जहाँ कलह, त्यहाँ बर्वादी

  प्रकाशित मिति
२४ असार २०७७, बुधबार १३:५०


केशवप्रसाद ढुङ्गेल

दाजुभाइ एक आपसमा मिल्न नसक्दा रावणले नमीठो हार मात्र होइन मृत्युवरण गर्नुपरेको थियो । आन्तरिक कलहले नै हस्तिनापुर क्षतविक्षत भएको थियो । नेपालमा दश वर्षे युद्ध अनि हजारौँको मृत्युको कारण पनि गृहकलह नै थियो । आन्तरिक कलह नै देशको बर्वादीको मुख्य कारण हो । देश विकासको बाधक कुनै तत्व छ भने त्यो हो गृहकलह । संसारका ती देशहरु जीर्ण र जर्जर छन् जहाँ घर झगडा छ ।

भारतले हाम्रो सार्वभौमिकतालाई कुल्चँदै हाम्रो भूमिमा बाटो निर्माण मात्र गरेन अपमान पनि गर्दै आएको छ । हामीलाई सधैँ छिमेकीले हेप्छ, किन ? यस विषयले अहिले घनिभूत रुपमा चर्चा पाएको छ । परनिर्भरताबाट त्राण पाउन कसरी सकिन्छ भनी सबै बाटो खोज्दैछन् । समस्याहरु एकमाथि अर्को गाँजिदै छन् । अहिले निकासीमा पनि समस्या देखिन थालेको छ । समस्याको कूटनीतिक समाधानको खोजी गर्ने निकाय गतिहीन छ । युवाहरु कोही अरबको तातोमा पिल्सिन बाध्य छन् भने कोही मातृ पार्टीको आज्ञा पालना गर्न सङ्व्रmमणको वास्ता नगरी सडकमा छन् ।

हामी कहिलेसम्म नेताको पिछलग्गु भएर फोहोरी राजनीतिलाई मलजल गर्न सघाइरहने ? हामीले गम्भीर रुपले कहिल्यै विचार गरेका छौँ कि हाम्रा नेतृत्व कसरी र कहाँबाट परिचालित छन् ? अब त हामीले प्रश्न गर्ने बेला भएको छ के नेताले सही रुपमा नेतृत्व गरिरहेका छन् ? कि हामी उनीहरुका सत्ता प्राप्तिका लागि भर्याङ मात्र बनिरहेका छौँ ? अहिले नेपाली राजनीति भन्ने बित्तिकै भ्रष्टाचार, सांसद अपहरण तथा किनबेच गर्ने, कुनै अमुक जासुसी संस्थाको गुप्तचरीको काम गर्ने र व्यक्तिगत स्वार्थपूर्तिका लागि दुतावास धाउने, डनहरुलाई संरक्षण गर्ने भनेर बुझिन थालेको छ । समयको पदचापले पनि त्यही पुष्टि गर्दै लगेको छ ।

भनिन्छ एउटा पुस्ताले राष्ट्रका लागि समर्पित भएर काम गर्यो भने आउने पुस्ताले सुख पाउँछ । हाम्रा पुर्खाले दुःख गरेकैले हामीले नेपाली भएर बस्न र सगौरव बाँच्न पाएका छौँ । आज राष्ट्रिय स्वार्थलाई व्यक्तिगत स्वार्थले किचेको छ । पद प्रतिष्ठा र शक्ति हासिल गर्न नैतिकता बन्धक बनेको छ । हाम्रो इतिहास गौरवपूर्ण छ, त्यो त्यसवेलाको नेतृत्व र हाम्रा पुर्खाको निष्ठा र देशप्रतिको अगाध प्रेमका कारणले नै हो । हाम्रा वीर पुर्खाले आपूmलाई बलिदान दिँदै देशको रक्षाका लागि लडेका थिए । आफ्नो पौरखले विशाल भूगोलको नक्सा कोरेका थिए । औपचारिक शिक्षा पाएका थिएनन् तर व्यवहारमा निपुण थिए त्यसैले त देश बचेको थियो ।

आजको नेतृत्वमा देशभक्ति छैन र भएका केहीमा पनि नेतृत्व गर्ने आँट छैन । केही समयदेखि दृष्टिविहीनहरुले हात्ती छामे जसरी चलिरहेको छ देश । यसो पनि भन्न सकिन्छ कि हामीले नालायकहरुलाई लायक मानेर दशकौँदेखि देश चलाउन दिएका छौँ । त्यसैले त आज हाम्रो देश विदेशीहरुको अवाञ्छनीय गतिविधि गर्ने मैदान बनेको छ । भुपीले भनेजस्तो हामी आफू कहिल्यै मिल्न नसक्ने भयौँ । हाम्रो कलह मिलाउन उत्तरबाट कान्छी र दक्षिणबाट बडे भैयाहरु आउनै पर्ने भयो । अनि हामी कोही विदेशी चलखेल बढ्यो भनेर कुर्लँदै छौँ । वास्तवमा हाम्रो यथार्थ यहाँभन्दा पर छैन ।

हामीले पटकपटक व्यवस्था फेर्यौँ तर विदेशीका दलाल नक्कली राष्ट्रवादी विश्वासघाती अनुहारहरु फेर्न सकेनौँ । न तिनलाई समयमा नै चिन्न सक्यौँ । फलस्वरुप देश अग्रगमनतिर होइन पश्चगमनतिर गइरहेको छ । दश वर्षे जनयुद्धको नाममा समाजको भाइचारा टुट्यो । हामी दाजु र भाइ फरक कित्तामा उभ्याइयौँ । क्रान्तिको नाममा एउटै आमाका सन्तानलाई कहिले राज्यका तर्फबाट अनि कहिले विद्रोहीका तर्फबाट लडायौँ र मार्यौँ । जसलाई हामीले महान जनयुद्ध भन्यौँ, त्यसले गरीब नेपालीको रगत मात्र खाएन नेपाललाई बीस वर्ष पछाडि पनि धकेल्यो ।

हामी रुपमा बरालियौँ सारमा हामीले केही बुझेनौँ । हाम्रो भूगोल, रष्ट्रियता, भाइचारा र इतिहास बिर्सेर पटकपटक हामी जानेर नजानेर विदेशीको नजिक भयौँ अनि उनीहरुकै इसारामा चल्यौँ । खासमा हामी परिचालित भयौँ स्वचालित हुन सकेनौँ । फलस्वरुप प्रजातन्त्र प्राप्तिपछि पनि जनता भोकै, रोगै बस्नुपर्ने अवस्था सृजना भइरह्यो । हामीले राणा फ्याक्यौँ, शाही फ्याक्यौँ, पुराना पद्धति र प्रणाली फ्यााक्यौँ तर पनि हामीले सनातनी जीर्ण सोच र खराब प्रवृत्ति फ्याँक्न सकेनौँ । आज जनताले बलीदान गरी ल्याएको लोकतन्त्रमा पनि उही अनुहार निर्णायक तहमा छ । व्यवस्था फेरिएर के गर्नु पात्र र प्रवृत्ति उही रह्यो ।

राजनीति नीतिहरुमा मूल नीति हो । यसको सही प्रयोगले देशले विकासको रेखा कोर्ने हो । हुन त समाज अनुसारको नेतृत्व हामीले पाउने हो । आज पनि हाम्रो समाजले राजनीतिलाई पेशाको रुपमा स्वीकार गरेको छ । जबसम्म समाजले पेशा र सेवाबीच फरक छुट्याउन सक्दैन तबसम्म राजनीतिको चरित्र बदलिँदैन ।

उन्नति र विकासभन्दा ठूलो कुरा हो स्वाभिमान र राष्ट्रियता । अहिले यी दुबै कुरा कमजोर भएका छन् । जबजब हामी कुनै विपत्तिमा हुन्छौँ तबतब छिमेकी हाम्रो कमजोर क्षेत्रमा प्रहार गरिहाल्छ । वषौँदेखि उसले हामीलाई हेप्दै पेल्दै आएको छ । त्यसको वातावरण हामी आफैँले निर्माण गरेका हौँ । केही धुन्धुकारीहरु पनि हाम्रामा छन् जो आवरणमा त नेपाली नै हुन् तर काम अर्काको गर्छन् । राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई बिर्सेर वैयक्तिक स्वार्थमा लागेका छन् । यस्ता विभिषण प्रवृत्तिका नेता रहुञ्जेल हामी आफ्नो देशलाई कहिल्यै सुरक्षित राख्न सक्दैनौ ।

सत्ताको लडाइँ र पदीय भागवण्डाको खेलले हामीलाई फुर्सद नै छैन । हामी आपसमा कहिल्यै मिल्न सकेनौँ त्यसैको फाइदा छिमेकले उठायो । नेपालीमा एउटा उखान निकै चर्चित छ, हगिसक्यो अनि दैलो देख्यो । समयमा कुनै काम हुन सकेन भने पछि त्यो विकराल बन्छ । त्यही भएको छ अहिले । आफ्नै भूमिमा विदेशीले परेड खेल्दैछ आज । वीर गोर्खाली भनेर नाम कमाएका हामी अन्यायका विरुद्धसमेत बोल्न सक्दैनाँै । यति कायर किन भएका छौँ हामी आज ?

हामीले न बुद्धको सत्यतासँग चल्न जान्यौँ न गोरखालीको वीरताको बाटो नै पहिल्याउन सक्यौँ । हामी त आफ्ना जनता बेचेर रेमिट्यान्स भित्राएकामा मग्न मस्त भयौँ । हामीमा लाज इमान सबै हराइसक्यो । त्यो विशाल गोरखालीको विरासत बोकेका हामी आज आफ्नै भूमि रक्षा गर्नसमेत नसक्ने भएका छौँ ।

एकातिर कोरोनाका कारण समस्या जटिल बन्दै गएको छ भने अर्कातिर छिमेकीले भूमि अतिव्रmमण गरेको छ । देख्नका लागि यो कालापानी लिपुलेक र लिम्पियाधुरामा भएको छ तर यो समस्या मेचीदेखि महाकालीसम्म नै रहेको छ । सत्तारुढ दल आपसमा झगडा गरिरहेका छन् । विपक्षी दल र नागरिक समाज सरकारलाई गाली गरिरहेका छन् ।

सत्तारुढभित्रै एकले अर्कोलाई खुइल्याउने काम जारी छ । लाखौँको सङ्ख्यामा नेपाली विदेशमा अलपत्र छन् । उनीहरु त्यहाँ कष्टकर जीवन बिताइरहेका छन् । कयौँ दिनदेखि कत्तिले खान पाएका छैनन् । ती आफ्ना अभिभावक कुर्दै छन् ।

कुनै पनि देशको मुख्य सम्पत्ति भनेको त्यस देशका जनता नै हुन् । उनीहरुको रेखदेख भरणपोषण तथा अभिभावकत्व राज्यको दायित्व हो । आपत्को वेलामा केही गर्न नसके पनि ढाडससम्म दिनु राज्यको काम हो । महामारीको चपेटामा परेकै वेलामा पनि कमिसनको खेती गरेको भनेर केही सँस्था र व्यक्ति आलोचित छन् । त्यो कुराको छानबिन गरेर सरकार भएको अनुभूति दिलाउन ढिला गर्नु हुँदैन । हामी छलफल र बहस गरौँला तर पहिले देश रहनुपर्यो । भाइ फुटे गवार लुटे भनेझैँ हामी विभक्त भइरहने हो भने हाम्रो सार्वभौमिकता रहँदैन । हामी जुनसुकै पार्टीका भए पनि पहिले नेपाली हौँ । नेपाल संसारभर छरिएर रहेका नेपालीको पनि आस्थाको घर हो ।

अहिले सत्तारुढमा दलमा आन्तरिक कलहको आगो दन्किएको छ । त्यसले देश र जनताको लागि कदापि भलो गर्दैन । यो समय सत्ताको जोडघटाउ गर्ने बेला होइन । यो विषम परिस्थितिबाट त्राण पाउन जोडिएर लड्ने बेला हो । आजसम्म कसले के गर्यो वा के गरेन भनेर समय व्यतित नगरौँ । अहिल्यैबाट हामी देशको रक्षाका लागि एक भएर अगाडि बढौँ ।

हाम्रो समाज काममा भन्दा कुरामा बाँचेको छ । कामको महत्व बुझेर सबै लागौँ । साधन स्रोतविहीन सरकारबाट धैरै आशा के राख्नु ? तर पनि भएको सीमित साधन स्रोतलाई अधिकतम सदुपयोग गर्न सके देश पक्कै पनि लाभान्वित हुनेछ । वषौँदेखि हल हुन नसकेको सीमा समस्या सुझबुझका साथ हल गर्ने दिशामा तत्काल लागौँ । यो राजनीतिक विषय रहँदारहँदै पनि सीमाविद, परराष्ट्रविद, कूटनैतिक नियोगका विज्ञहरुसँग उचित छलफल तथा परामर्श गरी समस्याको दीर्घकालीन समाधान निकालौँ । अहिले देशका सम्पूर्ण जनता र राजनीतिक दल एकत्रित भएका वेला नेतृत्व बलियोसँग देशको सार्वभौमिकता जोगाउन लागोस् । सबै नेपालीले अहिलेको बहुमतीय सरकारलाई विश्वास गरेका छन् । सरकारले खोव्रmा भाषणमा भन्दा कार्य सम्पादनमा ध्यान देओस् । सबै एक जुट भएर राष्ट्रियताको पक्षमा उभिऔँ । नेपाली हामी रहौँला कहाँ नेपालै नरहे ।

(लेखक अधिवक्ता हुन् ।)
[email protected]

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: