जुनतारा महिला फुटबल क्लब फाइनलमा

  प्रकाशित मिति
१३ आश्विन २०७९, बिहीबार २०:१०


खुदुनाबारी, १३ असोज । जुनतारा महिला फुटबल क्लब अर्जुनधारामा जारी तेस्रो खुदुनाबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

च्यारिटी युथ क्लब (सीवाईसी)ले आयोजना गरेको प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगितामा विहीबार गाईघाट फुटबल क्लब उदयपुरलाई ४–१ गोल अन्तरले पराजित गर्दै आयोजक टिम जुनतारा गोल्डकपको फाइनलमा पुग्ने पहिलो टोली बनेको हो ।

जुनतारालाई ४–१ गोलको फराकिलो अन्तरले जिताउन अनिता लम्जेलले ह्याट्रिक गरिन् । उनले खेलको १४औं मिनेटमा पहिलो गोल गरेकी थिइन् । अनिताले खेलको ५६औं मिनटमा दोस्रो र ६३औं मिनेटमा तेस्रो गोल गरिन् । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गरेकी अनिता उमन अफ दि म्याच घोषित भइन् । उनले ट्रफिसहित नगद एक हजार हात पारिन् । जुनताराका लागि थप एक गोल खेलको ४७औं मिनेटमा लक्ष्मी श्रेष्ठले गरिन् ।

गाईघाट फुटबल क्लब उदयपुरले पाएको पेनाल्टीको अवसर सदुपयोग गर्न बाहेक खेलमा अन्य स्कोर गर्न सकेनन् । दोस्रो हाफमा डि बक्स एरियामा फल्ड भएपछि उदयपुरले पाएको पेनाल्टीलाई सदिवा भोलनले गोलमा परिणत गरिन् ।

जनता सेवेन फुटबल क्लब ईलामलाई क्वाटरफाइनलमा ५–० गोल अन्तरले पराजित गर्दै जुनतारा सेमिफाइनलमा प्रवेश गरेको थियो । उदयपुरले सेमिफाइनल प्रवेशका लागि ताप्लेजुङ फुटबल संघलाई टाईब्रेकरमा ३–१ गोल अन्तरले पराजित गरेको थियो ।

गोल्डकपको दोस्रो सेमिफाइनलमा शुक्रबार पथरी शनिश्चरे महिला फुटबल क्लब मोरङ र धनकुटा महिला फुटबल संघबीच प्रतिस्पर्धा हुने छ । विजेताले उपाधिका लागि फाइनल खेलमा आयोजक टिम जुनतारासँग १६ गते प्रतिस्पर्धा गर्ने छ ।

अर्जुनधारा नगरपालिका–३ स्थित प्रस्तावित प्राकृतिक रंगशालामा जारी गोल्डकपको विजेताले नगद एक लाख १ हजार १११ रुपौयाँ सहित ट्रफी पाउने छ । उपविजेताले नगद ५५ हजार ५५५ सहित ट्रफी पाउने छ । अर्जुनधारा नगरपालिका मुख्य प्रवर्धक रहेको गोल्डकपको सहआयोजक जुनतारा महिला फुटबल क्लब रहेको छ ।

अर्जुनधारा–३ नम्बर वडा कार्यालय प्रर्वधक रहेको गोल्डकपलाई सिग्नेचर ह्विस्कीले मुख्य प्रायोजन गरेको छ । विगतमा दुई वटा संस्करणमा पुरुष फुटबल प्रतियोगिता सञ्चालन भएको खुदुनाबारी गोल्डकपको तेस्रो संस्करणमा यो बर्ष महिला फुटबल प्रतियोगिता सञ्चालन भएको हो । यसअघि २०७४ र ०७५ मा खुदुनाबारी गोल्डकपको पहिलो र दोस्रो संस्करण सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: