जहाँ बिरामी जाँचेको र औषधिको पैसा लाग्दैन

  प्रकाशित मिति
१ फाल्गुन २०७६, बिहीबार १४:४०


झुलन रेग्मी

मेचीनगर । सुन्दा अचम्म लाग्न सक्छ । जहाँ २५ वर्षदेखि बिरामीको स्वास्थ्य जाँच निशुल्क गरिदै आएको छ । यतिमात्रै होइन, जाँच गरेपछि चाहिने औषधि पनि सित्तैमा पाइन्छ ।

मानवीय सेवाभावले खोलिएको जैन होमियोपेथिक चिकित्सालयले निरन्तर स्वास्थ्य सेवामा काम गरिरहेको छ ।

२५ वर्षअघि मेचीनगरको धुलाबारीमा जैन तेरापन्थ युवक परिषदले गरिबदुखी बिरामी स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् भन्ने उदेश्य राखी सेवा सुरु गरेको थियो । जुन सेवा आज पनि निरन्तर चलिरहेको छ ।

मेचीनगरको धुलाबारीस्थित अतिथि सदनमा उक्त होमियोपेथिक चिकित्सालय सञ्चालनमा छ । दुईवटा कोठा भाडामा लिएर जैन तेरापन्थले निशुल्क सेवा दिने काम गरेको हो । जैन तेरापन्थ मारवाडी समुदायको युवा सङ्गठन पनि हो ।

मानवीय सेवा नै धर्म हो भन्ने ठानेर गरिबदुखीको उपचारमा निशुल्क सहयोग गरिरहेको जैन होमियोपेथिक चिकित्सालय सञ्चालन समितिका संयोजक पवन बोथराले बताए ।

‘अहिले पनि पैसा नभएर धेरै मानिसहरु स्वास्थ्य उपचार गर्न सकिरहेका छैनन्,’ उनले भने, ‘तिनै गरिबदुखीलाई लक्षित गरी हामीले सेवा सुरु गरेका थियौं । आजसम्म पनि त्यो सेवा दिन सकिरहेका छौं ।’

उक्त चिकित्सालय हप्तामा दुई दिन मात्रै खुल्छ । सोमबार र शुक्रवार विहान ७ः३० बजेदेखि ११ बजेसम्म मात्रै सेवा दिइन्छ । एउटा कोठामा औषधि राखिएको छ । अर्कोे कोठामा होमियोपेथिक वैद्य केएल राजवंशी बसेर बिरामीको स्वास्थ्य जाँच गर्दछन् ।

वैद्य राजवंशीले बिरामीको चेकजाँच गरेर औषधिको नाम र खाने तरिका सिकाउने गरेका छन् । वैद्यको सल्लाह बमोजिम बिरामीले नियमित रुपमा औषधि सेवन गर्ने गरेका छन् ।
खर्चको स्रोत

निशुल्क सेवाभावले खोलिएको उक्त चिकित्सालय सञ्चालन खर्च जैन तेरापन्थ युवक परिषदले जुटाउने गरेको छ । परिषदले आफ्ना सदस्यबाट आर्थिक सहयोग सङ्कलन गरी चिकित्सकको टोलीलाई पारिश्रमिक, औषधि खरिद गर्ने तथा कोठा भाडा तिर्ने गरिएको संयोजक बोथराले बताए ।

मारवाडी तथा अन्य समुदायबाट प्राप्त रकम नै आयस्रोत भएको उनी बताउँछन् । उनका अनुसार चिकित्सालय सञ्चालनमा वार्षिक चार लाख रुपैयाँ खर्च हुने गरेको छ ।

परिषदले चिकित्सकका लागि मासिक २० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको संयोजक बोथराले बताए । भारतबाट औषधि खरिद गरी ल्याइने गरेको छ । चिकित्सालयले सेवा शुल्क भनेर न्यूनतम् रुपैयाँ भने तोकेको छ ।

सुरुवाती समयमा १० रुपैयाँ टिकट लिइन्थ्यो । अहिले बढाएर २० रुपैयाँ बनाइएको छ । २० रुपैयाँ टिकट काटेपछि स्वास्थ्य जाँच र औषधि लिन पाइन्छ ।

‘यो पैसा अहिलेको समयमा केही होइन जस्तो लाग्छ,’ उनले भने, ‘यो त केवल प्रक्रियाका लागि मात्रै हो ।’ बिरामीबाट लिइने टिकट शुल्कवापतको पैसा चिकित्सालय सञ्चालनकै निम्ति खर्च गरिदै आएको परिषदका पूर्व अध्यक्ष मन्जित जैनले बताए ।
अढाइ लाखको निशुल्क उपचार

जैन होमियोपेथिक चिकित्सालयबाट अहिलेसम्म २ लाख ५० हजार जनाले सेवा लिइसकेका छन् । २५ वर्षे सेवामा नेपाल तथा भारतका बिरामीले स्वास्थ्य उपचार पाएको परिषदका अध्यक्ष निरज जैनले बताए ।

उक्त चिकित्सालयमा एक पटकमा (हप्तामा दुईपटक) १ सयजना बिरामी सेवा लिन आउने गरेका छन् । नेपालको काठमाडौं, ताप्लेजुङ, इलाम, इटहरी तथा भारतको सिलिगुडी, दार्जीलिङलगायत अन्य क्षेत्रका बिरामीले नियमित रुपमा स्वास्थ्य सेवा लिइरहेको चिकित्सालयले जनाएको छ ।

दीर्घरोगी बिरामी बढी
विशेषगरी दीर्घरोगी बिरामीहरु चिकित्सालयमा उपचार गर्न आउने गरेको वैद्य केएल राजवंशी बताउँछन् । उनका अनुसार ठूला अस्पतालमा उपचार गराइसकेपछि त्यहाँ पार नलागेका बिरामी यहाँ आउने गरेका छन् ।

ग्याष्ट्रिक, सुगर, थाइराइड, अल्सर, प्रेसर, बाथलगायत अन्य रोगका बिरामीले नियमित सेवा लिइरहेको वैद्य राजवंशीले बताए । ‘दश वर्षदेखि पुरानो रोगले गाँजेका मानिसहरु प्रायः आउने गरेका छन्,’ उनले भने, ‘यस्ता धेरै बिरामीहरुले नियमित औषधि सेवन गरिरहेको र निको पनि भइरहेका छन् ।’

नियमित चेकजाँच र औषधि सेवन गरिरहेका मेचीनगरस्थित मागुरमाडी निवासी बलबहादुर श्रेष्ठले चिकित्सालयको औषधिले आफ्नो रोग केही निको भएको बताए । आफू सुगरको बिरामी भएको र यहाँको औषधिले काम गरेको बताउँछन् । चिकित्सालयबाट उनले भदौदेखि सेवा लिइरहेका छन् ।

मानवीय सेवामा मारवाडी
मानवीय सेवामा अन्यभन्दा मारवाडी समुदाय बढी सक्रिय रहँदै आएको छ । कहिले गरिबलाई कपडा, खाद्यान्न त कहिले स्वास्थ्य शिविर आयोजना गरी परोपकारी काममा दिल खोलेर सहयोग हुने गरेको छ ।

धुलाबारी क्षेत्रमा मारवाडी समुदायको शैक्षिक तथा सामाजिक क्षेत्रमा ठूलो लगानी रहेको छ । मारवाडी समुदायका अगुवा पुनित वंशलले सेवाभाव नै सबैभन्दा ठूलो धर्म भएको बताउँछन् । उनी भन्छन्, ‘अरुको दुखमा साथ दिन सकियो भने भगवानले पनि सबै कुरा पुर्याइदिनु हुन्छ । चिकित्सालय त्यही भावनाले खोलिएको हो ।’

यस्तै प्रकृतिको चिकित्सालय भारतका विभिन्न ठाउँमा पनि खोलिएका छन् । सिलिगुडीको झङ्कार मोडमा आचार्य श्री तुलसी डाइगोनोस्ट्रिक सेन्टर सञ्चालनमा छ । जुन ठूलो मध्येको अस्पतालमा पर्दछ ।

जैन समुदायका गुरु आचार्य महाश्रमन श्रीको प्रेरणाबाट सेवाभाव जागृत भएको परिषदका अध्यक्ष निरज जैन बताउँछन् ।

उनका अनुसार विराटनगर र काठमाडौंमा पनि छिट्टै अस्पताल खोल्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: