‘जोखिम मोलेर’ उपचारमा खटिएका छन् स्वास्थ्यकर्मीहरु

  प्रकाशित मिति
१६ चैत्र २०७६, आईतवार ०७:३४


पोखराको एक अस्पतालमा प्यास्टिक काटेर पीपीई लगाउँदै डाक्टरहरु । (फोटो ः अनलाइन खबर )

भद्रपुर (रासस) ः भद्रपुरको ओमसाई पाथिभरा अस्पतालमा मिर्गौलाका २० जना विरामीले डाइलासिस सेवा लिइरहेका छन् । जेनरल वार्डमा थप ३० जनाको उपचार भइरहेको छ । जसमध्ये चार जना आइसीयूमा भर्ना छन् । डाक्टर र अन्य स्वास्थ्यकर्मीहरु भने प्लास्टिकको सेतो रेनकोटलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई)को रुपमा उपयोग गर्दै विरामीको उपचारमा खटिन बाध्य छन् ।

अस्पतालका निर्देशक बालकुमार पोखरेल व्यक्तिगत सुरक्षाको भरपर्दो व्यवस्थाको अभावमै डाक्टर र नर्सहरुले कोभिड १९ (कोरोना भाइरस) संक्रमणको जोखिम मोलेर विरामीको सेवा गरिरहेको बताउँछन् । सय बेडको सो अस्पतालमा १० वटा आइसियु र दुईवटा भेन्टिलेटर रहेको छ ।

‘बजारबाट सुरुमै १५ वटा सेतो रेनकोट ल्याएका थियौं, त्यसैलाई पीपीई ठानेर काम चलाइरहेका छौं,’ व्यक्तिगत सुरक्षाका सामग्रीको अभाव खट्किएको बताउँदै अस्पतालका निर्देशक पोखरेल भन्छन्–‘पीपीई र ग्लोब बजारमा पाइँदैन, सरकारले दिन सकेको छैन ।’

उनले अत्यावश्यक औषधि र सामानको अभावमा निःशुल्क डाइलासिस सेवासमेत प्रभावित हुने समस्या दर्शाएका छन् । अब सातामा दुईपटक डाइलासिस सेवा पाइरहेकालाई एकपटक मु्स्किलले दिन सकिने अवस्था उत्पन्न भएको उनले बताए ।

नेपालमा समेत कोभिड १९ (कोरोना भाइरस) सङ्क्रमण फैलिएपछि झापाका सबै अस्पतालहरुमा रोकथाम र निसङ्क्रमणका लागि सावधानी अपनाउन थालिएको हो । अस्पतालका कर्मचारीहरुले प्रवेशद्वारमै विरामीको अवस्था र समस्याका बारेमा सामान्य सोधपुछ गर्न थालेका छन् । तर, अस्पतालहरुले इमर्जेन्सी विरामी भर्ना लिने र उपचार गर्ने क्रम सतर्कतापूर्वक जारी राखेका छन् ।

अस्पतालहरुले उच्च ज्वरो आएका विरामीहरुलाई ढोकाबाटै फर्काउन थालेको गुनासो सामाजिक सञ्जालहरुमा फैलिन थालेको छ । तर अस्पतालहरु विरामी फर्काएको नभएर आफुसँग सम्बन्धित विषयविज्ञ डाक्टर नहँुदा अर्को अस्पतालमा लैजान सुझाव दिएको बताउँछन् ।

पोखराको एक अस्पतालमा प्यास्टिक काटेर पीपीई बनाउँदै डाक्टरहरु । (फोटो ः अनलाइन खबर )

विर्तामोडको मनमोहन सामुदायिक अस्पतालले गाइनो, अर्थोपेडिक, इमजेन्सी र जेनरल विरामीलाई लकडाउनका बेला निर्वाध सेवा प्रदान गरिरहेको जनाएको छ । अस्पतालका निर्देशक रोमणि भट्टराईले आईसीयुमा एक जनासमेत गरी २० जना विरामी भर्ना गरेर उपचार भइरहेको बताए ।

सय बेडको सो अस्पतालमा ७ वटा आईसीयु, २ वटा भेन्टिलेटर र ३ वटा एनआइसीयु रहेका छन् । ‘लकडाउन भएको सङ्कटको अवस्थामा उपचार सेवा रोकेका छैनौं,’ मनमोहन अस्पतालका निर्देशक भट्टराई भन्छन्–‘व्यक्तिगत सुरक्षाका सामग्री नभएका कारण स्वास्थ्यकर्मीहरु डराउँदै डराउँदै काम गरिरहनुभएको छ ।’ आफैले बनाएका ४० वटा पीपीई स्वास्थ्यकर्मीलाई प्रयोग गर्न दिइए पनि त्यस्ता सामग्री कतिको भरपर्दो हुन् भन्नेमा प्रश्न उठिरहेको उनी बताउँछन् ।

ढोका खुला राख्दा ज्वरो (तापक्रम) ननापी ह्वारह्वार्ती मानिस प्रवेश गर्ने भएको हुँदा कोभिड–१९ को त्रास फैलिएदेखि नै अस्पतालले मुख्य प्रवेशद्वारमा हात धुने र स्यानिटाइजर हातमा दलेर मात्र विरामीका आफन्तलाई भित्र जान दिने व्यवस्था मिलाएको उनले बताउनुभयो । ठूलो जोखिम मोलेर स्वास्थ्यकर्मीहरुले सङ्कटका बेला सेवा दिइरहेको उनको भनाई छ । सरकारले जाँच्ने किट र पीपीई उपलब्ध गराएमा आफ्नो अस्पताल कोरोना भाइरसको उपचार गर्न सक्षम रहेको उनले दावी गरे ।

झापाको बीएन्डसी हस्पिटलले कोरोना भाइरसको उपचारका लागि सरकारलाई अस्पतालनै दिन तयार रहेको घोषणा गरिसकेको छ । तर अस्पतालमा हाल पीपीई, ग्लोव र मास्ककै समेत अभाव छ । ‘कोभिड १९ जाँच्ने किट र व्यक्तिगत सुरक्षाका लागि पीपीई सरकारले दिए हामी कोरोना भाइरस सङ्क्रमण भएको हो कि होइन भन्ने जाँच गर्न र कोरोनाका विरामीको उपचार गर्न तयार छौं’–बीएन्डसी हस्पिटलका मेडिकल डाइरेक्टर निराजन पराजुलीले बताए ।

विर्तामोडको ८०० बेडको सुविधासम्पन्न बीएन्डसी टिचिङ अस्पतालमा विरामीबाहेकका आफन्त र सवारी चालकलाई अस्पताल प्रवेशस्थलमै निसङ्क्रमणका लागि हात धुन लगाउने वा स्यानिटाइजर प्रयोग गर्न लगाउने अनिवार्य व्यवस्था मिलाइएको छ । ‘हामीकहाँ अहिले जेनरल बेडमा एक सय पाँच जना विरामी भर्ना छन्,’ बीएन्डसी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले भने–‘आईसीयुमा १५ जना र इमर्जेन्सीमा १० जनाको उपचार भइरहेको छ । हाडजोर्नी, न्यूरो र गाइनोको शल्यक्रिया पनि चालु छ ।’

कोरोना भाइरसबाट सङ्क्रमित विरामीलाई छुँदा र उपचार गर्दा सावधानी अपनाउन सकिएन भने स्वास्थ्यकर्मीलाई नै सबैभन्दा पहिला सङ्क्रमण हुने भएकोले व्यक्तिगत सुरक्षा सामान (पीपीई)को अविलम्ब पर्याप्त व्यवस्था गरिनुपर्ने बीएन्डसी अस्पतालमा कार्यरत डा. लक्ष्मण ठाकुरले बताए ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले स्थानीय अस्पतालहरुबाट पीपीई, ग्लोब र मास्कको अभाव हुँदाहुँदै उपचार सेवा प्रदान भइरहेको बताए । उनले अस्पतालहरुलाई ढोका बन्द नगर्न, ओपीडीबाहेकका उपचार सेवाहरु नरोक्न र उपचारका लागि आउने विरामीहरुलाई नफर्काउन निर्देशन दिदै व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)को बन्दोवस्तका लागि पहल भइरहेको जानकारी दिए ।

।। अम्बिका भण्डारी ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: