।। अर्जुन कार्की ।।
मेचीनगर । झापाका विभिन्न क्वारेन्टाइन तथा होटलहरुमा एकसय ५० भन्दाबढी भारतीयहरु आफ्नो देश फर्किने तयारीमा बसिरहेका छन् ।
मेचीनगर, भद्रपुर, बिर्तामोड र दमकका क्वारेन्टाइनमा उक्त संख्यामा भारतीयहरु आफ्नो देश फर्किने आशामा बसिरहेका हुन् ।
झापाको मेचीनगर स्थित मेची जनसाधारण मावि बौद्वमौडको क्वारेन्टाइनमा ४६ जना, भद्रपुर स्थित कलवलगुडीको क्वारेन्टाइनमा ८ जना, किच्चकवध अस्थायी प्रतिक्षालयको क्वारेन्टाइनमा १८ जना भारतीयहरु रहेको जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत युवराज कट्टेलले जानकारी दिए ।
त्यस्तै बिर्तामोड आँखा अस्पतालको क्वारेन्टाइनमा ९ जना र दमकको क्वारेन्टाइनमा १४ जना गरी जम्मा ९५ जना भारतीयहरु रहेको उनले बताए ।
‘भारतीय झापाको क्वारेन्टाइन, केहि सीमा नाकाका होटल, कतिपय आफन्त र अलपत्र अवस्थामा छन,’ कट्टेलले भने, ‘भारत फर्किनका लागि एकसय जना भन्दाबढी छन ।’
सरकारले गत चैत ११ गते घोषणा गरेको लकडाउनदेखि नै नेपाल र भारतका नागरिकहरु विभिन्न क्वारेन्टाइन, होटलमा अलपत्र अवस्थामा छन् ।
त्यस्तै नेपालीहरु पनि भारतीय क्वारेन्टाइनमा तथा अलपत्रको अवस्थामा एकसय ५० जना भन्दाबढी रहेको प्रशासकीय अधिकृत कट्टेलले बताए ।
भारत तथा नेपालका क्वारेन्टाइन र अलपत्र अवस्थामा रहेकाहरुलाई ल्याउन र लैजानका लागि पहल भइरहेको उनले बताए ।
उनका अनुसार नेपाल–भारतका क्वारेन्टाइनमा करिव ३ सय जनाको लैजाने र ल्याउने विषयमा माथ्लो निकायमा छलफल भइरहेको छ ।
माथ्लो निकायबाट निर्देशन आउने वित्तिकै लैजाने र ल्याउने व्यवस्था गरिने उनको भनाई छ ।
भारतीय क्वारेन्टाइनमा १२५ भन्दाबढी नेपाली
झापाको सीमावर्ती भारतीय क्षेत्रमा पनि उतिकै संख्यामा नेपालीहरु आफ्नो देश आउने आशमा कुरेर बसेकाछन् ।
भारतीयको पानीट्याङ्की, नक्सलवाडी, गलगलिया लगायतका क्षेत्रमा एकसय ५० जनाभन्दा बढी नेपाली रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।
‘कतिपय नेपाली भारतीय क्वारेन्टाइन, कतिपय आफन्त र कतिपय अलपत्र अवस्थामा रहेका छन,’ सभापति ढकालले भने, ‘स्वदेश आउनका लागि १२५ भन्दाबढी तयारी अवस्थामा छन, अन्य पनि थुप्रै रहेका छन् । उनीहरुलाई नेपालमा ल्याउन पहल भइरहेको छ ।’
उनीहरुलाई झापा ल्याएपछि बस्नका लागि भद्रपुर स्थित मेची बहुमुखी क्याम्पसमा क्वारेन्टाइन निर्माण सुरु गरिएको सभापति ढकालले बताए ।
‘मेची क्याम्पसको साइन्स ब्लकको भवनमा करिब दुईसय श्ययाको क्वारेन्टाइन बनाउन लागिएको छ’,– ‘सभापति ढकालले भने– ‘नेपाली सेनाले आइतबार एकसय वेडको क्वारेन्टाइनको तयारी गर्दै छ । २÷३ दिन भित्र वेडहरु तयार हुनेछ ।’
नेपाल–भारतको सहमति भए उनीहरुलाई क्वारेटाइनमा राखेर कोरोना परीक्षण गरेपछि मात्र घर पठाउने व्यवस्था गरिने उनले बताए ।
प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, नेपाली सेनाका कर्नेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरीका प्रमुखहरुले शनिबार उक्त स्थानको निरीक्षण गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी रानाले माथिबाट आदेश नआएसम्म उनीहरुका विषयमा केहि भन्न नसक्ने जानकारी दिए ।