उहाँलाई अरु कसैले भेट्न सक्दैनथे ।

नेपाली काङ्ग्रेससँग जीवनका पछिल्ला दिनमा उहाँ सन्तुष्ट हुनुहुन्थेन । यसका धेरै कारण छन् । उहाँले आफ्नो जीवनमा अन्तिम स्वास्थ्य उपचार हाम्रै विर्ता सिटी हस्पिटलमा गर्नु भयो । त्यहाँ रहँदा पनि उहाँ काङ्ग्रेससँग असन्तोष नै व्यक्त गर्नु हुन्थ्यो ।

उहाँ काङ्ग्रेसका आदर्शवान नेता हुनुहुन्थ्यो । उहाँले आफ्नो जीवनको उर्वर समय काङ्ग्रेसलाई दिनु भयो । काङ्ग्रेसबाट उहाँले केही लिनु भएन, चाहनु भएन । चाहेको भए उहाँका लागि मन्त्री पद कान्छी औँलाको खेल सरह हुन सक्थ्यो । उहाँको आग्रहलाई अस्वीकार गर्न स्वयम् गिरिजाप्रसाद कोइरालालाई नै गाह्रो थियो । पदप्रति उहाँको कहिल्यै आशक्ति थिएन ।

उहाँले यो संसार त्याग्नु भयो । मैले अघि पनि उल्लेख गरेँ, उहाँले काङ्ग्रेसलाई छाड्नु भयो । तर उहाँलाई कहिल्यै काङ्ग्रेसले छाडेन । काङ्ग्रेसका समर्थक र नेताहरूले उहाँलाई अगाध श्रद्धा गरिरहे । मृत्युपछि उहाँको घरमा भेला भएका मानिसमा अधिकांश काङ्ग्रेस नै थिए । मलामी पनि धेरै काङ्ग्रेस नै । उहाँहरूले नै काङ्ग्रेस बनाउनु भएको हो । उहाँ जस्तो साहसी क्रान्ति योद्धा नभइदिएको भए काङ्ग्रेस इतिहासमा विलय भइसकेको हुन्थ्यो । पञ्चायतले काङ्ग्रेसलाई धुलीसात पारिसकेको हुन्थ्यो । तर भूविक्रमहरू सङ्घर्षको क्रममा कहिले जेलमा, कहिले निर्वासनमा र कहिले भूमिगत हुनु भयो । कहिल्यै पञ्चायतसँग झुक्नु भएन ।

उहाँ आफ्नो विचार र आस्थालाई कहिल्यै ढल्न नदिने सतिसाल हुनुहुन्थ्यो । मर्न तयार हुने, तर हार नस्वीकार्ने । कहिँ न कहिँ काङ्ग्रेसका ठूला नेताको नराम्रो व्यवहारले उहाँको दिल दुख्यो होला । त्यसैकारण पछिल्ला दिनमा उहाँ काङ्ग्रेससँग पनि लत्रिन जानु भएन । बरु नेताहरू शीर निहुर्याउँदै उहाँलाई भेट्न घरैमा पुगिरहन्थे । परिस्थिति जतिसुकै प्रतिकूल होस्, उहाँ जुझ्नु हुन्थ्यो, सम्झौता गर्नु हुन्थेन ।

उहाँ साँच्चिकै गुरिल्ला (छापामार) योद्धा हुनुहुन्थ्यो । २०१७ सालमा राजा महेन्द्रले बन्दुकका बलमा प्रजातन्त्रको हत्या गरेपछि उहाँले महेन्द्रको बन्दुके कदमलाई बन्दुकबाटै जवाफ दिनु पर्ने धारणा राख्नु भएको थियो ।

उहाँ क्रान्तिको गफ होइन, काम गरेर देखाउने मान्छे हुनुहुन्थ्यो । पाँचथरमा एक प्रहरी चौकीमा रेड गरेर उहाँले बन्दुक खोस्नु भएको थियो । उहाँकै कमान्डमा रहेको मुक्ति सेनाले इलामको एउटा गाउँमा भएको भिडन्तमा तत्कालीन शाही सेनालाई लखेट्नु भएको थियो । पञ्चायती शासकले २०१८ सालमा उहाँको टाउकाको मोल ५० हजार रुपैयाँ तोकेको थियो ।

काङ्ग्रेस छाडेपछि उहाँ जातीय पहिचानबादीसँग नजिकिनु भएको चर्चा पनि चलेको थियो । त्यसबारेमा मलाई त्यति जानकारी छैन । उहाँ धर्म र जातको आधारमा हुने सबै प्रकारको विभेदको विरोधी हुनुहुन्थ्यो । उहाँले विहेमा बाहुन क्षेत्रीकै परम्परा अङ्गाल्नु भएको थियो । पत्र लगाएर उहाँ हाम्रो गाउँमा वरियात लिएर आउनु भएको थियो । त्यसबेला लिम्बु चलनमा माइत ससुराली जाँदा थुन्चेमा सुँगुर र कुखुराको मासु बोकेर लैजान्थे । तर उहाँले त्यस्तो चलन स्वीकार गर्नु भएको थिएन ।

उहाँ आफ्नो स्वास्थ्यप्रति लापर्वाही गर्नु हुन्थ्यो । हस्पिटलमा बस्नै नमान्ने । जतिखेर पनि ‘मलाई घरैमा लैजाओ’ भन्ने गर्नु हुन्थ्यो । हाम्रा डाक्टरहरूले उहाँको स्वास्थ्यमा सुधार ल्याउन डायलासिस गर्नु पर्छ भन्ने सल्लाह दिएका थिए । उहाँ नै डायलासिस गर्न नमान्ने । ‘पर्दैन, आफै ठिक भइहाल्छ’ भन्ने उहाँको पटकपटकको भनाइ रह्यो ।

विरामले च्यापेर गाह्रो पारिरहेको बेला पनि उहाँ हरेस नखाने मान्छे हुनुहुन्थ्यो । उहाँलाई अहिलेकै विरामले मृत्यु नजिक पुर्याउँछ भन्ने कहिल्यै लागेन । उहाँलाई अझै बाँच्छु भन्ने थियो । तर जीवनमरणको लडाइँमा उहाँलाई मृत्युले जित्यो । हामीले एक होनहार नेता गुमाएका छौँ । आज देश र जनतालाई दिनेभन्दा पनि फाइदा लिनेहरू बढेका छन् । नयाँ पुस्तामा राजनीति एउटा आदर्शले ओतप्रोत भएको समाजसेवाको माध्यम हो भन्ने बुझाउन हामीले भूविक्रम नेम्वाङको जीवनीलाई उदाहरण बनाउन सक्छौँ । लोकतान्त्रिक इतिहासमा सुनौलो अक्षरले लेखिने नाम हो भूविक्रम । म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्दछु ।

(२०७३ साउन २६ गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: