जहाँ कहिल्यै फोहोर हुँदैन

  प्रकाशित मिति
१२ पुष २०७३, मंगलवार १३:०९


dustbin-kvt तपाई चकलेट र गुट्खा खाएर खोल कहाँ फ्याँक्नु हुन्छ ? सडकमा कि डस्टविनमा ?

नेपालको सुदूरपूर्वी नगर काँकरभिट्टाको सूर्योदय चोक (पुरानो सुपारी लाइन)मा पुग्नु भएको छ र त्यस्ता कुनै पनि फोहोर सडकमा फ्याक्नु भयो भने तपाइँ कार्वाहीमा पर्न सक्नु हुन्छ । किनकि, त्यस चोक र वरपर फोहोर सडकमा फाल्न स्थानीय व्यवसायीहरूले निषेध गरेका छन् ।

सूर्योदय चोकबाट पश्चिम (पुरानो सुपारी लाइन)मा मेचीनगर नगरपालिकाले व्यापार प्रबर्धनका लागि लहरै २५ वटा पक्की पसल घर सञ्चालनमा ल्याएको छ । तिनै पसलका व्यवसायीमध्ये पूर्व तर्फका केहीले ५ महिना अघिदेखि यस्तो नियम बनाएका हुन् ।

चोक र पसलमा आएर जसले फोहोर मिल्काउँछ, पसलेहरूले उनीहरूलाई बोलाएर आफै फोहोर उठाएर डस्टविनमा फाल्न बाध्य बनाउने गरेका छन् ।

नगरपालिकाको १ नं. पसलका सञ्चालक भुपाल शिवाकोटी, ३ नं. पसलका सञ्चालक हस्त आङदेम्बे, ४ नं. पसलका सञ्चालक रुद्र पोखरेल, ५ नं. पसलका सञ्चालक गोपाल सुबेदी लगायतले सरसफाईका लागि उपभोक्ता वा सर्वसाधारणमा चेतना जगाउन यस्तो नियमको सुरुवात गराएका हुन् ।

‘सुरु सुरुमा चकलेट खाँदै फुत्त फुत्त खोल सडकमा फ्याँक्ने सर्वसाधारणलाई बानी लगाउन निकै हम्मे पर्यो’, अभियन्ता भुपाल शिवाकोटी भन्छन्–‘तर हामी सरसफाइको चेतना जगाउने राम्रो काममा हरेस खाएनौँ ।’

केही दिन अघि झापाकै एक प्रमुख राजनीतिक दलका जिल्ला नेताले फलफुल खाएर सूर्योदय चोकमा बोक्रा फ्याँके छन् । मोटरसाँइकल चढेर हिड्न लागेका उनलाई स्थानीय पसलेले बोलाएर बोक्रा टिप्न लगाए । ‘सरी है’ भन्दै उनले डस्टविनमा बोक्रा फ्याँके ।

हरेक पसल अघि एक एक वटा डस्टविन राखिएका छन् । ‘हामी आफु पनि फोहोर गर्दैनौँ, अरुलाई पनि गर्न दिदैनौँ’–सूर्योदय चोकमै रहेको अतिथि होटलका प्रोपाइटर श्याम कार्की बताउँछन् ।

विदेशमा फोहोर गर्न नपाइने नियमबाट प्रेरित भएर नै सूर्योदय चोकका व्यवसायीले डस्टविन प्रयोग गर्नु पर्ने नियम लागू गराएको अभियन्ता शिवाकोटी बताउँछन् ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: