झापाको इँटा उद्योगमै छन् तीन हजार भारतीय मजदुर

  प्रकाशित मिति
३ बैशाख २०७७, बुधबार १२:२६


झापा । झापाको ईंटा उद्योगहरुमा काम गरिरहेका तीन हजार भारतीय मजदूर बन्दाबन्दीका कारण घर फर्किन पाएनन् । उनीहरु अहिले आफु कार्यरत इँटा उद्योगमै सतर्कता अपनाउँदै बसेका छन् ।

झापाका २७ वटा ईंटा उद्योग सञ्चालनमा रहेको इँटा उद्योग संघका जिल्ला अध्यक्ष गुणराज थापाले बताउनुभयो । उहाँका अनुसार भारतको विहार र पश्चिम बङ्गालबाट गत असोजमा आएका भारतीय मजदुरहरु चैत अन्तिमतिर काम सकेर घर फर्किने तयारीमा थिए । लगातारको बन्दाबन्दीले उनीहरु घर जान पाएनन् ।

काम लगाउने उद्योगले नै सुरक्षित तवरले खाने बस्ने व्यवस्था मिलाइरहेको संघका अध्यक्ष थापाले बताए । करीव १२ वटा उद्योग बन्दाबन्दीका बेला पनि चालू छन् । चिम्नीबाट धुँवा आइरहेको हुँदा ती उद्योग सञ्चालनमा रहेको सजिलै थाहा हुन्छ ।

भारतीय मजदुरहरु कतिपय परिवारसहित छन् । तिनका बालबच्चा समेत उद्योगमै छन् । उद्योगले बनाइदिएको अस्थायी आवासमा उनीहरु आफै खाना पकाएर खान्छन् । उनीहरुलाई चामल, दाल, तेल, नुन र तरकारीलगायतका सामग्री उद्योगीहरुले आवासगृहमै पुर्याइदिने गरेका छन् ।
‘उनीहरुलाई घर पठाउने परिस्थिति नभएकोले हामीले नै खाने बस्ने सहज व्यवस्था मिलाएका छौं’, संघका अध्यक्ष थापाले भने, ‘उद्योग परिसरबाट उनीहरुलाई बाहिर जान दिएका छैनौं र बाहिरका मान्छेलाई भित्र पस्न रोक लगाएका छौं ।’

बन्दाबन्दीमा उद्योगभित्रै रहेका कामदारहरुको नियमित स्वास्थ्य परीक्षण गरिएको गौरादह वडा नं. ८ का वडाध्यक्ष समेत रहेका शिवशक्ति इँटा उद्योगका सञ्चालक सीताराम भट्टराईले बताए । उद्योगमा काम नभए पनि मजदुरलाई विचल्ली नपारिने उनको भनाई छ ।
उनीहरुलाई नियमित हात धुने साबुन पानी, मास्क र सेनिटाइजरको समेत व्यवस्था गरिएको बताउँदै उनले इँटाभट्टामा काम गर्दा समेत सामाजिक दुरी कायम राख्न लगाइएको जानकारी दिए ।

‘हामीले खाने र बस्ने व्यवस्था गरे पनि उनीहरु खुशी छैनन्’, उनले भने, ‘आफू सुरक्षित रहे पनि घरमा रहेका परिवार रोइरहेको अवस्था छ भन्दै विलौना गर्छन् । कसरी सुरक्षित रुपमा उनीहरुलाई घर फर्काउने हो भन्ने बारेमा उद्योगीबीच छलफल भइरहेको छ ।’

नेपाल ईंटा उद्योग संघका केन्द्रीय सहसचिव जगन्नाथ खनालले नेपालका ईंटा उद्योगमा रहेका भारतीय मजदूरहरुलाई कुनै समस्या हुन नदिएको बताए । उनले तन, मन र धनले उनीहरुलाई सहयोग गरिरहेको बताए ।

पानी पर्न सुरु गरेसँगै ईंटा बनाउने काम रोकिएको छ । झापाका २७ ईंटा उद्योगमध्ये अधिकांश बन्द भइसकेका र कतिपयमा इँटा पोल्ने काम भइरहेको उनले बताए । ईंटा उद्योगमा काम गर्ने मजदूरका बारेमा स्थानीय सरकारले समेत चासो राखेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: