।। अर्जुन कार्की ।।
मेचीनगर । भारतबाट भित्रिन थालेका गाडीका लस्कर र गाडीसँगै आउने चालक दलको कोरोना जाँचमा भइरहेको हेलचेक्राइले स्थानीयवासी त्रसित बनेका छन् । चालक दललाई ज्वरो नापेकै र गाडीलाई बिल्चिङ पाउडर छिटेकै भरमा पूर्वी नाकाबाट भारतीय मालबाहक गाडीहरुलाई धमाधम नेपाल पसाइन थालेको छ ।
पश्चिम बंंगाल सरकारले काँकरभिट्टातर्फ आउने मालबाहक सवारी साधनलाई श्ुक्रवारदेखि एकतर्फी रुपमा पानीट्याङ्की नाका खोलिदिएको छ । त्यसपछि भारतबाट मालबाहक सवारी साधनलाई आएका आयै छन् ।
मेची भन्सार कार्यालयका प्रमुख ध्रुबराज विश्वकर्माले शनिबार काँकरभिट्टा भन्सार परिसरमा ३१ वटा मालबाहक गाडीहरु आइपुगेको जानकारी दिए ।
भन्सार परिसरमा आइपुगेका मालबाहक गाडीहरुमा कोइला, फलफुल, चकलेट, कृषिमा प्रयोग गरिने किरा मार्ने औषधि (भिटामिन) लगायतका अत्यावश्यक सामग्री रहेको कार्यालयले जनाएको छ ।
काँकरभिट्टा आइपुगेका गाडीहरुमा सेनिटाइज गर्ने काम नेपाल इन्टरमोडलले (सुख्खा बन्दरगाह) गरेको छ । सुख्खा बन्दरगाहका कर्मचारीहरुले उक्त गाडीमा कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर बिल्चिङ पाउडर छिट्ने काम गरेको नेपाल इन्टरमोडल यातायात विकास समिति काँकरभिट्टा (सुख्खा बन्दरगाह) की प्रमुख अम्बिका सुबेदीले बताइन् । शनिवार ३१ र आइतबार ४० वटा मालबाहक गाडी नेपाल आइपुगेको सुबेदीले बताइन् ।
त्यस्तै गाडी चालक तथा सहचालकहरुको ज्वरो नाप्ने र स्किनिङ गर्ने काम मेचीनगर नगरपालिकाले गरिरहेको छ ।
मेचीनगर नगरपालिका स्वास्थ्य शाखाकी प्रमुख शशिकला राईले शनिबार आएका ३८ जना चालक र सहचालकहरुको ज्वरो नाप्ने र स्किनिङ गरिएको बताइन् । नगरपालिकाको डेस्कले थर्मल गनले ज्वरो नापेर कोरोना नभएको जानकारी दिने गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी राजेन्द्र पोखरेलले नगरपालिकाको हेल्प डेस्कबाट कोरोना भाइरस नभएको स्वास्थ्य जाँच गरिएको प्रमाणपत्र प्राप्त भएपछि मात्र मालबाहक गाडी छिर्न दिइने दावी गरेका छन् ।
भारतबाट आएका मालबाहक गाडीहरुको प्रज्ञापन पत्र भरेर, जाँचपास गरिसकेपछि मात्र क्रमिक रुपमा पश्चिम पठाइने भन्सार प्रमुख विश्वकर्माले बताए ।
कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितिका संयोजक सोमनाथ पोर्तेलले भारतीय मालबाहक गाडी तथा चालकर्को यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) र सेनिटाइजको व्यवस्था गरिने बताए ।