भद्रपुर । नेपाल रेडक्रस सोसाइटी र जिल्ला विपद व्यवस्थापन समितिले संयुक्त रुपमा पुसको कठाङ्ग्रिदो जाडोमा ज्येष्ठ नागरिकको आश्रममै पुगेर न्यायो कपडा वितरण गरेको छ ।
रेडक्रसले आइतबार कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकामा रहेका बृद्धाश्राममा पुगेर ९० बर्षसम्मका ११२ जना ज्येष्ठ नागरिकलाई कमल वितरण गरेको हो । जिल्ला विपद व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरसहितको टोलीले उनीहरुलाई कमल वितरण गरेको थियो ।
समितिले चिसो बढेसँगै विभिन्न स्थानमा रहेका विपन्न परिवार र कारागारमा बन्दी जीवन विताइरहेका कैदीबन्दीलाई समेत व्ल्याङ्केट वितरण गरेको छ । ११६३ जना कैदीबन्दी रहेको झापा कारागारमा न्यायो कपडा किन्न नसक्ने २०५ जना कैदीबन्दीलाई केही दिन अघि मात्र न्यायो व्ल्याङ्केट, एक सय वटा म्याटेस र ५० वटा त्रिपाल वितरण गरेको रेडक्रसका अध्यक्ष लोकराज ढकालले बताए ।
उनका अनुसार समितिले अनाथ आश्रम, बृद्धाश्राम र नगरपालिका – गाउँपालिकाले सिफारिस गरेमा अति विपन्न परिवारलाई समेत घरमै पुगेर न्यायो कपडा वितरण गरिने छ । चिसोका कारण जिल्लाका बासिन्दालाई समस्या नपरोस् भनेर जिल्ला विपद व्यवस्थानसँग मिलेर रेडक्रसले आकस्मिक योजना नै बनाएर काम गरिरहेको रेडक्रस अध्यक्ष ढकालले बताए ।