झापा, १३ भदौ । चीनको अलग प्रशासनिक क्षेत्र हङकङको महावाणिज्य दूतमा सिफारिस भएका झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको सरुवा भएको छ ।
क्याबिनेट बैठकले प्रजिअ रानालाई हाल परराष्ट्र मन्त्रालयमा सरुवा गरेको छ । तर परराष्ट्र मन्त्रालयले अर्को क्याबिनेट निर्णय गराएपछि मात्र उनी हङकङका लागि दूत नियुक्त हुनेछन् ।
गत वर्ष असोजमा झापा आएका उनी उच्च प्रशासनिक नेतृत्व भएका युवा प्रशासक हुन् । उनले झापामा आउनासाथ प्रशासनिक सुधारका नयाँ कार्यक्रम प्रारम्भ गरेका थिए ।
जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको सुविधा र छिटो छरितो सेवाका लागि उनले नै टोकन प्रणाली लागू गरे । यो प्रणालीका कारण सोर्सफोर्सका आधारमा पहुँचवालाको काम मात्र छिटो हुने पुरानो परिपाटीको अन्त्य भएको थियो ।
प्रशासन कार्यालयमै सार्वजनिक पुस्तकालय सञ्चालन गरेका उनले राजस्वको बैङ्किङ भुक्तानी प्रणाली लागू गरेका थिए भने कर्मचारीहरु आफै लागेर कार्यालय वरपर सरसफाई गर्ने चलन चलाएका थिए ।
प्रजिअ राना झापा आएपछि कार्यालयका गतिविधि समेटिएको प्रशासन बुलेटिन नियमित प्रकाशित हुँदै आएको छ । उनले नै कार्यालयमा आउने सेवाग्राहीका लागि चिसो र तातो पिउने पानीको व्यवस्था, कालो चियाको व्यवस्था, नागरिकता अभिलेख प्रणालीमा सुधार, टेलिभिजनसहितको विश्राम कक्षको व्यवस्था, फ्रि वाईफाई सुविधा, कार्यालयको डीएओ झापा नामक मोवाइल एपको प्रचलन, सेवाग्राही सन्तुष्टि सर्वेक्षण प्रणाली जडान, नियमित बजार अनुगमन, हेल्प डेस्कको सञ्चालन जस्ता अनेकौं प्रशासनिक सुधारका कार्य गरेका थिए ।
राजनीतिक दल, सामाजिक संघ संस्था, मिडिया, सुरक्षा निकाय, स्थानीय तहलगायत सबैतिर उनको समन्वयकारी भूमिका प्रशंसनीय थियो ।
जाँदा जाँदै झापा गाउँपालिकाको कामाटोलीमा गोली लागी मृत्यु भएको घटनाको सम्बादबाट समाधान निकालेर उनले समाजमा शान्ति तथा सद्भाव निर्माणमा समेत आफ्नो दक्षता प्रस्तुत गरेका थिए ।
अब झापामा काभ्रेका प्रजिअ आउने बुझिएको छ ।
(फोटो ः उमाकान्त खनाल)