जानकारी नै छैन असाहयलाई निःशुल्क सेवाको

  प्रकाशित मिति
८ असार २०७३, बुधबार १३:३१


Health-Checkup

केही दिन अघि मेची अञ्चल अस्पताल पुगेको थिएँ विरामी लिएर । १० बजे पुगँे पनि पालो भने १२ बजेतिर मात्र आयो । पालो कुरेर बसिरहेको बेला एक दुई जना अलिक पहुँचवाला जस्ता देखिन्थें । उनीहरु सरासरी पुर्जी लिएर डाक्टर भेट्न ओपिडी कक्षमा प्रवेश गरे । सोझै डाक्टरलाई भेटेर बाहिर निस्के । ती को हुन् म चिन्दिन । तर तिनैमध्येका एक सुकिला मान्छेसँग मेरो जम्मका भेट भयो रेविज विरुद्धको सुई हान्ने कोठामा ।

म पनि मेरो भाईलाई भुस्या कुकुरले टोकेछ र सुई हान्नै लिएर गएको थिएँ । दुई सय पचास रुपैयाँको टिकट काटेपछि भित्रै सुई हान्ने व्यवस्था रहेछ । त्यही अनुरुप गरेर भाईलाई सुई हान्न लगाएँ । ढोकामा भेट भएका ती व्यक्तिको हातमा असाहय लेखेको पूर्जी देखेँ । म छक्क परें । अरे यी व्यक्ति कसरी भए असहाय । के गर्छ अस्पताल पनि ? मैंले बुझ्न सकिन अस्पताल प्रशासनको नीति र नियम ।

सोध्न मन लागेको थियो –‘दाई तपाई असहाय ?’ भनेर सोध्न सकिनँ । अनि बाहिर निस्कदै गर्दा मूल ढोकाको छेउमा रुँदै गरेको एक १० बर्षे बालकसँग भेट भयो । मलाई जान्न मन लाग्यो र त्यतै तिर लागेँ । छेउमै बसेर बालकलाई फकाइ रहेकी उनकी आमालाई रुनका कारण सोधें । उनी सुई हान्नुपरे कारण रोएका रहेछन् । उनी राजघाटका रहेछ । राजमस्त्री काम गरेर विहान बेलुका छाक टार्ने परिवारका उनलाई खेल्न जाँदा गाउँकै कुकुरले टोकेको रहेछ । तर कुकुर धनीले अस्पताल ल्याए पनि सुई हान्नु नपर्ने भन्दै घरै लिएर गएपछि आमा आफैंले लिएर आएकी रहेछिन् ।

उनकी आमा सुई किन्ने पैसा नभएर आत्तिरहेकी थिइन । आज घर लिएर जान्छु अनि भोलि र पर्सी काम गरेर पैसा भएपछि आएर सुई किनी हान्नुपर्ला भन्दै । मलाई अघि ती ढोकामा असहाय लेखेर रेविजको सुई हान्न पसेका सुकिला व्यक्तिको अनुहार झलझली भयो । अनि फर्केर पछाडि हेरेको त असहाय, बृद्धवृद्धा र गरीबका लागि निःशुल्क फारम भर्ने कक्ष भनेर लेखेको देखेँ । सहयोग गर्दा उनको उद्धार नै हुने देखेर त्यहाँ गएँ । तर कसैलाई भेटिन । सानो रुममा एउटा कुर्सी र टेवल मात्र । सोध खोँज गरे तर त्यहाँ बस्ने कर्मचारी कर्ता गए भेट्न सकिन ।

मलाई अस्पताल प्रमुखलाई भेट्न मन लाग्यो र प्रशासन कक्षमा पुगेँ उनी त अघि बाहिर निकिएको खबर पाएँ । अनि त्यहीँ रहेका एक जना डाक्टरलाई भेटेर उनको कुरा सुनाए । उनले काउन्टरमा गएर फर्म ल्याउन भने अनि भर्न सिकाइ पनि दिए । फर्म भरेर अब जानुस् तपाईले निःशुल्क पाउनुहुन्छ रेविजको सुई भनेँ दिदी त छक्क पर्नुभयो । उहाँ मात्र होइन गरीब र असहायको लागि निःशुल्क सेवा मेची अञ्चल अस्पतालमा छ भन्ने धेरैलाई अझै पनि थाहा छैन । त्यसकारण जसलाई थाहा छ उसैले मात्र त्यो सेवा लिइरहेका छन् ।

म जनस्वास्थ्य कार्यालय झापालाई र अञ्चल अस्पतालका प्रमुखलाई अनुरोध गर्न चाहन्छु । कम्तीमा तपाईहरुले गाउँ गाउँमा गएर गरीब, अहसायले निःशुल्क पाउने सेवा सुविधाको बारेमा जानकारी गराउनका लागि । त्यो गरे वास्तविक अहसायले नै सुविधा पाउने थिए कि ?

भद्रपुर–३, झापा

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: