‘जोखिम भत्ता’ नपाएपछि मेचीका डाक्टर–नर्सहरु आन्दोलित

  प्रकाशित मिति
१६ भाद्र २०७७, मंगलवार २०:१८


भद्रपुर, १६ भदौ । मेची अस्पताल झापाका चिकित्सक, नर्स तथा कर्मचारीले कोेभिड–१९ को जोखिम मोलेर काम गरे पनि ‘जोखिम भत्ता’ पाएनन् । यही काण उनीहरु आन्दोलनमा उत्रिएका छन् ।

सरकारले कोभिड–१९ को उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भनेको थियो । भत्ता हालसम्म नपाएपछि उनीहरुले पहिलो चरणमा विरोधस्वरुप मंगलवारदेखि हातमा कालो पट्टी बाँधेर आन्दोलन सुरु गरेका हुन् ।

भदौ २३ गतेसम्म पहिलो चरणको आन्दोलन अन्तरगत हातमा कालो पट्टी बाँधेर काम गर्ने अस्पतालका मेडिकल अफिसर डा.लेनिस पोखरेलले बताए । उनले मेची अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले पाँच महिनादेखि भत्ता नपाएको बताए ।

डा. पोखरेलले तत्काल भत्ता उपलव्ध गराउन माग गर्दै प्रदेश सरकार, स्थानीय प्रशासन र अस्पताल विकास समितिलाई निवेदन समेत दिइएको बताए । ‘हामी आफ्नो ज्यान जोखिममा पारेर सेवामा कार्यरत छौं’, उनले भने, ‘सरकार आफैंले कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिमा खटिने चिकित्सक, स्वास्थ्यकर्मीलगायतलाई जोखिम भत्ता दिने व्यवस्था गरेको छ भन्यो तर हामीले अझै पाएनौं । बाध्य भएर आन्दोलनमा उत्रिनु पर्यो ।’

आन्दोलनकारीहरुले माग सुनुवाई नभए भदौ २४ गतेदेखि अस्पतालको ओपीडी सेवा समेत बन्द गरिने चेतावनी दिएका छन् ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुरले असारमै जोखिम भत्ताका लागि सम्पूर्ण कागजातसहित हिसाब प्रदेश नम्बर १ को सामाजिक मन्त्रालयमा पठाइसकिएको बताए ।

उनले प्रक्रिया पुर्याएर काम गर्नुपर्दा रकम निकासीमा केही ढिलो भएको हुन सक्ने बताउँदै भने, ‘सायद अब चाडै आउँछ होला । आउने वित्तिकै उहाँहरुको मागको सम्बोधन हुन्छ ।’

अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्य समितिका संयोजक सोमनाथ पोर्तेलले आफूलाई आन्दोलनबारे कुनै जानकारी नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: