झापाको १५ स्थानमा ‘म्यादी’ तालिम

  प्रकाशित मिति
४ बैशाख २०७४, सोमबार १५:५९


17918266_1504095912942398_345865339_n

झापा । राजनीतिक वृत्तमा चुनाव सर्ने हल्लाले घरिघरि बजारमा अन्योल थपिरहे पनि सुरक्षा निकाय भने बैशाख ३१ गते चुनाव हुनेमा ढुक्क छ । शान्ति सुरक्षाको मुख्य जिम्मेवारी पाएको नेपाल प्रहरीले तोकिएकै मितिमा स्थानीय तहको चुनाव सम्पन्न गराउन कम्मर कसेर तयारी गरिरहेको छ ।

झापाकै कुरा गर्ने हो भने म्यादी प्रहरीको तालिमले पनि चुनावको तयारीको एउटा पाटोलाई सङ्केत गर्दछ । नेपाल प्रहरीका अञ्चल, जिल्ला र इलाका गरी १५ वटा कार्यालयमा २ हजार १ सय १४ युवाले म्यादी प्रहरीको तालिम लिइरहेका छन् । जसमध्ये ३ सय ९९ महिला छन् । उनीहरु निर्वाचनकै लागि म्यादी प्रहरीको रुपमा खटिने भएका छन् ।

पाँच दिनदेखि जारी तालिम अरु केही दिन चल्ने र १२ दिनका लागि उनीहरुको ‘वर्किङ डे’ तोकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता हरि शर्माले जानकारी दिए ।

झापामा ८ हजार ५ सय ८६ जनाले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिएका थिए । जसमध्ये एक हजार १ सय ९ जना महिला आवेदक थिए ।

आवेदकमा ६ जना स्नातक र २ सय भन्दा बढी प्लस टु पास थिए । हाल छनौट भएका २ जना स्नातक र ६० जना प्लस टु पास युवा समेत म्यादी प्रहरीको तालिममा सहभागी छन् । तालिम लिने प्लस टु पासहरुमा १४ जना महिला छन् ।
म्यादी प्रहरीलाई तालिम दिने र परिचालन गर्ने जिम्मा नेपाल प्रहरीले पाएको छ । प्रहरीका जिल्ला प्रवक्ता शर्माका अनुसार उनीहरुलाई चुनावमा बेला आइपर्ने सामान्य सुरक्षा चुनौतीको समाधान गर्न सक्ने गरी सुरक्षासँग सम्बन्धित आधारभूत फौजी तालिम दिइने गरिएको छ ।

म्यादी प्रहरीले निर्वाचनको भित्री कोर एरिया (पहिलो घेरा)मा नेपाल प्रहरी सँगसँगै बसेर काम गर्नु पर्ने छ । उनीहरुसँग हतियारको रुपमा लौरो हुने छ । तर तालिमका बेला बन्दुक लगायतका अन्य हतियारबारेमा सामान्य जानकारी गराइने भएको छ ।
मतदान केन्द्रको सुरक्षा र मतदातालाई पङ्तिबद्ध गराउने काममा म्यादी प्रहरीलाई विशेष परिचालन गराइने भएको छ ।
मयादीको तालिम उनीहरुको घरपायक पर्ने गरी भइरहेको छ । ‘जसको जहाँ घर पर्छ, उतैको इलाका प्रहरी कार्यालयमा उनीहरुको तालिम भइरहेको छ’–प्रवक्ता शर्मा बताउँछन् ।

विहान ५ बजेदेखि बेलुका ४ बजेसम्म तालिम दिइने गरिएको छ । तालिम गर्दागर्दै ४० जनाले छाडेका छन् । उनीहरुको ठाउँमा बैकल्पिक तर्फका ४० जनालाई आइतवार नियुक्ति गरेर तालिममा सहभागी गराइएको छ ।

म्यादी प्रहरीले नेपाल प्रहरीको जवानले पाउने सरहको तलव र अन्य सम्पूर्ण सुविधा राज्यले उपलब्ध गराउने भएको छ । यसपटक विगतको भन्दा बढी म्यादी प्रहरी नियुक्ति गरिएका छन् र त्यसमा महिला र आदिवासीको सहभागिता उल्लेख्य छ ।
तालिमपछि म्यादी प्रहरीले आकर्षक तलव मात्र होइन अनुभवको प्रमाणपत्र समेत पाउने भएका छन् । त्यो प्रमाणपत्र भविष्यमा सुरक्षा निकायमा जागिर खान जाँदा र वैदेशिक रोजगारीमा जाँदा काम लाग्ने तालिमरत युवाहरुको अपेक्षा छ ।

अधिकांश मतदान केन्द्र ‘सम्बेदनशील’ !
भद्रपुर । सुरक्षाको दृष्टिले झापाको अधिकांश प्रस्तावित मतदान केन्द्रलाई सरकारी सुरक्षा निकायले ‘सम्वेदनशील’ मानेको छ ।

प्रहरीका अनुसार मतदान केन्द्रहरुलाई सामान्य, सम्बेदनशील र अति सम्बेदनशील भनी तिन भागमा वर्गीकरण गरिएको छ ।
झापामा कूल ६ सय ५५ मतदान केन्द्र प्रस्तावित गरिएका छन् । जसमध्ये १ सय २७ केन्द्रलाई अति सम्बेदनशील र ५ सय १ केन्द्रलाई सम्बेदनशील भनिएको छ । २७ वटा मतदान केन्द्रलाई मात्र सामान्य मानिएको छ ।

प्रहरी नायव उपरीक्षक हरि शर्माले सीमा क्षेत्र र विगतमा अवाञ्छित गतिविधि भएका आधारमा झापाको मतदान केन्द्रहरु सुरक्षाका दृष्टिले वर्गीकरण गर्दा बढी सम्बेदनशील देखिएको हो ।

‘बोर्डर एरिया भएकाले अधिकांश मतदान केन्द्र सम्बेदनशील देखिए पनि अन्य तराइका जिल्लाको तुलनामा झापा जिल्लाको अवस्था हालसम्म सामान्य छ’–शर्मा भन्छन् ।

सम्बेदनशीलताको आधारमा चुनावमा सुरक्षाकर्मीको परिचालन हुने बताइएको छ । चुनाव वहिष्कारको घोषणा गरेका राजनीतिक तथा अन्य शक्तिको प्रभावलाई पनि सम्बेदनशीलता मापनको आधार बनाइएको बुझिएको छ ।

हालसम्म चुनाव वहिष्कारको घोषणा लिम्बुवान पार्टीहरु, माओबादीको विप्लव समूह र पृथकताबादी अभियान चलाएका सीके राउतले गरेका छन् । उनीहरुको प्रभाव झापामा खासै नभएको सुरक्षा निकायको आँकलन देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: