झापामा उच्च सुरक्षा सतर्कता

  प्रकाशित मिति
२० आश्विन २०७३, बिहीबार १३:२८


20161004_103340

काँकरभिट्टा । चाडपर्वका बेला हुने सम्भावित दुर्घटना नियन्त्रण गर्ने उद्देश्यले झापाका सुरक्षा निकायले सक्रियता बढाएका छन् । झापामा शान्तिपूर्ण ढङ्गबाट चाडवाड मनाउनका लागि सबै किसिमका सुरक्षा संयन्त्रलाई परिचालन गरिएको हो ।

पूर्व र दक्षिणतर्फको सीमा भारतसँग जोडिएको हुनाले झापालाई सम्वेदनशील जिल्लाकै रुपमा लिइन्छ । झापा प्रहरी प्रमुख एसपी शैलेष थापाका अनुसार जिल्लामा भित्रिने र बाहिरिने सवारीसाधनमाथि निगरानी, सीमावर्ती क्षेत्रमा सुरक्षा टोली परिचालन, सहरी क्षेत्रमा गस्तीलगायतका कार्य सुरु गरिएको हो । ‘चाडपर्वमा ३ किसिमको अपराध भएको पाइन्छ, पहिलो बैङ्क, वित्तीय संस्था र व्यावसायिक प्रतिष्ठानमा नगद कारोबार बढी हुने भएकाले लुटपाट तथा चोरीका घटना, दोस्रो पैसा कमाउने ध्येयले तस्करी हुने देखिन्छ र तेस्रो चाहिँ मादक पदार्थ सेवन गरेर आवेशजन्य अपराध हुने सम्भावना भएकाले त्यही अनुसार सुरक्षा संयन्त्र तैनाथ गरिएको छ’ – प्रहरी प्रमुख थापाले भने ।

झापा प्रहरीले दशैतिहारलाई लक्षित गरी सुरक्षा टोली थप्नेदेखि सम्भावित स्थानको पहिचान गरी निगरानी गर्ने तथा जनशक्ति थप गरी सुरक्षा व्यवस्था सुदृढ गर्नेसम्मका कार्य थालेको छ । सहरीदेखि ग्रामीण क्षेत्रसम्म नै सुरक्षा सतर्कता उच्च पारिएको एसपी थापाले बताए । ‘फरार अभियुक्तहरु दशै मनाउन घर आउने भएकाले यो उनीहरुलाई पक्राउ गर्ने अवसर पनि हो’, उनी भन्छन् – ‘त्यसैले कोही शङ्कास्पद व्यक्ति वा अभियुक्तहरुका बारेमा जानकारी पाए तत्काल सुरक्षा निकायमा जानकारी दिनु हुन अनुरोध पनि छ ।’

सीमा नाका काँकरभिट्टा पनि प्रहरीले विशेष निगरानी र चेकजाँच गरिरहेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी दुर्गाराज रेग्मीका अनुसार बैङ्क तथा वित्तीय संस्थाहरुमा निगरानी तथा गस्ती गर्न थालिएको छ । ‘बैङ्क, वित्तीय संस्थामा विशेष निगरानी, राति १२ बजेपछि पनि गस्ती गर्ने तथा यात्रुको सुबिधाका लागि नेपाल प्रहरी, ट्राफिक प्रहरी यातायात कार्यालय र यातायात व्यवसायीको समन्वयमा सहायता कक्ष स्थापना गरिएको छ’, डिएसपी रेग्मीले भने – ‘बजार क्षेत्रमा इन्स्पेक्टरकै नेतृत्वमा र अन्य क्षेत्रमा बाक्लो गस्ती थालिएको छ ।’

नेपाल प्रहरीलाई सशस्त्र प्रहरी बलले पनि सहयोग गरिरहेको छ । काँकरभिट्टास्थित सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्मका प्रमुख डिएसपी बासुदेव लोहनीले भन्सार छली तस्करी नियन्त्रणसँगै दशैतिहारमा हुनसक्ने आपराधिक घटना नियन्त्रण गर्न आवश्यक काम कारबाही थालिएको बताएका छन् । ‘मोबाइल र पैदल गस्ती बढाइएको छ, लागू पदार्थ, पटाखा आदि नियन्त्रण भन्सार छली नियन्त्रण आदि कामलाई तीब्र पारिएको छ’, लोहनी भन्छन् – ‘७५ जना दरवन्दी रहेपनि १ सय २० जना जनशक्ति रहेकाले हामीलाई शान्तिसुरक्षामा नेपाल प्रहरीलाई सहयोग गर्न सजिलो छ ।’

इलाका प्रहरी कार्यालय बिर्तामोडले दशैतिहारलाई लक्षित गरी सचेतनामूलक पर्चापम्प्लेट वितरण गर्ने भएको छ । बिर्तामोड प्रहरी प्रमुख डिएसपी खड्गबहादुर खत्रीले समुदायसँग हातेमालो गरेर अघि बढ्ने बताए । उनले भने – ‘सामाजिक विकृतिविसङ्गति नियन्त्रण गर्न समुदायमै सचेतता प्रदान गर्ने हाम्रो लक्ष्य हो ।’ चाडपर्वमा सुरक्षाकर्मीले चनाखो हुनु पर्ने भएकाले जनशक्ति थपेर गस्ती बढाइएको उनले बताए । ‘समुदायसँग हातेमालो गरेर हिड्दा अपराध नियन्त्रणमा सहयोग पुग्छ’, खत्रीले भने – ‘त्यसैले समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रम तय गरिएको हो, यात्रु ठगिने, चोरीडकैती आदि अपराध नियन्त्रणमा प्रहरी सक्रियताका साथ लागेको छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: