जे रोप्यो त्यही फल्छ

  प्रकाशित मिति
२१ श्रावण २०७४, शनिबार ११:५५


gobinda-neupane

बीबीसीद्वारा प्रसारित साझा सवालमा प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यव्रmमका प्रश्नकर्ता सागर ढकाललाई दिएको जवाफ सोसल मिडियामा भाइरल बन्यो । प्रश्न ठीक थिएन भन्ने र उत्तर गलत भन्नेहरु पनि प्रशस्तै भेटिए । प्रश्नकर्ताले आफ्नो प्रश्नको मर्यादा राख्न नसके पनि सरकार प्रमुख देउवाले जवाफको मर्यादा राखेको भए हुनेथियो भन्नेहरुको पनि कमी छैन ।

यी दुवै पात्र कति ठीक, कति बेठीक भन्न सजिलो छैन । हामी जे रोप्छौँ, त्यही फल्छ । खोर्सानी रोप्ने अनि पिरो भयो भनेर छाती पिट्नुको कुनै अर्थ हुँदैन । हामीलाई मन परे पनि मन नपरे पनि प्रधानमन्त्री देउवा लगातार तीनवटा चुनाव जितेर आएका हुन् । निर्वाचित हुन संविधानसभामा, त्यसपछि पार्टीको सभापतिमा पनि जितेकै हुन् । संसदीय दलको नेतामा पनि विजयी हुन् । उनमा मात्र होइन, जीतमा सबैको घमण्ड हुने नै हुन्छ । त्यसकारण उनमा देखिएको त्यो जीतको दम्भ सतहमा आएको मात्र नै हो । त्यसैले त उनले म बहुमत प्राप्त हुँ भनेर प्रश्नकर्तालाई पाठ सिकाएका छन् ।

युवा ढकाल इन्जिनियर हुन् । स्वभावैले नागरिकले आफ्नो योग्यता तथा क्षमता प्रदर्शन गर्ने अवसर नपाएको कुण्ठा अभिव्यक्त हुनुलाई नाजायज भन्ने दुस्साहस गर्न सकिदैन । ढकालले यो देशको सडक निर्माण भइनसक्दा भत्कने गरेको देखेका छन् । प्रशस्त रकम हँुदाहँुदै पनि भूकम्पपीडितको कन्तबिजोग उनका अगाडि छ । अपार जलस्रोत भएको देशले भोगेको उर्जाको पीडा र लोडसेडिङले कति सताएको होला उनलाई । फ्रान्सका दार्शनिक मिसेल फुकको विचारबाट शक्ति प्राप्त हुन्छ र त्यसलाई कार्यान्वयन गर्न भौतिक शरीरको आवश्यकता पर्दछ भनेका छन् । ढकालको विचारबाट प्राप्त शक्ति कार्यान्वयनका लागि त्यहाँ उपस्थित भएका हुन् ।

न्यूरो साइन्टिस्टहरूका अनुसार युवा अवस्थामा मस्तिष्कको देव्रे भाग बढी र दाहिने कम चल्ने गर्दछ । युवा अवस्थामा गणित, विज्ञान र तर्कशास्त्रजस्ता विषयलाई देब्रे मस्तिष्कले हेर्ने गर्छ, जसका कारण युवाहरु बढी आक्रामक, तार्किक र दूरदर्शी जस्ता देखिन्छन् भन्ने विज्ञहरुको मत रहेको हुन्छ । यो विचारलाई मनन् गर्ने हो भने ढकाल युवा हुन् र उनमा भएको ज्ञान प्रवाहित हुनु स्वाभाविक मानिन्छ । अर्कोतिर, प्रधानमन्त्री देउवा ७० काटी सकेका हुन् । उमेर पाको हँुदै गएपछि देव्रेभन्दा दाहिने मस्तिष्क बढी चल्दछ भन्ने वैज्ञानिकहरुको भनाई छ । भनिन्छ, दाहिने मस्तिष्कले भगवानको अस्तित्व, धर्मकला, साहित्यजस्ता विषयहरूमा सोच्ने गर्दछ । धर्मलाई अफिमको संज्ञा दिने क्रान्तिकारी कम्युनिस्टहरु पाको हुँदै गएपछि भगवानप्रति आस्थावान मात्र होइन, अभियान्ता नै भएका छन् । पाको उमेरमा कलासाहित्यको सर्जक भएका छन्, डाक्टर र इन्जिनियरहरु पनि ।

युवा अर्थात देव्रे मस्तिष्क चलाउनेहरु राजनीतिमा आउन सकेनन् । अर्थात राजनीतिले ती युवाहरुलाई आउने वातावरण दिएन । राजनीति फोहरी हो भन्दै देव्रे मस्तिष्क चलाउने उमेर भएका युवाहरु खाडीमा पुगे । केही आएका युवाहरु समेत तिनै दाहिने मस्तिष्क चलाउनेका शिकार भए । कर्मचारीतन्त्रमा समेत पाकाहरुको बोलवाला रह्यो । हालै निर्वाचन आयोगको मतदाता नामावली दर्ता कार्यक्रम साउन १ देखि १५ गतेसम्म जिल्लामा र १६ गतेदेखि स्थानीय तहमा नै भन्ने जुन निर्णय सुनियो त्यसले दक्षता प्रष्ट हुन्छ । पहिले स्थानीय तहमा र छुटेका जिल्लामा गर्नुपर्ने सामान्य ज्ञान समेत नभएकाले ठूलो सङ्ख्याका मतदाताहरु यसपाली पनि नाम दर्तामा नआउने प्रष्ट छ ।

भनिन्छ, अयोग्यताका कारण अनास्था पैदा हुन्छ, अनास्थाले अराजकता । नीति निर्माण तहमा बसेका व्यक्तिहरुको अयोग्यताका कारण आम मानिसमा अनास्था पैदा गरेको छ । अब स्थानीय तह बन्ने बित्तिकै सिंहदरवारको अधिकार जनताको घरदैलोमा भनेर यति चर्को स्वरमा चिच्याइयो तर परिणाम हिजो एकै दिनमा हुने काम अब कम्तीमा तीन दिन लाग्यो भने अचम्म मान्नु पर्दैन । किनकि अब काम सफ्टवेयरको माध्यमबाट गरिन्छ । त्यसलाई चालू गर्ने इन्टरनेट र विद्युतको अवस्था चुस्त छैन । समस्या बताएर पन्छिन सजिलो भएको छ । १७ औँ शताब्दीमा फ्रान्सका लुई चौधौँका समकालीन राजाहरुले जनकल्याणका कार्यहरु गरी शासनमा जनतालाई बढी मात्रामा सरिक गराउँदै गर्दा लुई चौधौँलाई भने त्यसको कुनै वास्ता थिएन । उनले शासन सुधार गरी लोकप्रिय हुनुको साटो निरकुङ्श भई ‘म नै राज्य हुँ’ भने । राजाले बोलेका कुराहरु कानुन हुन् भन्ने घमण्ड उनमा थियो । देश र जनताको भलाइका लागि उनले ध्यान नदिएका कारण उनको शासनकाल राम्रो भएन । उनको मृत्युका समयमा फ्रान्समाथि ठूलो ऋण लाग्न गएको इतिहासमा उल्लेख छ । सम्वृद्धि र उन्नतिको जति नै व्याख्या गरे पनि गरी हाम्रा नेता मर्ने बेलामा आजकोभन्दा ठुलो कङ्गालीकरण भोग्नु पर्ने अवस्था नआउला भन्न सकिदैन । भनिन्छ, इतिहास सबैभन्दा ठूलो गुरु हो तर गुरुबाट सिक्नका लागि पनि असल शिष्य नै आवश्यक हुन्छ । इतिहासबाट सिक्ने कि नसिक्ने त्यो जिम्मा सम्बन्धित व्यक्तिहरुलाई नै दिने हो ।

तर पनि सम्पूर्ण दोष भने नीति निर्माण तहमा बस्नेको मात्र भनेर आफू पन्छन मिल्दैन । अयोग्य व्यक्तिलाई त्यो तहमा पुर्याउने जुन कार्य जानेर वा नजानेर भयो त्यसको जिम्मेवारी लिनु आवश्यक छ । आखिर जे रोपेको छ, त्यही नै फल्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: