झापाका कैदीबन्दीको गुहार–‘हामीलाई बाँच्न देउ’

  प्रकाशित मिति
१० आश्विन २०७७, शनिबार ०९:३१


झापा कारागारभित्रको फाइल फोटो ।

झापा, १० असोज । झापा कारागारमा सात जना कैदीबन्दीलाई एकैपटक कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि त्रास फैलिएको कैदीबन्दीहरुले बताएका छन् ।

क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको झापा कारागारमा एक सातादेखि सयौ जनामा कोभिडको जस्तै ज्वरो, रुघाखोकी र पखालालगायतका लक्षण देखा परेको उनीहरुको भनाई छ ।

गत साता काठमाडौं लैजान लागिएका एक कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । शुक्रवार सात जना थपिएपछि अब झापा कारागारमा सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । उनीहरुको उपचार भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा भइरहेको छ ।

‘‘कोभिडको जस्तै लक्षण भएका विरामीहरुको सङ्ख्या दिनहुँ बढिरहेको छ,’’ झापा कारागारका कैदीबन्दीहरुको नेतृत्व गर्दै आएका आन्तरिक प्रशासन प्रमुख मोहन धितालले भने–‘‘राज्यका तर्फबाट स्वास्थ्य सुरक्षा र उपचारका विषयमा भरपर्दो कुनै उपाय अवलम्बन नगरिदा हामीले असुरक्षित महसुस गरेका छौं ।’’

उनले हाल झापा कारागारमा ८२ महिला र १०६१ पुरुष गरी कैद भुक्तान गरिरहेका र पुर्पक्षका लागि थुनामा राखिएका जम्मा ११४३ जना कैदीबन्दी रहँदै आएको बताए । जबकि यो कारागारको क्षमता ३५० कैदीबन्दी मात्र हो ।

पालो गरेर सुत्नु पर्ने र खाँदाखाँद गरेर बस्नु पर्ने अवस्था रहेको कारागारमा सामाजिक दूरी कायम हुन असम्भव रहेको, उपचारको नाममा एक जना अहेवले जाँचेर सिटामोल मात्र दिने गरेको, साबुन पानी तथा स्यानिटाइजर उपलब्ध नभएको उनले गुनासो सुनाए ।

अर्का कैदी रमेश पोखरेलले थुनेर राखेका कैदीबन्दीको पनि बाँच्न पाउने नागरिक हक भएकाले राज्यले तत्काल कारागारमा कैदीबन्दीको चाप घटाएर स्वास्थ्य सुरक्षा र उपचारको प्रबन्ध मिलाउनुपर्ने माग गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकल अनुसार कैदीबन्दीहरुमा सामाजिक दूरी कायम हुन नसक्ने अवस्था भएकाले सर्वोच्च अदालतले गत महिना दिएको आदेश अनुसार सरकारले कारागारमा कैदीबन्दीको चाप घटाउनु पर्ने उनको धारणा छ ।

‘‘हामी पनि राज्यका नागरिक नै हौं,’’ सङ्क्रमणका बेला बाँच्न पाउने कैदीबन्दीको हकको हनन भइरहेको दावी गर्दै पोखरेलले भने– ‘‘कि मुद्धा थाँती राखेर बाहिर निस्कन देउ कि उपचारको भरपर्दो व्यवस्था मिलाउ, यसरी थुनिएरै मर्ने अवस्थाको सिर्जना नगर ।’’

झापा कारागारमा हाल कोभिडले धेरै सताउने ठानिएको श्वासप्रश्वास (दम)का १०० जना, टीबीका २० जना, किड्नीका ८ जना, मुटुका १२ जना, मानसिक विरामीका ३५ जना, एचआइभीका ४ जना, मधुमेहका ३० जना र ज्येष्ठ नागरिक ९० जना कैदीबन्दी छन् ।

कारागारमा क्षमताभन्न्दा बढी कैदीबन्दी रहेको र कोभिड–१९ को सङ्क्रमण भित्रभित्रै भुसको आगोसरी फैलिइरहेको बारेमा सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने कैदीबन्दीहरुले माग राखेका छन् ।

कैदीबन्दीमा कोरोनासँगै मौसमी ज्वरो फैलिएको जनाउँदै झापा कारागारका प्रमुख राजेन्द्र गौतमले अत्याधिक चापका कारण कैदीबन्दीमा सामाजिक दूरी कायम गर्न नसकिने बताएका छन् । उनले संक्रमितको संख्या बढ्दै गएकाले कारागारभित्रकै एउटा ब्लकलाई आइसोलेसनको रुपमा सञ्चालन गर्ने तयारी भइरहेकोे बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: