मेचीनगर एमालेको घोषणा पत्र सार्वजनिक

  प्रकाशित मिति
२४ जेष्ठ २०७४, बुधबार २२:०२


मेचीनगर । नेकपा एमाले मेचीनगरले स्थानीय तहको चुनावी घोषणा पत्र जारी गर्दै सुकुम्बासीलाई घर जग्गा उपलब्ध गराउनेदेखि घरघरमा इन्टरनेट सुविधा पुर्याउनेसम्मको प्रतिबद्धता जनाएको छ ।

‘समृद्ध नगरका लागि सूर्यमा मतदान’ भन्ने आह्वानका साथ बुधवार जारी घोषणापत्रमा एमालेले नगर चुनाव जितेपछि लागू गर्ने योजना र कार्यक्रमहरुको बारेमा विस्तृत रुपमा उल्लेख गरेको छ ।

एमालेले मेचीनगरको समृद्धि कृषि र पर्यटनमा आधारित हुने र सामाजिक सुरक्षामा विशेष ध्यान दिने भएको छ ।

एमालेले राज्यद्वारा प्रदान गरिदै आएको ज्येष्ठ नागरिक भत्ता मासिक ५ हजार रुपैयाँ पुर्याउने बताएको छ । अपाङ्ग र एकल महिलाको भत्तालाई सम्मानजनक वृद्धि गरिने जनाएको छ । सामाजिक सुरक्षा भत्ता घरघरै पुर्याउने समेत एमालेको प्रतिबद्धता छ ।

घोषणापत्रमा सुकुम्वासीलाई घर जग्गा प्रदान गर्ने पपुलर योजना छ । घोषणापत्रमा भनिएको छ–‘आफ्नो निजी स्वामित्वको घर जग्गा नभएका र आर्थिक रुपमा विपन्न परिवारको पहिचान गरी मापदण्डका आधारमा आवास निर्माण गरी बसोबास गराइने छ ।’

विपन्न परिवारका महिला सुत्केरी हुँदा दुई सन्तानसम्मका लागि प्रति पटक २ हजार रुपैयाँ सुत्केरी पोषण भत्ता दिइने र स्वास्थ्य स्वयम्सेविकालाई मासिक ५ हजार रुपैयाँ भत्ता उपलब्ध गराइने घोषणापत्रमा उल्लेख छ ।

कृषकलाई प्रमाणपत्र र पेन्सन, चिया मजदुर, सीमान्तकृत, लोपोन्मुख र अल्पसङ्ख्यक समुदायलाई निःशुल्क स्वास्थ्य विमा, हरेक नगरवासी परिवारलाई ५० प्रतिशत लागत सहभागितामा स्वास्थ्य विमा कार्यक्रम लागू गरिने समेत उल्लेख छ ।

प्रत्येक वडामा दमकल, एम्बुलेन्स र शब बाहन सेवा, कालीखोलामा नौका विहार, साइन्स सीटी एवम् तारामण्डलसहितको वाल उद्यान, काँकरभिट्टामा अन्तर्राष्ट्रिय प्रवेशद्वार र गौतम बुद्धको आकर्षक प्रतिमा निर्माण, धुलावारीको पशुहाट स्थलमा नाट्यशालासहितको नगरस्तरीय सभागृह निर्माण, विषादी परीक्षण प्रयोगशाला निर्माण, हात्तीको आक्रमण रोक्न विद्युतीय तारवारभन्दा नयाँ प्रविधि लगायतका योजना घोषणापत्रमा समावेश गरिएका छन् ।

मेचीनगरको काँकरभिट्टा, इटाभट्टा, धुलावारी, धाइजन र चारआलीमा आकाशे पुल निर्माणको प्रतिबद्धता एमालेले गरेको छ ।
आम्दा मेची अस्पतालालाई सुविधा सम्पन्न बर्थिङ सेन्टर, धुलावारीको प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयाको सिटी हस्पिटल, त्रिदेव क्याम्पसलाई बहुविषयसहितको स्नातकोत्तर क्याम्पस, धुलावारी क्याम्पसमा इन्जिनियरिङ र काँकरभिट्टा क्याम्पसका प्राविधिक विषय सञ्चालन गरिने एमालेको घोषणा छ ।

काँकरभिट्टास्थित मिनी मार्केटमा अत्याधुनिक सुविधा सम्पन्न व्यावसायिक सपिङ कम्प्लेक्स निर्माण, नगरवासीको घरघरमा अप्टिकल फाइवरमार्फत इन्टरनेट सुविधाको पहुँच पुर्याउने, बाहुनडाँगी–काँकरभिट्टा–ज्यामिरगढी–धुलावारी–धाइजन–दुहागढीका न्यूनतम एक एक स्थानमा निःशुल्क वाइफाइ जोन स्थापना गर्ने, प्रत्येक नागरिकको व्यक्तिगत अभिलेख डिजिटलाज्ड गर्ने र नगरस्तरीय टेलिभिजन र रेडियो सञ्चालन गर्ने एमालेको घोषणा छ ।

नगरस्तरीय रङ्गशाला निर्माण गर्ने, प्रत्येक घर आँगनमा फूलवारी बनाउने नीति लागू गराइने, जातीय सङ्ग्रहालय निर्माण गरिने लगायतको योजना एमालेले प्रतिबद्धतामा उल्लेख गरेको छ ।

धुलावारीस्थित मेची उद्योग वाणिज्य सङ्घको हलमा एक समारोहविच घोषणापत्र सार्वजनिक गरिएको हो ।

मेयरका आकांक्षीद्वय विष्णु प्रसाई र गोपाल बुढाथोकीले घोषणपत्रको विमोचन गरेका हुन् । झापा विद्रोहका योद्धा सानो दुर्गा अधिकारी प्रमुख अतिथि रहेको कार्यक्रममा सञ्चारकर्मी र पार्टी कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा चुनाव परिचालन समितिका संयोजक रामचन्द्र उप्रेती र पत्रकार मोहन काजीले घोषणापत्रका बारेमा मन्तब्य व्यक्त गरेका थिए ।

सोही हलमा आयोजित अर्को कार्यक्रममा नयाँ शक्ति पार्टीका जिल्ला सदस्य लीला खड्कासहितका राजनीतिक कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको घोषणा गरेका थिए । एमाले प्रवेश गर्नेमा नयाँ शक्तिका क्षेत्रीय सदस्य महेश ज्ञवाली, माओबादी केन्द्रका बुद्धिजीवी टङ्क घिमिरे, वाइसीएलका पूर्व सचिव हरि खनाल लगायत ४० जना रहेको पार्टीका युवा नेता वीपी भट्टराईले जनाएका छन् ।uml 2

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: