बुधवारे,९ बैशाख । । झापाका चार जना चर्चित व्यक्ति विभिन्न मुलुकको राजदूत सिफारिस भएका छन् ।
बुधवारेका डा. नारद भारद्वाज, महारानीझोडाका युवराज कार्की, महारानीझोडाकी डा. शिवमाया तुम्वाहाम्फे र शनिश्चरेका डा. दुवसु क्षेत्री बुधवार बसेको मन्त्रीपरिषदको बैठकले राजदूत सिफारिस गरेको हो ।
बुधबारेका डा.नारद भारद्वाज श्रीलङ्काका लागि नेपाली राजदुतमा सिफारिस भएका हुन् ।
वि.सं.२०१२ सालमा जन्मिएका भारद्वाज युवा अवस्थामा नै राजनीतिमा सक्रिय रहेका थिए । २०३० सालमा झापा आन्दोलनलाई नेतृत्व तहदेखि नै हाँकेका उनले १४ बर्ष जेल जीवन विताएका थिए ।
झापा आन्दोलनमा पक्राउ परेकामध्ये सबैभन्दा कान्छा १८ वर्षका उनलाई
२०३० सालमा तत्कालिन सरकारले पक्राउ गरेको थियो । एसएलसी सकेका उनलाई नख्खु जेलमा राखिएको थियो । तत्कालिन सरकारबाट १० वर्ष जेल बस्नुपर्ने सजाय पाएका उनले नख्खु जेल तोडेर भागेका थिए ।
तर पुनः उनलाई पक्राउ गरेर थप ४ बर्ष जेल सजाय बढाइएको थियो । उनले नख्खुबाटै नै एमए सकेर सन् २०१४ मा ‘नेपालमा जातीयताको पुनर्उत्थान’ विषयमा पीएचडी गरेका छन् ।
उनी त्रिभुवन विश्व विद्यालयमा प्राध्यापक पनि हुन् । उनले त्यहाँ २२ वर्षदेखि अध्यापन गराइरहेका छन् । महारानीझोडाका युवराज कार्की दक्षिण कोरियाका लागि नेपाली राजदूत सिफारिस भएका छन् ।
पञ्चायती शासनको विरुद्ध लाग्दा करीव १४ वर्ष नै राजबन्दीको रुपमा जेल बसेका बामपन्थी नेता कार्की नेकपा एमालेका तर्फबाट यस अघि सामान्य प्रशासन मन्त्री भइसकेका छन् ।
यसैगरी शनिश्चरेका डा. दुर्गाबहादुर (दुबसु) क्षेत्री बेलायतका लागि र महारानीझोडाकी डा. शिवमाया तुम्वाहाम्फे इजरायलका लागि नेपाली राजदूत सिफारिस भएका छन् ।
डा. दुर्गाबहादुर क्षेत्री साहित्यकार हुन् भने डा. तुम्वाहाम्फे अखिलकी पूर्व नेतृ हुन् । क्षेत्री बाहेक सबैले नेकपा एमालेको कोटाबाट सिफारिस पाएका छन् भने क्षेत्री कुटनीतिक क्षेत्रमा विगतदेखि कार्यरत थिए ।
〈तस्वीर क्रमशः दुवसु, युवराज, शिवमाया र नारद ।〉