झापा । झापामा सोमबार थपिएकासहित ११३ जना संक्रमित नागरिकहरु सबै भारतबाट आएको खुलेको छ ।
झापामा सोमवार थपिएका दुई जना कोरोना संक्रमित भारतबाट नै आएको खुलेको हो ।
यसअघि आउने सबै प्रायः भारतको मुम्बई लगायतका ठाउँबाट आएका थिए ।
सोमवार स्वास्थ्य मन्त्रालयले झापा बाह्रदशी गाउँपालिकाका दुई जनामा कोरोना पोजेटिभ देखिएको जानकारी गराएको थियो ।
उनीहरुलाई गाउँपालिकाले बनाएको क्वारेनटाइनमा राखिएको छ ।
‘दुवै जना दिल्ली र मुम्बईबाट आएका थिए । गाउँमा आए लगत्तै हामीले क्वारेनटाइनमा राखेका थियौँ,’ गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले भने ।
अहिले गाउँपालिकामा १७ जना क्वारेनटाइनमा रहेका छन् । उनीहरुको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको छ ।
जसमा १२ जनाको रिजल्ट आइसकेको छ । यसअघि बाह्रदशी गाउँपालिकामा दुई जनामा संक्रमण देखिएको थियो । यससँगै गाउँपालिकामा कोरोना संक्रमितको संख्या ४ पुगेको छ ।
झापामा सबैभन्दा धेरै कचनकवल गाउँपालिकामा संक्रमित देखिएका छन् । एकसय जनामा संक्रमण देखिएको हो ।
त्यस्तै गौरीगञ्ज गाउँपालिकामा ४ जना, गौरादह नगरपालिकामा २ जना, दमक नगरपालिका, झापा नगरपालिका र भद्रपुर नगरपालिकामा १÷१ जनामा संक्रमण भेटिएको थियो ।
झापामा संक्रमण भेटिएका अधिकांश भारतबाट फर्किएका नागरिकहरु हुन् । यससँगै जिल्लामा संक्रमितको संख्या ११३ पुगेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।