मेचीनगर, २७ कार्तिक । झापामा आज थपिएका ४४ जना संक्रमित मध्ये २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका ९ वटा पालिकामा २० महिला र २४ जना पुरुषसहित ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोमा २ जनाको मृत्यु भएको हो ।
दकम नगरपालिकामा ११ महिलासहित १७ जना, बिर्तामोड नगरपालिकामा २ जना महिला, गौरादह नगरपालिकामा २ महिलासहित ११ जना, मेचीनगर नगरपालिकामा १ जना महिला, भद्रपुर नगरपालिकामा १ महिलासहित ३ जना, हल्दीबारी गाउँपालिकामा १ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।
यसैगरी अर्जुनधारा नगरपालिकामा १ जना महिला, कचनकवल गाउँपालिकामा १ जना पुरुष, कमल गाउँपालिकामा २ महिलासहित ४ जनालाई संक्रमण भएको उनले बताए । संक्रमित सबै जना स्थानीय हुन् ।
मृत्यु हुनेमा २ जना महिला छन् । दमक–५ की ४५ वर्षीया महिला र गौरादह–२ की ४९ वर्षीया महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।
झापामा हालसम्म ३१ हजार ६४२ जनाको स्वाबको नमुना संकलन गरिएको छ । त्यसमध्ये २ हजार ८५३ जना संक्रमित छन् । जिल्लामा हालसम्म ७२ जनाको मृत्यु भइसकेको छ ।
हालसम्म निको भएर घर फर्किएका १ हजार ७४८ छन् भने सकृय संक्रमित १ हजार ३३ जना रहेको कार्यालयले जनाएको छ ।