झापा, २ फागुन । झापा गाउँपालिकाले मधुमेह र उच्च रक्तचापका सबै दीर्घरोगीहरुलाई घरमै पुगेर खोजी खोजी निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ ।
पालिकाले गतवर्ष नै गाउँका दीर्घरोगीहरुलाई निःशुल्क औषधि वितरण गर्ने सोचाई बनाएको थियो । तर, त्योभन्दा स्वास्थ्य बीमा प्रभावकारी हुने निष्कर्ष निकालेर यसवर्षदेखि दीर्घरोगी भएका विपन्न परिवार छानीछानी विमा गरिदिएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए ।
स्वास्थ्य स्यम्सेविका परिचालन गरेर पालिकाका ३१८ जना त्यस्ता रोगीहरुको पहिचान गरिएको छ । उनीहरुको परिवारका पाँच जनासम्मको स्वास्थ्य बीमा गरेर बीमा कार्ड समेत वितरण गरिएको अध्यक्ष साहले जानकारी दिए ।
दीर्घरोगी वडा नम्बर ४ का ७५ वर्षीय सागिर मियाले आर्थिक अभावले बिगतमा स्वास्थ्य बीमा गर्न नसकेको बताउँदै पालिकाले गरिदिएको बीमाले अब वर्षभरि औषधि ल्याएर खाने जानकारी दिए ।
परिवारमा पाँच जना सदस्य रहेका जागिर उच्च रक्तचाप, मधुमेह र छालाको दीर्घरोगी हुनुहुन्छ । अर्काको घरमा दैनिक मजदुरी गर्दै आएका उनले यसअघि महिनाको पाँचसय जति नियमित औषधि किनेर खानु परिरहेको बताए ।
सात वर्षदेखि मुटु र उच्च रक्तचापको बिरामी झापा गाउँपालिका वडा नंं ४ की ६६ वर्षीया सुन्दरवती गणेशले मासिक दुई हजार जति औषधि उपचारमा खर्च हुँदै आएकोमा अब निःशुल्क हुने भएकोमा खुशी व्यक्त गरिन् ।
पालिकाले पठाएका स्वास्थ्य सेविकाहरुले बिरामीको आर्थिक अवस्था, उपचार गराइरहेको अस्पतालको रिपोर्ट र रोगको प्रकृति हेरेर स्वास्थ्य बीमा गराउने परिवारको छनौट गरेको पालिकाको स्वास्थ्य शाखाका प्रमुख लक्ष्मण बिश्वकर्माले बताए ।
“पालिकामा दीर्घरोगीहरुको संख्या धेरै नै छ, तर हामीले श्रमिक र विपन्न वर्गका परिवारलाई स्वास्थ्य बीमाका लागि छानेका छौं,” स्वास्थ्य शाखाका प्रमुख बिश्वकर्मा भन्छन–“आर्थिक हैसियत हुनेले आफै रकम तिरेर बीमा गर्न सकिहाल्नु हुन्छ । पैसा हुनेले त उपचार गराउन खर्च गर्न सक्नु हुन्छ ।”
बिगत १६ वर्षदेखि मधुमेह र रक्तचापको औषधि नियमित सेवन गरिरहनु भएका वडा नम्बर ६ का ५८ वर्षीय मनबहादुर विश्वकर्माले आफ्नो पालिकाभित्रका रोगी र बुढापाकाहरुको पहिचान गरेर स्वास्थ्य बीमा गरिदिएकोमा स्थानीय सरकारप्रति आभार व्यक्त गर्छन् ।
“गरीवले खानका लागि विहान बेलुका अन्न जुटाउनै मुस्किल हुन्छ, ओखती गर्ने औकात पुग्दैन,” उनले खुशी हुँदै भनिन्–“हाम्रो पालिका भनेको हाम्रो सरकार हो । निःशुल्क बिमा गरेर अति राम्रो काम गर्यो ।” मुटु र सुगरप्रेसरको औषधिका लागि भद्रपुर र बिर्तामोड धाउने खर्चबाट अब जोगिएको उनले बताए ।
चालू आर्थिक बर्ष २०७८÷०७९ मा पालिकाले बजेटमै उच्च रक्तचाप र मधुमेहका दीर्घरोगीलाई निःशुल्क औषधि खरिदका लागि १० लाख बजेट बिनियोजन गरेको थियो । सोही बजेटबाट स्वास्थ्य बीमा गरिएको हो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले पालिकाका सातै वडाबाट सूचना जारी गरेर स्वास्थ्य सेविकामार्फत रोगीहरुको विवरण संकलन गरेको र सोही विवरणका आधारमा उनीहरुको बीमा गरेर बीमा कार्ड वितरण गरिएको बताए ।
“औषधि खरिद गर्न यो बजेटले बार्षिक नभ्याउने भयो”, उनले भने, “बीमा गरिदियो भने सो रकमले पनि पुग्ने र विमितहरुले एक लाखसम्मको औषधि उपचार गर्न पाउने हुँदा हामीले बीमा नै गरिदिएका हौं ।”
विमितहरुको विवरण संकलन गरेर मंसिरमै बीमा गरिदिएको हुँदा उनीहरुलाई आइतबार पालिका अध्यक्ष जयनारायण साहले कार्ड वितरण गरे । सो विमा यही फागुन महिनादेखि लागू हुने उनको भनाई छ । बीमामार्फत वार्षिक औषधि उपचारमा प्रति परिवार एक लाख खर्च गर्न सक्ने उनले जानकारी दिए ।
वडा नम्बर ६ की ८२ वर्षीया तुलसा मिश्र र ६८ वर्षीय धनबहादुर कटुवालले यसवर्षको स्वास्थ्य बीमा पालिकाले गरिदिएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर नवीकरणको व्यवस्था गरिदिन पालिकालाई आग्रह गरेका छन् ।
।। अम्बिका भण्डारी/रासस ।।