झापा, १६ कार्तिक । कोरोना भाइरसको संक्रमणबाट आइतबार बिहान झापामा थप तीन जनाको मृत्यु भएको छ ।
यसरी मृत्यु हुनेमा दमक र गौरादह नगरपालिका तथा कमल गाउँपालिका एक–एकजना पुरुष छन् ।
दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार दमक–७ का अन्दाजी ५० वर्षीय पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा आज बिहान उपचारका क्रममा मृत्यु भएको हो ।
शनिबार मात्रै उपचारका लागि नोबेल पुर्याइएका ती व्यक्तिको कोरोना परीक्षणको रिपोर्ट शनिबार नै संक्रमण पुष्टि आएको थियो । योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।
कमल गाउँपालिका–५ मङ्गलबारेका ७२ वर्षीय एक वृद्धको पनि घरमै आज बिहान मृत्यु भएको छ । मिर्गौलाका बिरामी ती वृद्धको विराटनगरस्थित विराट मेडिकल कलेज हस्पिटलमा संक्रमण पुष्टि भएको थियो ।
केही दिनयता उनी होम आइसोलेसनमा बसेका थिए । योसँगै कमलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।
त्यस्तै, गौरादह–४ मिलन चोकका ७४ वर्षीय बृद्वाको पनि गए राति घरैमा मृत्यु भएको छ ।
कार्तिक १३ गते संक्रमण पुष्टि भएका उनी घरैमा उपचाररत थिए । योसँगै गौरादहमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको गौरादह नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले बताए ।
शनिबार पनि झापामा तीन जनाको मृत्यु भएको थियो । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।