झापामा चाडपर्व लक्षित सुरक्षा योजना लागू

  प्रकाशित मिति
१४ आश्विन २०७५, आईतवार १७:३५


भद्रपुर । नजिकै आइरहेको वडादशैं, दिपावली तथा छठलगायतका पर्वहरुमा सुरक्षा व्यवस्था बलियो बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय झापाले सुरक्षा योजना लागू गरेको छ ।
भयरहित वातावरणमा आम नागरिकले चाडपर्वलाई मनाउन पाउन् भन्ने लक्ष्यका साथ सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकालले सुरक्षा योजना अन्तर्र्गत सवारी दुर्घटनामा न्यूनीकरण गर्ने, धार्मिक मेला लाग्ने मठमन्दिर र देवालयमा सम्भावित घटनाहरु रोकथाम गर्ने, महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा गर्ने, मादक पदार्थ र जुवातास नियन्त्रण गर्ने बताए ।

झापामा रहेका प्रहरीका ७९ वटा प्रहरी कार्यालयमा सुरक्षा योजना लागू भइसकेको उनले जानकारी दिए ।

उनले प्रहरीले गाडी र मोटरसाइकलमार्फत २४ घण्टा गस्ती गर्ने, बैङ्क तथा वित्तीय संस्था, पसल, प्रतिष्ठान, कार्यालयका गार्डलाई सुरक्षा तालिम प्रदान गर्ने र बसपार्कहरुमा यात्रु सहायता कक्ष सञ्चालन कार्य भइरहेको बताए ।

चोरी र लुटपाटका सम्भावित घटना रोक्न सवारी साधनमा पनि सादा पोशाकमा परिचालन गरिएका बताए । झापा जिल्लाका सबै प्रहरी कार्यालयमा सोमाबारदेखि अपराधपीडितलाई सहयोग पुर्याउन ‘पीडितको साथी’ कार्यक्रम समेत सुरु गरिने उनले बताए ।

कुनै पनि घटना वा अपराधबाट पीडित व्यक्तिले प्रहरीमा उजुरी दिएपश्चात ‘पीडितको साथी’ कार्यक्रम अन्तर्गत घरै बसेर आफ्नो उजुरीको सुनुवाई के कसरी भइरहेको छ भन्ने जानकारी फोनमार्फत पाउने व्यवस्था मिलाइएको छ ।

‘पीडितको साथी’ उल्लेख भएको भोटो लगाएर प्रहरी कार्यालय परिसरमा प्रहरीहरु चौवीसै घण्टा उपस्थित रहने र उनीहरुले पीडितलाई सहायता पुर्याउने सुरक्षा योजनामा उल्लेख छ ।
जिप्रकाका उपरीक्षक ढकालका अनुसार यो कार्यक्रम पीडित मैत्री हुनेछ ।

‘फौजदारी न्याय प्रशासनको प्रमुख उद्देश्य पीडितलाई न्याय दिनु हो’, उनले भने–‘सुरुमा प्रहरी कार्यालयमा निवेदन दिएदेखिको प्रक्रियाबाटै पीडितमैत्री कार्य भएमा उनीहरुलाई राहत मिल्ने, न्याय मिल्ने र प्रहरीप्रतिको जनविश्वास पनि सकारात्मक बन्दै जाने हुँदा यो कार्यक्रम सुरु गरिएको हो ।’

झापा जिल्लाको प्रहरीलाई नमूना प्रहरी बनाउने उद्देश्यले सुरु गरिएको यस अभियानमा कुनै घटना वा अपराधमा पीडितको निवेदन परेपछि त्यस अनुसारको अनुसन्धान सुरु भएको, पीडक पक्राउ परेको, पीडित पक्षको प्रमाण जुटाएको, साक्षीहरु बोलाएको, पीडकको बयान लिएको, अनुसन्धान दह्रो बनाएर अदालतसम्म पुर्याएको, अदालतले तारेख, धरौटीमा छाडेको वा थुनामा राखेको आदि विषयमा प्रहरीले सम्बन्धित पीडितलाई टेलिफोनबाट जानकारी दिने भएको छ ।

झापामा सुरु गरिएको यस कार्यक्रमले विशेष गरी गम्भीर प्रकृतिका घटना, जबरजस्ती करणी, कर्तव्य ज्यान, अपहरण, चोरी डाकालगायत र सामान्य ठाडो निवेदनवाला पीडितलाई ठूलो राहत मिल्ने उपरीक्षक ढकालको विश्वास छ ।…

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: