झापामा एसइइ दिनेमा छात्रा धेरै

  प्रकाशित मिति
५ चैत्र २०७५, मंगलवार १०:१३


भद्रपुर । शिक्षा विकास तथा समन्वय इकाई कार्यालय झापाले चैत १० गतेदेखि हुने माध्यमिक तहको परीक्षा (एसइइ) मा जिल्लाबाट १५ हजार ६ सय ८९ जना परीक्षार्थी सहभागी हुने जानकारी दिएको छ ।

जसमा छात्राको सङ्ख्या धेरै रहेको छ । परीक्षार्थीमध्ये ७ हजार ९३८ जना छात्रा र ७ हजार ३३६ छात्र छन् ।

कार्यालयका उपसचिव रामप्रसाद ढुङ्गानाका अनुसार नियमिततर्फ १५ हजार ३०१ जना र ग्रेड बृद्धितर्फ ३८८ जना परीक्षार्थी छन् । यसपटक कारागारबाट ३ जना कैदीबन्दीले एसइइ परीक्षा दिने भएका छन् । झापाका १५ वटा स्थानीय तहमा ५३ वटा परीक्षा केन्द्र रहेका छन् । जसमध्ये विर्तामोडस्थित महेन्द्र रत्न माध्यमिक विद्यालयमा भने ग्रेड बृद्धिको परीक्षा सञ्चालन गरिने छ ।

प्रश्न पत्र जिल्ला प्रहरी कार्यालय झापामा राखिएको र उत्तरपुस्तिका भने सम्बद्ध केन्द्रमा पुगिसकेको कार्यालयका उपसचिव ढुङ्गानाले बताए । उनले परीक्षा केन्द्रका केन्द्राध्यक्ष तोक्न भने बाँकी रहेको बताए । उनले भने, ‘तयारी लगभग पूरा भइसक्यो, भोलिसम्ममा केन्द्राध्यक्ष टुङ्ग्याउँछौं ।’

तेइस विद्यार्थी परीक्षा दिनबाट बञ्चित

झापाको सात स्थानीय तहका २३ जना विद्यार्थी राजस्व नबुझाएका कारण परीक्षा दिनबाट बञ्चित हुने भएको जिल्ला शिक्षा समन्वय इकाई समितिको तथ्याङ्का देखिएको छ ।

राजस्व नबुझाउनेहरुमा पशुपति मावि बाह्रदशी गाउँपालिकाका ७ जना, मेचीनगर नगरपालिकास्थित काँकडभिट्टा माविका ३ जना, मेची जनसाधारण माविको १ जना, भानु माविको १ जना, जनता मावि १ जना, शिवसताक्षी नगरपालिकास्थित भानु माविका ३ जना, भवगती माविका १ जना, दमक नगरपालिकास्थित पशुपति संस्कृति मावि दमकको १ जना, बुद्धशान्ति गाउँपालिकाको गणेश माविका २ जना र अर्जुनधारा नगरपालिकास्थित लक्ष्मी माविका २ जना रहेका छन् ।

बाह्रदशी गाउँपालिकास्थित पशुपति माविका प्रधानाध्यापक विद्या सागर चौधरीले विवाह भएर गएका र कोही बैदेशिक रोजगारीका लागि तेस्रोमुलुक गएका कारण परीक्षा दिन नआउने भएको जिकिर गरे ।

काँकडभिट्टा माविका प्रधानाध्यापक तुलसी निरौलाले पनि तीनै जना विद्यार्थी विवाह भएर गएका कारण परीक्षामा सामेल नहुने बताए ।
उनले पटकपटक फोन गरेर फर्म भर्न बोलाउँदा परीक्षा नदिने भनेर विद्यार्थीबाट जवाफ पाएको बताउनु भयो ।

त्यसैगरी, ६ जना विद्यार्थी विद्यालयमा अनुपस्थित रहेर, २ जनाको मृत्यु भएर र एक जना विरामी परेर परीक्षा दिन नसक्ने उपसचिव ढुङ्गानाले बताए । शान्ति सुरक्षालाई सुव्यवस्थित पार्नका लागि प्रति परीक्षा केन्द्र ७ देखि ८ जनाको दरले प्रहरी खटाइने स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: