दानावारी । साउदी अरबमा जेल जीवन विताइरहेका माई नगरपालिका वडा नं. ४ दानावारीका प्रेमबहादुर राईलाई सकुशल मुक्त गराउन सहयोग समिति गठन गरिएको छ ।
राई केही महिना अघि वैदेशिक रोजगारीको लागि ड्राइभिङ भिसामा साउदी अरबमा पुगेका थिए ।
दुर्भाग्यवश उनले चलाएको गाडीबाट कम्पनीको ९५ लाख मूल्य बराबरको सामान हराएपछि त्यसको सजाय उनलाई बोकाइएको छ ।
त्यहाँको कानून अनुसार उनलाई २ महिना जेल र ५० कोर्रा सजाय सुनाइसकिएको छ भने ९५ लाख क्षतिपूर्ति तिर्नु पर्ने भएको छ ।
राईले आफुले सामान नचोरेको भन्दै निर्दोष भएको बयान दिदै आए पनि उनको कम्पनी र कानूनले परिबन्दमा पारेर उनलाई नै दोष थुपारेको छ ।
उनलाई सकुशल जेलमुक्त गराउन स्थानीय सञ्चारकर्मी चन्द्रबहादुर कुलुङ राईको संयोजकत्वमा प्रेम राई बचाऊ अभियान गठन गरिएको छ ।
समितिले हाल ५० लाख रुपैयाँ उठाइसकेको छ भने अब ४० लाख सङ्कलन गर्न बाँकी छ । रकम सङ्कलन गरेर पठाउन सके उनी स्वदेश फर्कने पक्का भएको अभियानमा जोडिएका पूर्व सांसद प्रेमबहादुर गिरी बताउँछन् ।
अभियानमा संलग्न खगेन्द्र लिङ्देनका अनुसार राईको पत्नी सरिता, ७ वर्षीय छोरी र १८ महिने छोरा घरमा छन् ।
केही दिन अघि फोनमा सम्पर्क हुँदा प्रेमबहादुरले ‘अब घर फर्किने आशा मर्दै गएको छ, तिमीहरु आँटले गरिखानु’ भनेको जानकारी गराएकी छन् ।
अभियानमा सुमन्ता राई, होमनाथ दुलाल, सीताराम भट्टराई, कैलाश श्रेष्ठ, प्रेम उपरकोटी, अमर परियार, चित्रा फागो, लक्ष्मी राई, कञ्चन काफ्ले, चन्द्रा तामाङ, बन्दना श्रेष्ठ, जानुका राई, राजु श्रेष्ठ, राजा साँवा, राजेन्द्र बुढाथोकी, प्रेम मगर, याम मगर, तिलक योञ्जन, लोकप्रिय खनाल, खगेन्द्र लिङ्देन, रमेश समदर्शी, दिपीन राई लगायत रहेका छन् ।