झाँगिदैछ पर्व छठ

  प्रकाशित मिति
२० कार्तिक २०७३, शनिबार १५:५८


chhathpujaकुनैबेला थियो छठ पर्व मूल तराईबासीले मात्र मनाउँथे । अर्को शब्दमा भन्ने हो भने तराईका जाति भनेर चिनिएका समुदायका लागि मात्र थियो छठ पर्व । पहाड मूलथलो भएका समुदायका लागि खासै महत्व राख्दैन थियो छठ पर्वले । तर, आज समय फेरिएको छ । आजको दिनमा छठ पर्व आम नेपालीहरुको तेस्रो ठूलो पर्वको रुपमा स्थापित हुँदै गएको अवस्था छ । दसैँ र तिहार पछिको मुख्य पर्व छठलाई मानिने अवस्था छ भन्दा फरक नपर्ला । सीमित घेरामा मनाउने गरिएको छठ पर्वले विस्तारै अन्य समुदायलाई समेत आफूतिर तान्दै गयो । अर्को शब्दमा भन्दा छठ पर्व झाँगिदै गएको अनुभूति हुन्छ । हाम्रो जस्तो बहुभाषिक, बहुधार्मिक र बहुसंस्कृति भएको देशमा यो सुखद् अनुभूति गराउने अवस्था पनि हो ।

छठ पर्व झाँगिएर आजको अवस्थामा आइपुग्न केही विशेष कुराले सहयोगी भूमिका खेलेको छ । पहिलो कुरा त छठको बारेमा केही भ्रमहरु हाम्रो समाजमा जरा गाढेर बसेको थियो । तर, वर्तमानमा त्यो भ्रम पूर्णरुपमा चिरिएको अवस्था छ । जस्तो कि छठ भनेको तराईमा मूलथलो भएका अथवा भारतबाट नेपाल छिरेकाले भारतीय संस्कृतिको उपजको रुपमा छठलाई मनाउने गर्दछन् भने खतरनाक भ्रम थियो । तर, छठ भनेको सम्पूर्ण हिन्दुहरुले आराधना गर्ने सूर्य भगवानलाई अर्घ दिएर मनाउने पवित्र पर्व रहेछ भन्ने पछिल्लो पुस्ताले बुझ्दै गयो । दोस्रो कुरा भनेको हाम्रो हजुरबुवाको पुस्तासम्म तराईबासी र पहाडे समुदायबिच हार्दिकता र सुमधुर सम्बन्ध बिरलै मात्र पाइन्थ्यो । किनकि त्यसबेला यातायातको असहज परिस्थितिका कारण धेरै मानिसहरुसँग कारोबार हुँदैन्थ्यो । या भनौँ कारोबार तथा संस्थागत संरचना अलि साँगुरो थियो । त्यस कारणले पनि पहाडे समुदायले छठ पर्वलाई नजिकबाट नियालेर हेर्न पाएको अवस्था थिएन र केही भ्रमले जरा गाढ्ने मौका पाएको थियो । तर, अब त्यो हराएर गयो । अन्तिम अनि वर्तमानमा अलि महत्वपूर्ण बन्दै गएको कारण चाहिँ राजनीतिक कारण हो । नेपाली समाजमा राजनीति यसरी झाँगिदै गयो कि जसका कारण अहिले सबै चाडपर्व सबैका लागि भएका छन् । किनकि राजनीति पार्टी बलियो बनाउन या चुनाव जित्न नै भनौँ सबै समुदायको साथ र समर्थन आवश्यक छ । त्यसैले छठ पर्व भनौँ या मुहरम वा ईद नै किन नहोस् समुदायकका सबै दलहरुले उत्तिकै महत्व दिन थालेका छन् । जब कुनै विषयले राजनीतिक महत्व पाउँछ त्यो झाँगिने संस्कृति पनि बन्दै गएको छ ।

यी र यस्ता विषेश अवस्थाले अहिले केही केही पर्वहरु हिजोको तुलनामा आज थप बलियो र महत्वपूर्ण बन्दै गएका छन् । जसमा छठ पर्वको स्थान सबैभन्दा अग्रभागमा आउँछ । हुन पनि छठ पर्वको विधि प्रव्रिmयालाई नियालेर हेर्ने हो भने यो पर्व जो कोहीका लागि एउटा पवित्र पर्व नै हो । पवित्रताको प्रतिकको रुपमा पनि छठ पर्वलाई हेर्न सकिन्छ । मुख्यतय दुई दिन सबैले देखिने गरी मनाइए पनि छठ पर्व मनाउनेहरुका लागि यो पर्व चार दिनसम्म चल्छ । पहिलो दिन बिहानै नजिकैको नदी, खोला वा जलाशयमा गएर विषेश गरी घरका महिलाहरुले नुवाइधुवाइ गरेर पवित्र भए ब्रत बस्ने गर्दछन् । त्यस्तै दोस्रो दिनलाई खरना भनिन्छ । जुन दिन पवित्र भएर पूजा गरे पछि बेलुका खिरको प्रसाद बनाई खाने चलन छ । तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएर रातभर ब्रत बसिन्छ भने त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर यो पर्व समाप्त हुन्छ । यो पर्वको अर्को पक्ष भनेको यसमा बनाइने विशेष प्रकारको प्रसाद पनि हो । छठमा ठेकुवा, भुसुवा जस्ता प्रसादका लागि परिकार बनाइने गरिन्छ । यसरी हेर्दा छठ पर्व वर्तमानको एउटा उल्लासमय पर्व हो । यसले नेपाली संस्कृतिमा एउटा उच्च स्थान ओगट्न सफल भइसकेको छ । त्यसैले छठ पर्व पछिल्ला वर्षहरुमा थप फराकिलो र झागिँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: