काठमाडौँ, १८ फागुन । झापाका अधिकांश ग्यास डिपो गैरकानुनी रुपमा सञ्चालनमा रहेको पाइएको छ ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा तालिम गरिरहेका शाखा अधिकृतको टोलीले गरेको स्थलगत अनुमगनका क्रममा अधिकांश ग्यास डिपो गैरकानुनी रहेको पाइएको हो ।
प्रतिष्ठानका तालिमरत शाखा अधिकृतका अनुसार झापाको बिर्तामोड, दमक, भद्रपुर, चन्द्रगढी, मेचीनगरलगायत बजारका अधिकांश डिपोमा ग्यास जोख्ने मेसिन नरहेको र सुरक्षाको विषयलाई ध्यान नदिइएको पाइएको हो ।
टोलीमा सहभागी शाखा अधिकृत गिरिराज भट्टराईका अनुसार ग्यास पसलमा आगो लाग्दा निभाउन प्रयोग हुने साधन नभएको वाणिज्य कार्यालयमा ग्यास डिपो दर्ता गर्नुपर्नेमा त्यसो नभएको, ग्यास चुहावट रोक्न सिल दुरुस्त राख्नुपर्नेजस्ता कार्यविधि अधिकांशले पालना नगरेको अध्ययनका क्रममा पाइएको हो ।
टोलीले भाँडाकुँडा बेच्ने भनी दर्ता गरेको पसलमा पनि बिनाइजाजत ग्यास बेचेको फेला पारेको हो । सिलिन्डरको म्यादबारे अधिकांश बेखबर बजार अनुगमनका क्रममा बिर्तामोड नगरपालिकामा म्याद गएका सिलिन्डरको बिक्री भएको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय झापासमेत रहेको बजार अनुगमन टोलीले दुई सातादेखि झापामा बजार अनुगमन गरिरहेको छ । रासस