ज्यानमुद्दा मिलापत्रमा इन्स्पेक्टरको दवाव

  प्रकाशित मिति
२४ पुष २०७२, शुक्रबार ०२:२८


बेलवारी,२४ पुस । इलाका प्रहरी बेलबारी मोरङका इन्स्पेक्टर मेघराज थापाले सवारी ज्यानमुद्दा मिलापत्र गर्न पीडितहरूलाई चर्को दवाव दिइरहेका छन् ।

गत मङ्सिर २७ गते मारुती भेनको ठक्करबाट पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेलबारी–६ बेतनामा मृत्यु भएका मेचीनगर–२ का ५५ बर्षीय हरिप्रसाद खनाल र सख्त घाइते भएकी उनकी पत्नी ४५ बर्षीया सकुन्तला काफ्लेका आफन्तलाई घुमाउरो धम्की दिँदै इन्स्पेक्टर थापाले मिलापत्रमा मुद्दा टुङ्ग्याउन दवाव दिइरहेका हुन् ।

इन्स्पेक्टर थापाले दुर्घटनामा पीडित पक्षकै कमजोरी देखिएको र  मुद्दा कमजोर छ भन्दै सरकारले दिने ५ लाख इन्स्युरेन्स लिएर  चित्त बुझाउन एकतर्फी रुपमा चर्को दबाब दिइरहेका छन् । सवारी ज्यान अन्तर्गत मोरङ अदालतमा मुद्दा दर्ता गरेको भए पनि अनुसन्धान फितलो गरेको र एकतर्फी रुपमा मिलापत्र गर्न दवाव दिएको पीडितका आफन्तले गुनासो गरेका छन् ।

इन्स्पेक्टर थापाले मारुती भ्यान सञ्चालक गरिब भएकोले हदम्याद नाघे इन्स्योरेन्सको रकम पनि नपाउने भन्दै घुमाउरो धम्की पनि दिइरहेका छन् । उनले घटनाको अनुसन्धान पुरा गरी अदालतमा मिसिल बुझाउनु अगाडि नै इन्स्युरेन्सको रकम दिलाउनका लागि पीडित पक्षको सहमति बिनै एकतर्फी रुपमा जिल्ला प्रशासन मोरङलाई परिपत्र समेत गरेका छन् ।

मोरङका निमित्त सीडीओ एकदेव अधिकारीले पीडित पक्षको सहमति बिनै पीडक पक्षलाई लिएर प्रहरी आएकोले दुबै पक्षलाई राखी पीडितमैत्री भएर छलफल गराउन आफुले निर्देशन गरेको बताए । सीडीओ अधिकारीले भने–‘प्रहरी आफै एकपक्षीय भएर आउनु भनेको मुद्दा टुइस्ट गर्न खोज्नु जस्तै हो ।’

पीडितका भाइ भोगेन्द्र खनालले इन्स्पेक्टर थापाले आफुहरूसँग पीडितमैत्री व्यवहार नगरेको र चाँडो मिलापत्र गर्न दबाब दिने गरेको बताए । उनले भने–‘मुद्दाको अनुसन्धानमा सहयोग गर्न थानामा जाँदा भैटै नदिने र दिए पनि मुद्दा कमजोर छ भन्दै हेरेस गराउने गरिरहेका छन् ।’

जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी प्रमोद खरेलले इन्स्पेक्टर थापाको काम सन्तोषजनक नभएको गुनासो धेरैपटक आइसकेको र उक्त मुद्दाबारे पनि छानबिन गर्ने बताए । उनले भने–‘पीडितहरू मिलापत्र गर्ने ठाउँ अदालत हो, पहिले नै कुनै पनि मुद्दा मिलापत्र गर्ने प्रयास गर्नु गराउनु हुँदैन ।’

इन्स्पेक्टर थापाले चाँहि आफुले दुर्घटनाको अनुसन्धानमा सबै कानुनी प्रकृया पुर्याएर अदालतमा मुद्दा दर्ता गराएको जिकीर गरे । उनले पीडितलाई सम्पर्कमा आउन पटक पटक सहयोग गरेको तर नआएपछि हदम्याद ननाघोस् भनेर जिल्ला प्रशासनमा इन्स्युरेन्सको रकमका लागि परिपत्र गरेको बताए ।

इन्सपेक्टर थापाले भने–‘मैले पीडितलाई नै फाइदा पुगोस् भनेर भनेको हुँ अब उहाँहरू सम्पर्कमा नआएपछि म रित अनुसार अदालतमा मुद्दा बुझाउने छु ।’

मङ्सिर २७ गते बिहान ९ बजे पूर्वबाट पश्चिमतर्फ आइरहेको को ११ प ४७४३ नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेलबारीको बेतना क्षेत्रमा ना१ज ३०३१ नम्बरको मारुती भेनसँग आपसमा ठक्कर खाएको थियो । सोही समयमा पूर्वबाट आइरहेको मे३प ६०५ नम्बरको मोटरसाइकललाई ठक्कर खाएर अनियन्त्रित भएका भेन र मोटरसाइकलले ठक्कर दिँदा कृषि विकास बैङ्कका पूर्व अधिकृत हरिप्रसाद खनालको तत्काल  मृत्यु भएको थियो । सँगै सवार उनकी पत्नी सकुन्तला सख्त घाइते भएकी थिइन् ।
घाइते सकुन्तलाको अझै बिराटनगरस्थित न्युरो अस्पतालमा उपचार भैरहेको आफन्तले जनाएका छन् ।

भेन चालक मोरङ डाँगीहाट–५ का पवन गुरुङ र अर्का मोटरसाइकल चालक तेह्रथुम म्याङलुङ–७ का यादवमणि दाहाल थुनामा रहेको प्रहरीले बताएको छ ।
…………………………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: