बिर्तामोड । मगमग झापा गोल्डकपको चौथो संस्करणमा मगमग झापा ११ ले पोखराको सहारा क्लबलाई दुईका बिरुद्ध शुन्य गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । झापाले क्वाटरफाइनलमा हङकङ नेप्लीज एकाडेमी क्लबसँग प्रतिष्पर्धा गर्नेछ ।
झापाको जितका लागि सब्सिच्युट खेलाडी सञ्जोग राई नायक बने । खेलको ३५ औँ मिनेटमा कप्तान कर्ण लिम्बूलाई विस्थापन गर्दै मैदान प्रवेश गरेका राईले एक गोलमा पास गरेका थिए भने अर्काे गोल आफैले गरेका थिए ।
खेलको ३६ मिनेटमा मैदान प्रवेश गरेका राईले खेलको ४० मिनेटमा झापाका लागि बिदेशी खेलाडी काजिम बुखारीलाई पास मिलाएका थिए । डी एरियाभित्र पाएको पासलाई अनमार्क रहेका बुखारीले पोस्टको दिसा दिएका थिए ।
खेलको ४५ औँ मिनेटमा योगेश गुरुङको पासलाई विपक्षी पोस्टको बायाँ बार च्याप्दै गरेको गोलले जाली चुमेको थियो । खेलको ६१ औँ मिनेटमा काजिम बुखारीले वान भर्सेस वानका अवसरलाई पनि सदुपयोग गर्न सकेनन् । उनको प्रहार फ्रेमभित्र पर्न सकेन । ६३ औँ मिनेटमा सञ्जोग राईको कडा प्रहार विपक्ष गोलकिपरले रोकेका थिए ।
खेल अवधिभर झापालाई दबावमा राख्न सफल भए पनि पोखराले झापा बिरुद्ध कुनै आक्रमण गर्न सकेन । तीन विदेशी खेलाडी सहित मैदानमा उत्रिएका दुबै टीमका एक एकजना खेलाडीले पहेँलो कार्ड पाएका थिए । खेलको म्यान अफ द म्याच मगमग झापा ११ का सञ्जोग राई घोषित भए । उनले १५ हजार रुपैयाँ पुरस्कार पाएका थिए ।
दर्शकमध्येका शिवसतासीका भक्तिप्रसाद भण्डारीले लक्की ड्रबाट २० इन्चको हिमस्टार टिभी पाएका थिए । बिर्तामोडको हिम इलेक्ट्रोनिक्सले सबै खेलमा लक्की ड्र गरेर एकजना भाग्यशाली दर्शकलाई एलइडी टिभी प्रदान गर्ने जनाएको छ । आइतबारको खेल सशस्त्र प्रहरीको एपीएफ क्लब र मोरङ ११ बीच हुने आयोजक समितिका संयोजक महेन्द्र गिरीले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले नेपाली फुटबलको बिकासा झापाले गरेको योगदान अतुलनीय रहेको बताएका थिए । कार्कीले झापाको फुटबलमा सहयोग गर्न प्रदेशले कुनै कसर बाँकी नराख्ने बताए ।
फागुन २७ गते सम्पन्न हुने गोल्डकपमा विभागीय तीन सहित काठमाडौँका ५, मोफसलका ४ र एक विदेशी टीमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
खेलपछि पोस्ट म्याच कन्फ्रेन्समा कुरा गर्दै झापाका प्रशिक्षक प्रवेश कटवालले पोखराको सेट टीमलाई हराउनु चुनौतिपूर्ण भए पनि सफलता मिलेको बताए । उनले उपाधि उचाल्नका लागि विदेशी खेलाडी समेत ल्याएकोले दर्शकलाई निरास नपार्ने समेत बताए । यसअघि भएका तीनवटा गोल्डकपमा झापा फाइनलमा पराजित हुँदै आएको थियो ।
पोखराका प्रशिक्षक कविन ब्याञ्जनकारले टीमकोे आक्रमण फितलो हुँदा पाएको अवसर सदुपयोग गर्न नसकेको बताएका छन् । मोफसलको सफल टीमलाई उसकै होम ग्राउण्डमा चुनौति दिनु मुस्किल परेको बताए ।