झापा । असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा झापाका दुईवटा मतदान केन्द्रमा महिला कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत सुदर्शन पाण्डेले बताए ।
उनका अनुसार भद्रपुरनगरपालिका– ६ एसपी मोडमा रहेको मेची इष्टमोड रंगशालाको दुई वटा निर्वाचन केन्द्रमा राष्ट्रिय बाणिज्य बंैक भद्रपुर शाखाकी प्रमुख शान्ता बराल र महिला तथा बालबालिका कार्यालय झापाकी अधिकृत समीक्षा निरौलाको नेतृत्वमा महिला कर्मचारी खटाइएको हो ।
मुख्य निर्वाचन अधिकृत पाण्डेले महिलाको सक्षम नेतृत्वलाई सम्मान गर्दै जिल्लामै नमूना मतदान केन्द्र बनाई शान्तिपूर्ण र धाँधलीरहित निर्वाचन गराउनका लागि महिला कर्मचारी खटाइएको बताए ।
उनले बराल र निरौलाको नेतृत्वमा ६ ÷६ जना महिला कर्मचारी खटाइएको बताए ।
पाण्डेले जिल्ला प्रहरी कार्यालयसँग सो निर्वाचन केन्द्रका लागि म्यादी प्रहरीदेखि सम्पूर्ण सुरक्षाकर्मी नै महिला खटाइदिन अनुरोध गरेको बताए ।
जिल्ला प्रहरी कार्यालयका एसपी शैलेन्द्र थापाले जिल्लामा महिला सुरक्षाकर्मी र महिला म्यादी प्रहरीको संख्या कम रहेका कारण महिला सुरक्षाकर्मी मात्रै दिन नसकिएको बताए ।
उनले भने–‘श्रीमानज्यूको माग राम्रो थियो तर महिला सुरक्षाकर्मी कम भएको र अन्य क्षेत्रमा पनि महिला पठाउनु पर्ने भएका कारण महिलाकै कमाण्डरमा मात्र सो केन्द्रमा सुरक्षाकर्मी पठाइएको छ ।’
५ लाख १० हजार ८ सय मतदाता रहेको झापाका १५ वटा स्थानीय तहमा २८३ वटा मतदान स्थल र ६३७ वटा मतदान केन्द्र रहेका छन् ।