जोरसिमल चेकपोष्ट हटाउने कि राख्ने विषयमा पर्सी फैसला आउने

  प्रकाशित मिति
२४ श्रावण २०७९, मंगलवार १७:०२


मेचीनगर, २४ साउन । मेचीनगर–७ स्थित जोरसिमलमा रहेको सशस्त्र प्रहरी बलको चेकपोष्ट हटाउने कि राख्ने विषयमा विहीबार अदालतबाट अन्तिम फैसला आउने भएको छ ।


जोरसिमल स्थित महेन्द्र राजमार्गमा राखेको सशस्त्रको चेक पोष्टका कारण स्थानीयवासी तथा उपभोक्ताको आवागमनमा समेत हैरानी पुगेको भन्दै सशस्त्र प्रहरी बलविरुद्ध उच्च अदालत विराटनगरको इलाम इजलासमा निवदेन परेको थियो ।

सन्दिप खनालले सशस्त्र प्रहरी बल, मेची भन्सार कार्यालय र जिल्ला प्रशासन कार्यालय झापा विरुद्व उच्च अदालत इलाममा निवेदन दिएका थिए ।

चेक पोष्टका कारण स्थानीयवासीलाई हैरानी भएको भन्दै अदालतले तत्काल चेकजाँच नगर्न अन्तरिम आदेश दिएको छ । पर्सी अर्थात विहीबारको छलफलले चेकपोष्ट हटाउने कि नहटाउने विषयमा निधो गर्नेछ ।

सोही निवेदनका आधारमा उच्च अदालत विराटनगरका न्यायाधीश प्रेम कार्कीको इजलासले जोरसिमलमा रहेको राजमार्गको चेकपोष्टमा तत्कालको लागि जाँच नगर्न अन्तरिम आदेश दिएको थियो ।

सो चेक पोष्टमा सशस्त्र प्रहरी बलको काँकरभिट्टा आउट बोर्डर पोष्ट (बीओपी) को टोलीले चेकजाँच गर्दै आएको छ । पोष्टले चेकजाँचको नाममा स्थानीयवासीलाई हैरानी र दुःखमात्रै दिने गरेको आरोप निवेदकको छ ।

सो विषयमा निवेदकका पक्षमा अधिवक्ता अशोककुमार पोखरेल र सुरज खत्रीले वहस गरिरहेका छन् ।

‘राजमार्गमा कुनै पनि स्थायी चेकपोष्ट राखेर जाँच गर्ने कानुनी व्यवस्था छैन’, अधिवक्ता पोखरेलले भने–‘२०६६ सालमा सरकारले लोकमार्गमा राखेका स्थायी ढाँटका कारण व्यवसायिक लागत बढाएर मूल्यवृद्धिको मारमा उपभोक्ता पर्ने भएकाले राजमार्गमा कुनै पनि निकायले ढाँट र अवरोध राख्न नपाइने व्यवस्था गरेको थियो । तर, सशस्त्र प्रहरी बलले उक्त निर्णयविपरीत झापाको मेचीनगर–७ जोरसिमलमा चेकपोष्ट राख्दै आएको छ । त्यो पाइदैन ।’

अदालतले सशस्त्र प्रहरी बललाई उक्त स्थानमा चेकपोष्ट राख्नुको लिखित कारण खुलाएर १५ दिनभित्र जवाफ पेस गर्नसमेत आदेश दिएको छ । त्यो बाहेक निवेदक र सशस्त्र प्रहरी बललाई २६ साउनमा छलफलको लागि अदालत बोलाएको छ ।

काँकरभिट्टा पूर्वकै मुख्य सीमा नाका हो । यहाँ दिनहुँ भारतको पानीट्याङ्की र काँकरभिट्टा नाकाबाट अवैधरुपमा भन्सार छलेर ठुलो परिमाणका सामन तस्करी हुने गरेको छ ।

प्रतिबन्धीत भारतीय रुपैयाँ, अवैध सुपारी, हातहतियार, सुन, विदेशी मुद्रा, बम बनाउने सामान लगायत वस्तुहरु नेपाल भित्राउने गरिएको छ । यस्ता गतिविधिलाई रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी सक्रिय छ ।

गत असारमा जोरसिमल चेकपोष्टले भारतीय नम्बरको गाडीमा अवैधरुपमा ठुलो परिमाणमा प्रतिबन्धीत भारतीय रुपैयाँ बरामद गरेको थियो ।

सो गाडीबाट २ हजार र ५ सय दरका प्रतिबन्धीत ५ लाख २१ हजार भारतीय नोट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । बरामद गरिएको गाडी र पैसा धुलाबारी स्थित होटल मेची क्राउनको रहेको सशस्त्र प्रहरीले बताएको छ ।

यसअघि पनि फुलको विरुवा भनेर अवैधरुपमा भन्सार छलेर नेपाल भित्राइएको ३ वटा भारतीय नम्बरको गाडीमा रक्त चन्दनका विरुवा र आलुहरु रहेको गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: