झापाका वनभोज स्थलहरु अझै सुनसान

  प्रकाशित मिति
४ पुष २०७७, शनिबार १३:२०


झापा, ४ पुस  । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीका कारण यहाँका पर्यटकीय क्षेत्रमा बनेका वनभोज स्थलहरु सुनसान छन् ।

प्रायः मंसिर, पुस र माघ महिनामा इलाम, मोरङ, सुनसरीदेखि छिमेकी मुलुक भारतको दार्जीलिङ, सिलगुढी, पानीटेंकीलगायतका स्थानबाट सयांैको संख्यामा वनभोज खानका लागि जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरु कोडिभ–१९ का कारण नआउँदा सुनसान बनेका हुन् ।

जिल्लामा विशेषगरी सामुदायिक वनहरुले २० देखि २०० वटासम्म बनभोजस्थलहरु बनाएका छन् । सुरुमा जामुनखाडी सामुदायिक वन उपभोक्ता समितिले पर्यापर्यटनका क्षेत्रमा पर्यटकलाई आकर्षण गर्न बनाइएका विभिन्न संरचनासँगै वनभोज स्थल समेत निर्माण गरेपछि अन्य सामुदायिक बनले पनि वनभोज स्थलहरु निर्माण गरेका थिए ।

कनकाई नगरपालिकामा रहेको जामनुखाडी, शिवसतासी नगरपालिकामा रहेको दोमुखा धार्मिक तथा पर्यटकीय स्थल, मेचीनगरका बाँसबारी सिमसार क्षेत्र, कालिका, थोप्लेविरान सामुदायिक वन, भद्रपुर नगरपालिका क्षेत्रमा रहेको किच्चकबध धार्मिक तथा पर्यटकीयका स्थलहरु वनभोजका लागि प्रमुख आकर्षकका स्थानहरु हुन् ।

गतबर्षको मङ्सिरमा बनभोज स्थलहरुबाट मात्र रु. १८ लाख बढी संकलन गर्न सफल भएको जामुनखाडीमा यतिबेला सुनसान जस्तै छ । जामुनखाडी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खेम सिटौलाले सरकारले पर्यापर्यटन क्षेत्र खुलाएसँगै फाट्टफुट्ट आन्तरिक पर्यटक आउन सुरु गरेको बताए ।

दुई सय बढी बनभोज स्थल रहेको बनमा गत बर्षको पुस महिनामा एकै दिन १८६ टोलीसमेत बनभोज खानका लागि आएको उनले बताए । ‘विगतमा बनभोजकै लागि आउनेहरुको भीड नियन्त्रण गर्न र सुरक्षा प्रदान गर्न भ्याई नभ्याई हुन्थ्यो, उनले भने, ‘कोभिडका कारण यतिबेला बनभोजकै लागि भनेर कहिले कहीँ एक दुई टोली मात्र आउँछ । आन्तरिक आम्दानीमा समेत धक्का पुग्यो ।’

गत बर्ष यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक दुई लाख बढी आएको उहाँको भनाई छ । जसमा टिकट विक्रीबाट मात्रै वनले रु. एक करोड ५० लाख आम्दानी गरेको थियो । उनले कोभिड–१९ को प्रत्यक्ष असर पर्यापर्यटनमा पुगेको बताए ।

दोमुखा धार्मिक तथा पर्यटीय विकास व्यवस्थापन समितिका सचिव धनकुमार ढकालले बहुसांस्कृतिक उद्य्दयानसहितको पार्कमा अलि अलि आन्तरिक पर्यटक घुम्नका लागि आउन थाले पनि बनभोजकै लागि भनेर हालसम्म कोही पनि नआएको बताए ।

गतबर्ष बनभोज स्थलमा आएका पर्यटकबाट मात्र रु. लाख आम्दानी गर्न सफल दोमुखामा यस बर्ष भने सुनसान रहेको उनले बताए । उनका अनुसार विगतमा सो स्थानमा रु. ५०० देखि रु. तीन हजारसम्म तिरेर बनभोज खानेहरुको भीड लाग्ने गरेको थियो ।

बनभोज सँगै विभिन्न जीवजन्तुको अवलोकन गर्न सकिने मेचीनगरको बाँसबारी सामुदायिक पनि सुनसान प्राय छ । जाडो मौसममा बनभोजसँगै घुम्न मासिक १० हजार पर्यटक आउने यस सामुदायिक सिमसार क्षेत्रमा कोभिड–१९ को संक्रमण शुरु भएसँगै पर्यटक नआउँदा सुनसान झै बनेको बन समितिका अध्यक्ष तकदिर प्रसाईले बताए ।

पर्यटकीय स्थलसँगै सो क्षेत्र आसपासमा खोलिएका ठूलठूला होटल रेस्टुरेन्ट समेत सञ्चालनमा समस्या भइरहेको उनले जानकारी दिए ।

अम्बिका भण्डारी

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: