ज्यूँदोमा भर्नै लिएनन्, लाश बनेपछि स्वाव सङ्कलन

  प्रकाशित मिति
१० श्रावण २०७७, शनिबार १०:०१


एम्बुलेन्समा पदम राई ।

विराटनगर, १० साउन । अस्पतालले कोरोना आशङ्कामा भर्ना नलिएपछि उदयपुर कटारी–५ का २३ वर्षीय पदम राईको एम्बुलेन्समा वरपर कुदाउँदा कुदाउँदै मृत्यु भएको छ । उनको मृत्युपछि स्वाव सङ्कलन गरिएको छ ।

विराटनगरका ठूला अस्पतालले उपचारका लागि लिन नमान्दा उदयपुरबाट ल्याइएका राईको अस्पताल डुलाउँदा डुलाउँदै शुक्रबार दिउँसो मृत्यु भएको हो ।

बिरामी अवस्थाका उनलाई श्रीमती कमला र बहिनी चमेलीले स १ च १२०५ नम्बरको एम्बुलेन्समा राखेर शुक्रबार विराटनगर ल्याएका थिए । उनलाई दिउँसो २ बजे विराटनगरको नोबेल शिक्षण अस्पतालमा पु¥याइएको थियो । तर अस्पतालले लिन मानेन ।

श्वासप्रश्वासमा समस्या रहेको जानकारी गराएपछि उपचारका लागि लैजान भनेर स्ट्रेचरमा राखिसकिएका बिरामीलाई अस्पतालले त्यत्तिकै फिर्ता पठाएको एम्बुलेन्स चालक सुवास तामाङले बताए ।

‘आकस्मिक कक्षमा भर्ना गर्ने तयारी अस्पतालले गरेको थियो,’ उनले भने, ‘तर श्वासप्रश्वासमा समस्या रहेको थाहा पाएपछि स्ट्रेचरमा राखिएको भए पनि बिरामीलाई अस्पतालले लिनै मानेन ।’ नोबेलमा भने विरामी राई एम्बुलेन्सबाट आफैँ निस्किएर स्ट्रेचरमा बसेको उनको भनाइ छ ।

चालक तामाङले बिरामीमा कोरोना सङ्क्रमण नभएको पुष्टि गर्ने आधार खोजिएको र त्यो आफूहरुसँग नहुँदा नोबेलले लिनै नमानेको बताए ।

‘कोरोनाको शङ्कास्पद मानेर त्यहाँका कर्मचारी र स्वास्थ्यकर्मीले अर्को अस्पताल लैजान सुझाव दिए,’ उनले भने, ‘त्यसपछि राईलाई दिउँसो २ः३० बजे कोशी अस्पताल पु¥याइएको थियो ।’

कोशीको आकस्मिक कक्षबाहिर एम्बुलेन्समा लगेर राखिएका उनलाई त्यहाँका चिकित्सकले पनि लिन नमानेको उनको भनाइ छ ।
कोरोनाको शङ्कास्पद भन्दै कोशीका चिकित्सकले पनि लिनै नमानेको र त्यहाँ पुगेको लगभग एक घण्टापछि बिरामीको एम्बुलेन्सभित्रै मृत्यु तामाङको भनाइ छ ।

कोशीका चिकित्सकले पनि परीक्षण नगरीकन बिरामीलाई उपचारका लागि जिम्मा लिन नसक्ने जवाफ दिएको उनको भनाइ छ । बाटोमा पनि श्वासप्रश्वासमा थप समस्या हुँदै गएकाले राईलाई अक्सिजन लगाउँदै ल्याइएको उनले बताए ।

स्वास्थ्यमा समस्या देखिएपछि पदमलाई बिहीबार कटारी अस्पतालमा भर्ना गरिएको थियो । उपचार सम्भव नहुने भन्दै कटारी अस्पतालले रेफर गरिदिएपछि विराटनगर ल्याइएको चालक तामाङले बताए ।

मृत्यु भइसकेपछि पनि पदमको शव एम्बुलेन्समै दुई घण्टासम्म राखिएको थियो । ‘अस्पतालमा सकुसल ल्याई पु¥याए पनि चिकित्सकले उपचार गराउन नमान्दा बिरामीको एम्बुलेन्समै मृत्यु भयो,’ आफन्त रोमा गोलेले भनिन्, ‘यसमा अस्पतालको गम्भीर लापरबाही छ ।’
उनले कुनै पनि बिरामीले उपचार नपाएर अकालमा ज्यान गुमाउने अवस्था आउनु दुःख भएको भन्दै लापरबाही गर्नेमाथि कारबाही हुनु पर्ने माग राखेकी छन् ।

राईको मृत्यु भएपछि उनलाई उपचारका लागि लिएर आएका श्रीमती र बहिनी पीडाले बेहोश भएका थिए । उनीहरु एम्बुलेन्सभित्रै बेहोस भए पनि लामो समयसम्म कसैले वास्ता गरेन ।

उपचारका लागि लिएर आएका श्रीमती र बहिनी पीडाले बेहोश । 

अस्पतालका कर्मचारी र चिकित्सकले एम्बुलेन्समा बिरामीको मृत्यु हुँदा तथा बिरामीका आफन्त बेहोश हुँदा पनि कुनै ‘रेस्पोन्स’ नगरेको चालक तामाङको गुनासो छ ।

लगभग ५ः३० बजेतिर पदमको शव पीपीई लगाएका स्वास्थ्यकर्मी आएर अस्पतालको आइसोलेसनमा लिएर गए । परीक्षणका लागि मृतकको स्वाब सङ्कलन गरिएको कोशीका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए ।

‘अस्पताल आइपुग्दा बिरामी एकदमै सिकिस्त र अन्तिम अवस्थामा थिए,’ उनले भने, ‘कोरोना सङ्क्रमणको आशङ्का गरेर थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गर्ने तयारी हुँदै गर्दा एम्बुलेन्समै बिरामीको मृत्यु भयो ।’

डा. दासले अस्पतालका कोरोना फोकल पर्सन वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले कोशीमा उपचार सम्भव नहुने भन्दै धरान लैजान सुझाव दिएको बताए ।

मृतकमा कोरोना सङ्क्रमण थियो थिएन भन्ने कुरा स्वाबको रिपोर्ट आइसकेपछि मात्रै भन्न सकिने उनले बताए । दासले स्वाब परीक्षणलाई भने प्राथमिकतामा राखेर काम अघि बढाइएको जानकारी दिए ।

(अन्नपूर्ण पोस्टको आधारमा)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: