झापामा आइसीयुसहितको सर्पदंश उपचार

  प्रकाशित मिति
१५ जेष्ठ २०७४, सोमबार ०९:१०


kanki 1कनकाई । झापाको कनकाईस्थित कोटीहोममा अत्याधुनिक सुविधायुक्त सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ ।
यस अघि चारआलीस्थित नेपाली सेनाले आफ्नै परिसरभित्र सञ्चालन गरेको एउटा र दमकमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको अर्को सर्पदंश उपचार केन्द्र मात्र जिल्लामा थियो ।

सहारा नेपाल (साकोस) र नेपाल रेडक्रस सोसाइटी झापा शाखाको संयुक्त पहलमा कनकाई–४ कोटीहोमस्थित समर्पण भवनमा नयाँ उपचार केन्द्र स्थापना भएको हो । त्यसको नाम ‘कनकाई सहारा सर्पदंश उपचार केन्द्र’ राखिएको छ ।

आइतवार एक समारोहविच झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले ‘कनकाई सहारा सर्पदंश उपचार केन्द्र’को सेवा शुभारम्भ गरेका छन् ।

kan 1केन्द्रको उद्घाटन चाहिँ समर्पण भवनको उद्घाटनसँगै निकट भविष्यमा गरिने सहारा नेपालका कार्यकारी निदेशक महेन्द्र गिरीले बताएका छन् ।

‘सर्पदंश उपचार केन्द्रको निर्माण भइसकेको हुँदा यसको सेवा सुरु हुँदै गरोस् भन्ने ठानेर सेवाको शुभारम्भ अहिले गरेका हौँ’, समर्पण भवन निर्माणको अभियन्ता एवम् परिकल्पनाकार गिरीले लोकतन्त्र पोस्टसँग भने–‘सम्माननीय राष्ट्रपतिलाई निम्त्याएर समस्त झापालीको सहयोगको प्रतीकको रुपमा रहेको समर्पण भवनसँगै सर्पदंश उपचार केन्द्रको समेत एकैचोटी उद्घाटन गराउने तयारी भइरहेको छ ।’

करीव २ करोडको लागतमा चार वटा फराकिलो व्लक रहेको समर्पण भवनको दक्षिणी व्लकमा सर्पदंश उपचार केन्द्र स्थापना गरिएको छ । केन्द्रमा एकैपटकमा ६ जनासम्म विरामीलाई बेडमै राखेर उपचार गर्न सकिने व्यवस्था छ ।

kan 2झापाको चारआलीमा जनसहयोगमा भवन निर्माण गरेर सञ्चालनमा ल्याइएको सर्पदंश उपचार केन्द्रको प्राविधिक व्यवस्थापन नेपाली सेनाले नै हेर्दै आएको छ । पूर्वी झापा, मेची अञ्चलका पहाडी जिल्ला र छिमेकी मुलुक भारतबाट समेत आउने सर्पदंशका विरामीको उपचार त्यहाँ हुँदै आएको छ ।

यसैगरी, दमकमा नेपाल रेडक्रस सोसाइटीको स्थानीय शाखाले नै सर्पदंश उपचार केन्द्रको सम्पूर्ण जिम्मेवारी वहन गर्दै आएको छ ।
चारआली र दमकको माझमा पर्ने कनकाईमा सञ्चालन हुन थालेको उपचार केन्द्र अरु दुई वटा केन्द्रको तुलनामा बढी सुविधायुक्त रहेको छ । यहाँ अन्यत्र नभएको सघन उपचार कक्ष (आइसीयु) समेतको व्यवस्था हुने भएको छ ।

कनकाईको उपचार केन्द्रमा ५ जना कर्मचारी चौबीसै घण्टा ड्युटीमा बस्ने छन् । एन्टी स्नेक भेनम नामक उपचारमा लाग्ने औषधि भने जिल्ला जनस्वास्थ्य कार्यालय झापामा मार्फत नेपाल सरकारले उपलब्ध गराउने कनकाई सहारा सर्पदंश उपचार केन्द्रका कार्यवाहक अध्यक्ष लीला चिमरियाले बताए ।

kankaiचिमरियाकै सभापतित्वमा शुभारम्भ कार्यक्रम भएको थियो । प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री, स्थानीय विकास अधिकारी खेमराज ओझा, आम्दा हस्पिटलका मेसु डा. नवीन ढकाल, अग्रज महिला चित्रकला ओली र रोटरी क्लव अफ विर्तामोड मिड टाउनका अध्यक्ष सन्तोष अग्रवालले सो अवसरमा शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

नेरेसो झापाका अध्यक्ष लोकराज ढकालले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा सहारा साकोसका कार्यकारी निर्देशक महेन्द्र गिरीले स्वागत भाषण गरेका थिए । चारआलीस्थित नेपाली सेनाको कालीध्वज गणका प्रमुख सेनानी सरोज अधिकारी, विर्तामोडका डीएसपी केशव थेबे, एक्सेल बैङ्क विर्तामोडका निर्देशक पङ्कज घिमिरे लगायतको उपस्थिति रहेको उक्त अवसरमा परिवर्तन थिएटर काँकरभिट्टाका कलाकारहरुले चेतनामूलक कचहरी नाटक मञ्चन गरेका थिए ।

सो सर्पदंश उपचार केन्द्रमा नेरेसो झापा, सहारा साकोस, कनकाई नगरपालिका, लायन्स क्लव अफ कनकाई, कनकाई धार्मिक विकास संस्था, कनकाई घाट व्यवस्थापन समिति र कनकाई उद्योग वाणिज्य सङ्घको प्रत्यक्ष लगानी रहेको छ भने जिल्ला जनस्वास्थ्य कार्यालय झापा, आम्दा हस्पिटल दमक, शिवसताक्षी नगरपालिका र नेरेसो दमकको सर्पदंश उपचार केन्द्र सहयोगी निकायको रुपमा रहेका छन् ।

झापामा बार्षिक २ हजारको हाराहारीमा सर्पदंशका विरामी उपचारका लागि चारआली र दमक पुग्ने गरेका छन् । अब कनकाईमा पनि केन्द्र खुलेपछि उपचार सेवाको भार बाँडिने भएको छ ।

झापामा गोमन, करेत लगायतका विषालु सर्पको विगविगी हुने गरेको छ । बैशाखदेखि असोज महिनासम्म सर्पदंशका विरामी धेरै हुने गरेको छ ।

आइसीयु समेत सञ्चालन गर्नु पर्ने भएकाले केन्द्रको सञ्चालन खर्च धान्न सहारा नेपालले वर्षेनी १५ लाख अनुदान उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । कनकाई, शिवसताक्षी नगरपालिका लगायतले बर्षेनी ५÷५ लाख रुपैयाँ यसलाई अनुदान दिने भएका छन् ।

कनकाई घाटमा आधुनिक शबदाह गृह र काजकिरिया भवन बनाउने उद्देश्यका साथ सहारा नेपालको आह्वानमा झापाली जनताले सहयोग दिएर समर्पण भवन बनाएका हुन् । यही भवनमा सर्पदंश उपचार केन्द्र सञ्चालन गरिएको हो ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: