जामुनखाडीमा घुइँचो

  प्रकाशित मिति
३ फाल्गुन २०७२, सोमबार ०४:२६


कनकाई । प्रेम दिवसको उल्लास मनाउन आइतवार झापाको मुख्य पर्यटकीय क्षेत्र जामुनखाडीमा एकै दिन १० हजारको घुइँचो लागेको छ । जिल्लाका अन्य पर्यटकीय स्थलहरूमा समेत युवायुवतीको उपस्थिति देखिए पनि जामुनखाडी सिमसारमा सर्वाधिक भीड उर्लिएको हो ।

‘विशेष उत्सव र विदाका दिन यहाँ सधैँ अवलोकनकर्ताको भीड उर्लिने गर्छ’–जामुनखाडी सामुदायिक वनका सचिव इन्द्र पुलामी बताउँछन् । आइतवार प्रणय दिवसका दिन घुम्न आएका पर्यटकबाट सामुदायिक वनले १ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको इन्द्र पुलामीले जानकारी दिए ।

आइतवार आउने पर्यटकमा अधिकांश नवयुवा र दम्पति थिए । उनीहरू नौका विहार, वाल उद्यान र पिकनिकमा रमाएका देखिन्थे । नवयुवाले एकान्तमा मनका कुरा साटासाट गर्ने थलोको रुपमा यस्ता पर्यटकीय स्थल रोज्ने गरेको पाइएको छ । सभ्य र शान्त रुपमा एकान्तमा गफिने ठाउँ जामुनखाडी सिमसारमा प्रशस्त भएकोले एक दिनभरिका लागि यहाँ घुम्न आएको दमकको एक जोडीले लोकतन्त्र पोस्टलाई बतायो ।

जामुनखाडी सामुदायिक बनको ३४ हेक्टर जग्गामा रमणीय सिमसार क्षेत्र रहेको छ । यहाँ आइतवार एकै दिनमा एक हजार जनाले नौका विहार गरेको तथ्याङ्कले देखाउँछ ।

२०६५ साल माघ १६ गते औपचारिक रुपमा सुरु भएको जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रले सामुदायिक बनको कूल आम्दानीको ७० प्रतिशत हिस्सा ओगट्न थालेको वनका अध्यक्ष परशुराम गिरी बताउँछन् ।

आव २०७१÷०७२ मा यहाँ अढाइ लाख पर्यटक भित्रिएको र त्यस वर्ष वनको कूल आम्दानी एक करोड ५० लाखको हाराहारीमा रहेको थियो ।
बन्य जन्तुको अवलोकन, नौका विहार, झोलुङ्गे पुल, पिकनिक र दृश्यावलोकन यहाँको मुख्य आकर्षण हो । फागुन १ गतेदेखि यहाँ ८ वटा वाल उद्यान थपिएको छ । हाल २१ वटा डुङ्गा यहाँ सञ्चालित छ ।

सामुदायिक वनले पर्यटकीय क्षेत्रमा प्रवेश गरे वापत प्रति व्यक्ति ३० रुपैयाँ लिने गरेको छ भने पिकनिक र नौका विहारको अलग्गै शुल्क लाग्छ ।

पर्यटकीय विकाससँगै वरपरका वासिन्दाको जीवनशैली पनि प्रगति उन्मुख भएको छ । राजमार्गबाट सिमसार क्षेत्रसम्म पुग्न यहाँ दिनभर ३० वटा सिटी रिक्सालाई भ्याइनभ्याइ हुने गरेको छ भने सिमसार क्षेत्र वाहिर ५० वटा होटल सञ्चालन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: