मेचीनगर, ३ मंसिर । झापामा आज ३० जना संक्रमित थपिएका छन् । केहिदिन अघि संक्रमित भएकामध्ये ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका ८ वटा पालिकामा ९ महिला र २१ जना पुरुषसहित ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
दमक नगरपालिकामा ३ महिलासहित ५ जना, बिर्तामोड नगरपालिकामा २ महिलासहित ८ जना, गौरादह नगरपालिकामा १ महिलासहित २ जना, भद्रपुर नगरपालिकामा १ महिलासहित ९ जना, अर्जुनधारा नगरपालिकामा २ जना महिला संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।
यसैगरी, शिवसताक्षी नगरपालिकामा १ जना पुरुष, कमल गाउँपालिकामा २ जना पुरुष र झापा गाउँपालिकामा १ जना पुरुषलाई कोरोना संक्रमण भएको उनले बताए । संक्रमित सबै जना स्थानीय हुन् ।
त्यस्तै आज मृत्यु हुनेमा ४ जना पुरुष छन् । कमल–३ का २८ वर्षीय पुरुषको विराट मडिकल कलेज, दमक– का ८२ वर्षीय पुरुषको होम आइसोलेसनमा, बुद्वशान्ति–३ का ६८ वर्षीय पुरुष र अर्जुनधारा–९ का ७३ वर्षीय पुरुषको बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा कोरोना भाइरसका कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।
झापामा हालसम्म ३१ हजार ९९९ जनाको स्वाबको नमुना संकलन गरिएको छ । त्यसमध्ये ३ हजार ९४ जना संक्रमित छन् । जिल्लामा हालसम्म ८८ जनाको मृत्यु भइसकेको छ ।
हालसम्म निको भएर घर फर्किएका १ हजार ९२० छन् भने सकृय संक्रमित १ हजार ८६ जना रहेको चौलागाईले जानकारी दिए ।